बाटो नहुँदा आवतजावतमा सास्ती

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिकाको कालिमाठीदेखि बारेकोट गाउँपालिकाको लैखमसम्मको गोरेटो बाटोमा यात्रु आवतजावतमा सास्ती भएको छ । नलगाड हाइड्रोपावर कम्पनीको बाँधस्थल पहुँच मार्ग निर्माण क्रममा खसेको माटो ढुंगाले बाटो पुरिँदा आवतजावतमा सास्ती भएको हो ।

बाटो नहुँदा आवतजावतमा सास्ती

पावरहाउसदेखि बाँधस्थलसम्म निर्माण कम्पनीले बाइपास बाटो नबनाउँदा हिँडडुल गर्नै कठिन भएको हो । पहुँच सडक निर्माण कम्पनीले बाटो भत्काउँदा र नलगाड खोलामा पुल नहुँदा बारेकोटवासीलाई अझ बढी समस्या भएको छ । बारेकोटका सयौं यात्रु एक वर्षदेखि नलगाड खोला किनारको भीरमा जोखिम मोलेर आउजाउ गर्न बाध्य छन् । सक्ला, नायकबाडा, रोकायगाउँ, रामीडाँडा, लहँलगायतका बासिन्दालाई खलंगा, दल्ली र कालिमाठीतर्फ आउजाउ गर्ने बाटो पुरिएको पत्रकार नवराज शाहीले बताए । बारेकोटबाट निस्कने बाटो पहुँच मार्ग निर्माण क्रममा पुरिएको हो ।

पहुँचमार्ग निर्माणले घोडा खच्चड हिँड्ने बाटोसमेत नहुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको उनले बताए । ११ किलोमिटरको उक्त मार्गमा कडा चट्टान ब्लास्टिङ गरेर बाटो निर्माण गरिएको छ । ब्लास्टिङ क्रममा खस्ने ढुंगाले बाटो भत्किने र पुरिँदा आउजाउमै समस्या भएको शाहीले बताए । नलसिंहगाड खोलामा राखिएका लाप्को तथा किनारको भीरमा झुन्डिएर यात्रा गर्न बाध्य भएको उनले जनाए । उनले भने, ‘अप्ठ्यारो भीरमा खुट्टा टेक्ने ठाउँ नै नहुँदा डोरीमा झुन्डिएर आउजाउ गर्नुपर्छ ।’

सडक निर्माण कम्पनी तथा सम्बन्धित निकायको लापरबाहीले बाइपास व्यवस्था नगर्दा बारेकोट भेकका बासिन्दालाई समस्या भएको छ । बिरामी, वृद्धवृद्धा र बालबालिका यहाँबाट हिँड्नै नसक्ने उनले बताए । ‘भीरबाट खसेर कति बेला कसको ज्यान जान्छ ठेगान छैन,’ शाही भन्छन्, ‘सम्बन्धित पक्षले तत्काल बाइपास व्यवस्था नगरे जोखिम अरू बढदै जानेछ ।’ कुनै पनि योजना निर्माणमा कम्पनीले बाइपास बनाएर मात्र काम सुरु गर्नुपर्नेमा यहाँ भने त्यसो हुन सकेको छैन । कम्पनीले वैकल्पिक बाटो तथा अस्थायी पुल बनाएर यात्रु आवतजावतमा सहजता बनाउनुपर्ने हाइड्रोका इन्जिनियर पदम थापाले बताए । गत वर्ष मात्र कम्पनीले नलगाड खोलामा अस्थायी पुल बनाएको उनले जानकारी दिए । ४१० मेगावाटको नलगाड हाइड्रोको पहुँच मार्ग निर्माण जिम्मा लामा/खडका कृष्ण/गाल्भा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले लिएको छ ।

प्रकाशित : माघ ३, २०७४ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?