कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लोप हुँदै थारू समुदायको संस्कृति

भवानी भट्ट

कञ्चनपुर — पश्चिम तराईका थारू समुदाय यतिबेला माघीको रौनकले चुर्लुम्मै डुबेको छ । हरेक घरमा उत्साहसाथ नयाँ वर्षका रूपमा माघी मनाएको छ । घरघरमा भोजभतेरदेखि टोलटोलमा शुभकामना आदानप्रदान तथा माघी मिलन कार्यक्रम भए । 

लोप हुँदै थारू समुदायको संस्कृति

पुस्तौंदेखि मनाउँदै आएको चाडमा बेग्लै उत्साह देखिए पनि हालका वर्षमा समुदायको संस्कति र परम्परा भने लोभ हुन थालेको आभास हुन्छ । खासगरी नाचगान, पहिरन र खानेकुरामा परिवर्तन हुँदै गएपछि थारू संस्कृति पनि बिस्तारै आधुनिकतातिर लम्किन लागेको अगुवाहरू बताउँछन् ।

‘थारू संस्कृति आधाभन्दा बढी लोप भइसक्यो,’ यसका जानकार भीमदत्त नगरपालिका १९ उल्टाखामका ६९ वर्षीय हिक्मत चौधरीले भने, ‘नाचगानदेखि पहिरन र खानपानसमेत सबै पहाडियाको जस्तै भइसक्यो ।’ उनका अनुसार अहिले थारूको मौलिक पहिरन धोती र कछाड लगाएको मान्छे भेटाउनै नसकिने अवस्था भयो । बूढापाकासमेत पहाडियाजस्तै पाइन्ट र सर्टमा देखिन थाले ।

पुरुषसँगै महिलाका परम्परागत पहिरनसमेत लोप हुने अवस्थामा पुगेको हिक्मत बताउँछन् । ‘विवाह नहुँदासम्म लेहंगा र चोली लगाउँथे, अहिले त्यो देख्नै पाइँदैन,’ उनले भने, ‘बिहेपछि लगाउने अंगिया र अन्य पहिरन पनि लोप हुने अवस्थामा छन् ।’ थारू महिलाले प्राय:जसो कपडा घरमै सियोले सिएको मात्रै लगाउँथे । अहिले भने त्यस्तो लुगा सिउन जान्ने नै भेटिन छाडेको उनको भनाइ छ ।

पहिरनसँगै विभिन्न चाडपर्वमा गाइने गीत र नाचसमेत युवापुस्ताले बिर्सिंदै गएका छन् । दसैं, तिहार, माघी र होलीमा गाइने गीत हुर्दङा, मघौटा, सालीभाटु, सखिया घमारलगायत गाउने र तिनमा राम्ररी नाच्ने व्यक्ति पाउन मुस्किल भएको शिक्षण पेसामा संलग्न थारू अगुवा भुवन चौधरीले बताए । ‘थारू समुदायका परम्परागत नाचगान गर्न सक्ने व्यक्ति खोज्दै हिँड्नुपर्ने बेला भयो,’ उनले भने, ‘अहिले यस्ता गतिविधि चाडपर्व र विभिन्न कार्यक्रममा मात्रै सीमित छन् ।’

आफन्तसँगै बसेर रमाइलोसाथ नयाँ वर्षका लागि योजना बनाउने काम पनि माघीमै हुन्छ । यही बेला बडघर/भलमन्सा छानिन्छ । जसलाई खोजनी भोजनी पनि भन्ने गरिन्छ । ‘अहिले बडघर छान्ने परम्परामात्रै जेनतेन चलेको छ,’ भुवनले भने, ‘बाँकी रीतिरिवाज र संस्कृति पुरानो पुस्ताले पनि युवामा हस्तान्तरण गरेनन्, नयाँले सिक्ने र संरक्षण गर्ने चासो देखाएन ।’

‘चाडपर्वमा मात्रै एक/दुई दिन पुराना कपडा पहिरेर र नाचगान गरेर संस्कृति जोगाउन सकिँदैन,’ हिक्मतले भने, ‘यसका लागि युवा पुस्ताले संस्कृति संरक्षणमा जोड दिनुपर्छ र अग्रजबाट सिक्नुपर्छ ।’ उनले अहिले मैना, मागर र सजनालगायत केही गीत गाउने परम्परा हराइसकेका छन् ।

उनको पालामा वैशाख/जेठमा पानी नपरे महिला र पुरुषले एकअर्काका लुगा लगाएर सजना गाउँदै अर्काे गाउँको मुलीलाई आफ्नोमा लगेर राख्ने गर्थे । उक्त गाउँका महिला पुरुष गएर सजना गाएरै जितेपछि मात्रै आफ्नो मुलीलाई फिर्ता लैजान पाउँथे । त्यतिबेला यस्तो गरिसकेपछि पानी पर्छ भन्ने विश्वास थियो । ‘अहिले यो परम्परा त हराइसक्यो,’ उनले भने, ‘यसका साथै अरू कैयौं नाचगान नयाँ पुस्ताले देख्नै नपाई लोप भयो ।’

प्रकाशित : माघ ३, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?