ऋण काढेर पहिरोमुनि घर

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका फुल्पिङकट्टी झिर्पु हिन्दीकी जालमाया शेर्पाले सरकारले दिएको पहिलो किस्ता ५० हजारमा ऋण थपेर घर निर्माण गरिरहेकी छन् । झ्यालसम्मको संरचना बनाइसके पनि घरमाथिको डाँडा भास्सिएर पहिरो झरिरहेको छ । ‘अन्यत्र जग्गा छैन, दैव भरोसामा यहीं घर बनाउन थालें,’ उनले भनिन्, ‘पहिरोको डरले निद्रा लाग्दैन तर अन्त कहाँ जानु ?’ 

गाउँ नै पहिरोमुनि छ । आफूले पनि त्यहीं घर बनाएकाले दोस्रो किस्ता नपाउने पिरले छिमेकीहरूबाट समयमै ऋण लिएर घर बनाएको उनले सुनाइन् । उनीजस्तै मार्मिङगाउँ चन्द्रखुंकी सुनमाया तामाङले पनि सहकारीबाट ऋण लिएर घर बनाउन थालेको दुई साता पुग्यो । मार्मिङको गाउँमाथि डाँडा भास्सिएर पहिरो झरिरहेको छ । तल उनी धमाधम घर निर्माण गरिरहेकी छन् । ‘गाउँ छाडेर जाने ठाउँ छैन, जसोतसो घर बनाउन थालियो । जे पर्ला टर्ला,’ उनले भास्सिँदै आएको पहिरो देखाउँदै भनिन्, ‘तर, बर्खा लागेपछि सबै पहिरो झर्न थाल्छ, टहरा थर्किएपछि हंसले ठाउँ छोड्छ ।’

भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टी, झिर्पु र हिन्दीका दुई सय परिवारले पहिरोमुनि घर बनाएका छन् । मार्मिङको सिंगो गाउँ पहिरोको जोखिममा छ । तातोपानीको दुगुना, बोक्चेदेखि लिस्तीकोटको टुसार, पाउँगुम्बाका प्राय: बासिन्दा पहिरोमुनि नै घर बनाइरहेका छन् ।

फुल्पिङकट्टी, झिर्पु, हिन्दी बजारका जालमान गुरुङ पनि घर बनाउने तरखरमा छन् । ‘घर बनाउने ठाउँ त पहिरोमुनि नै छ,’ उनले भने, ‘गाउँपालिका प्रमुखको घरसमेत पहिरोमुनि बन्दै छ ।’ यसअघि दुगुना भीरबाट आएको पहिरोले २५ घर पुरेर १५ जनाले ज्यान गुमाएका थिए ।

लिस्तीकोटका अगुवा दोर्जे लामाका अनुसार गाउँमा घर बनाउने प्राय:ले ऋण लिएका छन् । उनका अनुसार तातोपानी नाका बन्द भएपछि बेरोजगार बनेका सीमाका गाउँलेले आर्थिक अभावमा त्यसो गरेका हुन् । ‘पहिरो र बाढी यहाँका सधैंका समस्या हुन्,’ भोटेकोसी गाउँपालिकाका उपप्रमुख दाबुटी शेर्पाले भनिन्, ‘जोखिममा परेका स्थान र पीडितका सबै समस्या प्राधिकरण समन्वय समिति सचिवालयमा बुझाइसकेका छांै ।’ उनले पहिरोको जोखिममा परेका भूकम्पपीडितबारे निरीक्षण गरी स्थानान्तरणको पहल गर्ने कार्ययोजना बनाइरहेको बताइन् ।

प्रकाशित : माघ २, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?