टहरामै पढाइ

पढाइ आचार्य तहसम्म भए पनि अनुमति ५ कक्षासम्म मात्रै
अर्जुन राजवंशी

दमक — अर्जुनधारा नगरपालिका १ साधुटारस्थित शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालाका विद्यार्थी भत्किएको टहरामा पठनपाठन गरिरहेका छन् । खरले छाएको टहराको चारैतिरका टाटी भत्किएका छन् । 

चिसो भुइँमा कम्बल ओछ्याएर र कम्बल नै ओढेर विद्यार्थीले संस्कृत शिक्षा लिइरहेका छन् । २०३३ सालमा स्थापना भएको पाठशाला आर्थिक अभावमा भौतिक पूर्वाधारविहीन छ ।

टहराभित्रको कक्षाकोठामा एउटा पनि डेस्क, बेन्च छैन । टाटी भत्किएकाले बाहिरका क्रियाकलापले पनि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पुर्‍याउँछ । व्यासाचार्य लक्ष्मी खतिवडाले स्रोत अभावमा पाठशालाको न्यूनतम् विकास गर्न नसकिएको बताए । उनका अनुसार पाठशालामा अहिले १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपालका विभिन्न जिल्लाबाट, भारतको असम तथा भुटानबाट समेत विद्यार्थी पढ्नलाई आएका छन् । आचार्यसम्म पठनपाठन भए पनि सरकारले भने कक्षा ५ सम्म मात्रै अनुमति दिएको छ ।

कक्षा ५ भन्दा माथिको अनुमति नपाउँदा पाठशालाको विकासमा थप असर परेको खतिवडाले बताए । उनले भने, ‘हामीले यस्तै टहरामा राखी दु:ख गरेर विद्यार्थीलाई आचार्यसम्म पढाउने गरेका छौं । तर, अनुमति नभएकाले परीक्षा दिन भने धरान, काठमाडौं र भारतको बनारससम्म लानुपर्छ ।’

चिसो भुइँ र भत्किएको टहरामा भए पनि पठनपाठन राम्रो भएकाले आफू भुटानबाट पढ्न आएको डिल्लीराम मिश्रले बताए । उनी १० दिनअघि मात्रै भुटानको चिराङ जिल्लाबाट यहाँ आएका हुन् । उनले भुटानमा कक्षा ८ सम्मको पढाइ सकेका छन् । भारत असमका १४ वर्षीय उमेश चापागाईं हुन् अथवा कैलालीको सदरमुकाम धनगढीका भुवन पोखरेल यहाँको पढाइ राम्रो भएकैले आएको बताउँछन् ।

संस्थापक अध्यक्ष केदारनाथ खतिवडाले आर्थिक तथा भौतिक पूर्वाधार अभावबाट गुज्रिँदै भए पनि पाठशालालाई आजको अवस्थासम्म ल्याइपुर्‍याएकामा खुसी व्यक्त गर्छन् । उनले अहिलेको युगमा संस्कृत शिक्षाको विकासमा पाठशालाले ठूलो टेवा पुर्‍याएको दाबी गरे । व्यासाचार्य खतिवडाका अनुसार पाठशालामा अध्ययनरत विद्यार्थीबाट कुनै शुल्क लिइँदैन । उनीहरूमध्ये पनि अधिकांश अनाथ बालबालिका रहेको उनले बताए । पाठशालामा विद्यार्थीबाहेक ५ जना शिक्षक, कर्मचारी र सहयोगी गरी १० जना छन् । पाठशाला सञ्चालन गर्न मासिक ३ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए ।

पाठशालामा बर्सेनि विद्यार्थीको चाप बढै गएको प्राचार्य छन्दुराम भण्डारीले बताए । उनका अनुसार २ सय ५० जना विद्यार्थी भर्ना लिनुपर्ने माग रहे पनि भौतिक पूर्वाधार अभावमा १ सय ३५ जना विद्यार्थीको मात्रै भर्ना लिन सकिएको हो । उनका अनुसार पाठशालामा वेद, व्याकरण, साहित्य, ज्योतिष, न्याय, वेदान्त र तर्कशास्त्रको पढाइ हुन्छ । ‘ज्योतिषशास्त्रको पढाइ कम्प्युटरबाट गर्नुपर्ने भए पनि आर्थिक अभावमा कम्प्युटर कक्षा सुरु गर्न सकेका छैनौं,’ भण्डारीले भने ।

विद्यालयले विभिन्न समयमा गरी दाताबाट २ बिघा १५ कट्ठा जमिन प्राप्त गरेको छ । व्यासाचार्य खतिवडाले संस्कृत पढ्ने विद्यार्थीको संख्या बर्सेनि बढै गएकाले पाठशालालाई स्तरोन्नति गरी महाविद्यालय बनाउने प्रयासमा जुटेको बताए । उनले पाठशालालाई आगामी ५ वर्षभित्र महाविद्यालयका रूपमा रूपान्तरण गर्नर्ेतर्फ आफूहरू लागेको बताए ।

प्रकाशित : माघ २, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?