कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिजनमै सुन्तला अभाव

अधिकांशको बगानमा ९० प्रतिशत सुन्तला बोट मरे

धरान — सुन्तलाको मध्यसिजनमा यहाँ भने अभाव देखिएको छ । गत वर्षको तुलनामा अहिले ६० प्रतिशत कम उत्पादन भएकाले कमी भएको हो । अधिकांश कृषकको बगानमा सुन्तलाका बोट सुकेर मर्न थालेका छन् ।

पूर्वी पहाडमा उत्पादित सुन्तला धरानको कृषिउपज बजारमा संकलन भएर अन्यत्र थोक मूल्यमा बिक्री हुन्छ । धनकुटाका साविक छिन्ताङ हाल सहिद भूमि गाउँपालिकाका कृषक बलबहादुर राईका अनुसार चार वर्षअघिदेखि सुन्तलाका बोट पहेंलिएर सुक्न थालेका हुन् । उनले भने, ‘यो वर्ष त झन् मेरोसहित अधिकांशको बगानमा ९० प्रतिशत सुन्तल बोट मर्न थालेका छन् ।’

छिन्ताङबाट मात्र गत वर्ष करिब २ करोडको सुन्तला धरानमा बिक्री गरिएको उनले बताए । यसपालिको भने अहिलेसम्म १५ लाख जतिको मात्रै बिक्री गरिएको राईले जनाए । बोटमा लागेको रोगबारे कृषि विज्ञसमेत अनभिज्ञ छन् । रोगबारे कृषिविज्ञलाई समेत जानकारी नभएपछि कृषक सुन्तलाको व्यावसायिक खेती परिवर्तन गर्ने सोचमा पुगेको उनले बताए ।

‘लाखौं ऋण लिएर लगाएको सुन्तला बगानमा बोट मर्न थालेकाले विकल्प खोज्न बाध्य भयौं,’ उनले भने, ‘एकपछि अर्को बोट मर्न थालेपछि कृषकले रासायनिक मल डीएपी र युरियाका साथै विषादि प्रयोग गर्न सुझाव दिएको र सोहीअनुसार काम गर्दा पनि बोट मर्न रोकिएको छैन ।’ उनका अनुसार स्थानीय सुन्तला कृषक दिमानबहादुर, प्रकाश, पूर्ण, सम्पत, रामकृष्ण राईलगायतको बगानमा ९० प्रतिशत सुन्तला सुकेर मरिसकेको छ । ‘पूर्वी पहाडमा उत्पादित सुन्तला स्वादिलो भएकाले निकै ख्याति कमाएका थिए,’ एक दशकदेखि सुन्तला व्यापार गर्दै आएका टीकाराम श्रेष्ठले भने, ‘केही वर्षयता भने बोट नै मर्न थालेपछि उत्पादनमा बर्सेनि ह्रास आएको छ ।’

उनका अनुसार सुरुमा धरानका व्यपारीले कृषिउपज बजारमा कम सुन्तला आउँदा ‘एक साल बढी फल्छ र अर्कोमा कम फल्छ’ भन्ने मान्यताले यस्तै होला भन्ने लागेको थियो तर बगानका बोट नै मर्न थालेको कृषकले बताएपछि मात्र थाहा भयो । सुन्तलाका थोक व्यापारीले कृषिउपज बजारमा यो सिजन २५ प्रतिशत पनि नआइपुगेको बताए । थोक व्यापारी ज्ञानबहादुर बस्नेतले भने, ‘धनकुटाको खोकुछिन्ताङमा बोट मर्ने समस्याका कारण १० प्रतिशत फलेको छैन । गत वर्षको सिजनमा दैनिक आउने सुन्तला साता दिनमा एकपटक आउने गरेको छ ।’ उनले भोजपुरमा पनि २५ प्रतिशत सुन्तला कम उत्पादन भएको बताए । गत वर्ष भोजपुरले मात्रै २९ करोडको सुन्तलाको कारोबार गरेको थियो । कृषिउपज बजारका अनुसार योपटक ५ देखि १० करोडको कारोबार हुने अनुमान छ ।

यता धरान कृषिउपज बजारमा गत वर्ष यही सिजनमा थोक मूल्यमा करिब ३१ करोड बराबरको ३ हजार ६ सय ४० मेट्रिक टन सुन्तला बिक्री भएको थियो । यसपटक भने करिब १ हजार ६ सय ५० मेट्रिक टन मात्र कारोबार भएको छ । फागुन अन्तिमसम्ममा ७ हजार ९ सय २५ मेट्रिक टनको कारोबार भए पनि यो ४० प्रतिशत मात्र उत्पादन हो । यही कारण मूल्य आकासिएको कृषिउपज बजार व्यवस्थापन समितिका लक्ष्मण भट्टराईले बताए । धरानमा सिजनको बेला दैनिक सय मेट्रिकटनभन्दा बढी आउनुपर्नेमा अहिले २० देखि ३० मेट्रिक टन मुस्किलले आउने गरेको भट्टराईले जनाए । ‘पर्याप्त सुन्तला नआउँदा थोक व्यापारीबीच हरेक बिहान हानाथाप, खोसाखोस हुन्छ,’ उनले भने, ‘धरानबाट सुन्तला इटहरी, विराटनगर, दमक, विर्तामोड, राजविराज, लाहान, जनकपुरलगायतका उपभोक्ताकोमा पुग्ने गथ्र्यो ।’

प्रकाशित : माघ ३, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?