१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्राचीन सहरको झल्को दिने गरी उत्खनन

मनोज पौडेल

तिलौराकोट (कपिलवस्तु) — विदेशी पुरातत्त्वविद्सहित नेपाली विज्ञको टोलीले बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) मा उत्खनन सुरु गरेको छ । बेलायतको डुह्राम युनिर्भसिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न टोलीले उत्खनन थालेको हो । तिलौराकोट प्रवेश गर्नासाथै प्राचीन सहर झल्को दिने गरी उत्खनन थालिएको छ ।

प्राचीन सहरको झल्को दिने गरी उत्खनन

उत्खनन तिलौराकोटका ३ ठाउँमा गरिँदैछ । ३ वर्षअघि जियोफिजिक्स (भू–भौतिक सर्भे) सर्भे गर्दा मध्य क्षेत्रमा पाइएको १/१ मिटर लम्बाइ–चौडाइको प्रशासनिक भवन संरचनाका २ ठाउँमा काम थालिएको छ । उक्त संरचनाको पूर्वीद्वार क्षेत्रमा ३०/३० मिटर क्षेत्रमा १०/१० को ९ वटा ट्रेन्च बनाई काम सुरु गरिएको छ । त्यस्तै उक्त संरचनाको दक्षिणीद्वार क्षेत्रमा २०/२० मिटरको क्षेत्रमा १०/१० का ४ वटा ट्रेन्च बनाई काम अघि बढाइएको छ । प्रशासनीय संचनाको उत्तरी र पश्चिमी द्वार दुई वर्षअघि नै पत्ता लागिसकेको छ ।

त्यस्तै अर्को समयमाई मन्दिरदेखि उत्तर पश्चिममा १५ मिटर लम्बाइ र ६ मिटर चौडाइको ट्रेन्च बनाई उत्खनन थालिएको छ । पुरातत्त्वविद् डा. क्रिस्टोफर डेभिसले भने, ‘राम्रो नतिजा आउनेमा विश्वस्त छु ।’

तिलौराकोट उत्खनन अन्वेषण परियोजना सञ्चालन गर्न यस वर्ष लुम्बिनीस्थित कासाई होटलका अध्यक्ष नोबुओ कासाई टोक्सिनले सहयोग गरेका छन् । उनले २ करोड जापानी मुद्रा सहयोग गरेका छन् । पुरातत्त्व विभागका प्रमुख रामबहादुर कुँवरले भने, ‘यो वर्ष कासाईको सहयोगले काम थालिएको हो । जापान सरकारको जापानीय फन्ड इन ट्रस्टको सम्झौता प्रक्रियामा हुँदा समस्यामा थियौं’, उनले भने, ‘राम्रो कामका लागि सहयोग पाइहालियो ।’

सन् २०१३ देखि यहाँ उत्खनन, अन्वेषण भइरहेको छ । पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछि युनेस्कोको समन्वयमा जापानी फन्ड इन ट्रस्टको सहयोगमा उत्खनन भइरहेको छ । अत्याधुनिक उपकरण प्रयोग गरेर पुरातात्त्विक सम्पदा सुरक्षित रहने गरी उत्खनन भइरहेको छ । उत्खननले तिलौराकोटको प्राचीन काल क्रम पत्ता लाग्दै गएको छ, डुह्राम विश्वविद्यालय बेलायतका सहउपकुलपति, प्रोफेसर तथा प्रमुख पुरातत्त्वविद् डा. रविन कनिङघमले भने, ‘भित्र प्रवेश गर्नासाथै प्राचीन सहरको व्यवस्थित र ऐतिहासिक रूपरंग देख्न सकिने बनाउँदै छौं ।’ युनेस्को कन्सल्ट्यान्ट तथा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यका अनुसार

उत्खननले तिलौराकोटको ऐतिहासिकता पुष्टि गरेको छ ।

प्रकाशित : माघ २, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?