कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एउटै कोठामा ७ कार्यालय

अछाम — मंगलसैन नगरपालिका कार्यालयअघि एउटा एकतले भवन छ । जनप्रतिनिधि आउनुअघि सम्म अस्तव्यस्त यो भवनमा पुराना सामान राख्ने गरिन्थ्यो । स्थानीय तह चुनावलगत्तै यो भवन सरसफाइ गरी मंगलसैन नगरपालिकाका ३, ४, ५, ६, र ७ को वडा कार्यालय, नगरपालिकाकै युवा सूचना केन्द्र र जिल्ला युवा सञ्जाल गरी ७ कार्यालय सञ्चालनमा छन् ।

एउटै कोठामा ७ कार्यालय

वटै वडाका सेवाग्राही आउँदा कता जाने के गर्ने, कोसँग काम गर्ने भन्नेबारे अन्योलमा पर्छन् । सबैभन्दा साँघुरो एउटा कुनामा वडा सचिवको काम हुन्छ । ५ वडाका ५ वडाध्यक्ष, ५ वडासचिव, सूचना केन्द्रमा सूचना लिन आउने उत्तिकै र सेवाग्राहीको भीडले काममा असहज भएको वडा ५ का वडाध्यक्ष हरिप्रसाद ढुंगानाले बताए ।

भवनलगायत पूर्वाधार अभावले ५ वटै वडाबाट सेवाग्राही आउँदा भीड हुने, चुस्त सेवा दिन गाह्रो हुने गरेको वडाध्यक्षहरू बताउँछन् । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार जोस, जाँगरले काम गर्न कठिनाइ भएको वडा ७ का अध्यक्ष सिद्धराज ढुंगाना बताउँछन् । ‘कार्यालयमा उभिने ठाउँ नै हुँदैन,’ उनले भने, ‘मैले वडा सचिव त पाएको छैन, कार्यालय अझ परको कुरा ।’ ५ वटै वडाध्यक्ष एउटै कोठामा बसेर काम गर्दा एकले अर्कालाई अल्झाउने, अलमलिने गरेको उनले सुनाए ।

कार्यालयमा बसेर धेरैजसो सिफारिस मात्र गर्नु पर्ने काम परेको वडा ५ का अध्यक्ष ढुंगानाको भनाइ छ । ‘समस्या मात्रै छ । काम गर्न निकै असजिलो भयो,’ उनले भने, ‘जसले जहाँ सजिलो हुन्छ उतैबाट सेवा दिइरहेका छौं । सजिलोका लागि मैले बजारमा रहेको आफ्नै मेडिकलमा सेवाग्राहीलाई बोलाउँछु ।’ ३७ प्रकारका सिफारिसमा सही गर्नेबाहेक अरू काम नपाएको उनको गुनासो छ ।

मंगलसैन नगरपालिकाको कार्यालय भवन निर्माणाधीन छ । निर्माण सम्पन्नपछि त्यहाँ कुन वडाको कार्यालय सार्ने भन्नेमा अन्योल छ । फागुनभित्र नयाँ भवन बन्ने र त्यसपछि मात्र वडा कार्यालय व्यवस्थापन हुने नगरपालिका प्रमुख पदम बोहराले बताए ।

प्रकाशित : माघ २, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?