जमे हिमताल

आश गुरुङ

लमजुङ — चिसो अत्यधिक बढेपछि मनाङका हिमताल जमेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको स्थानीयको भनाइ छ । 

जमे हिमताल

मनाङको तापक्रम दिउँसो पनि माइनसमा छ । साँझ–बिहान त माइनस १० देखि माइनस १२ डिग्री सेल्सियससम्म पुग्छ । चिसो नघटदा जनजीवन प्रभावित बनेको छ । खानेपानी र ठाडो खोलासमेत जमेका छन् । फाट्टफुट्ट पुगेका पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिन पाउँदा रमाएका छन् । तालमा मिसिने स–साना हिमनदीसमेत जमेका छन् । माथिल्लो मनाङ गाउँको होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले गंगापूर्ण ताल हिउँदमा बर्सेनि जम्ने गरेको बताए । उक्त ताल समुद्र सतहबाट ३ हजार ५ सय ४० मिटर उचाइमा छ । दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार यहाँका ताल सफा भएका बेला नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् । ‘यही कारणले त यहाँको सौन्दर्य हेर्न पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘चिसो समयमा समेत पर्यटक अलिअलि आइरहेका हुन्छन् ।’ स्थानीयका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने केंचो ताल, धारापानीको नाचैमा पर्ने डोना अर्थात् ठूलागी र थोंचेमा पर्ने पोंकरलगायतका ताल पनि यतिबेला जमेका छन् । यी ताल विश्व

चर्चित छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार मनाङका ताल हेर्न बर्सेनि हजारौं पर्यटक आउँछन् । हिमताल भएकाले पनि बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बन्ने गरेका हुन् । चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेको तिरुवाले बताए । उनका अनुसार मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्राय: जमिरहेका हुन्छन् । फागुनसम्म हिउँ परिरहने भएकाले तापक्रम बढदै गए पनि जमिसकेको पानी पग्लिन गाह्रो हुन्छ । फागुन अन्तिम सातादेखि भने पग्लिन थाल्छ । प्रजिअ हरिप्रसाद पन्तका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ । मनाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद पोल्देनछोपाङ गुरुङका अनुसार जिल्लाका ४ वटै स्थानीय तहका कुनै न कुनै ठाउँमा ताल छन् । ‘ती तालसम्म पुग्न अझै सहज बाटो छैन । प्रचारप्रसार अभावमा धेरैलाई जानकारी नहुँदा पर्यटक पुग्न सकेका छैनन्,’ उनले भने ।

प्रकाशित : माघ २, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?