२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘भागबन्डाले पुनर्निर्माण सुस्त’

अभियान घोषणाको २ वर्ष
प्रशान्त माली

ललितपुर — बुङमती मस्त्येन्द्रबहालका मिलन शाक्यले लालपुर्जा नभएका कारण भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माण गर्न पाएका छैनन् । कोटा टोलका राज तुलाधरको समस्या पनि उस्तै छ । राजनीतिक भागबन्डाका कारणले थला परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम सन्तोषजनक नरहेको उनीहरूको गुनासो छ ।

‘भागबन्डाले पुनर्निर्माण सुस्त’

१८ औं भूकम्प दिवसका अवसरमा २०७२ माघ २ (आजकै दिन) मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमतीमा पुनर्निर्माण नक्सा अनावरण गरी अभियान सुरु भएको घोषणा गरेका थिए ।

तर, घोषणाको २ वर्ष बितिसक्दा पनि भूकम्प प्रभावित ३१ जिल्लामा ११ दशमलव ४५ प्रतिशत मात्र निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राही संख्यामध्ये ८७ हजार ९ सय ११ वटा घर मात्र निर्माण सम्पन्न भएको छ । भूकम्पको साढे दुई वर्षभन्दा बढीको अवधिमा चार जना प्रधानमन्त्री फेरिइसकेका छन् । यही बीचमा भूकम्पपीडितकै सहायताका लागि स्थापना गरिएको पुनर्निर्माण प्राधिकरणमा पनि चार पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भए । सुरुमा गोविन्द पोखरेल त्यसपछि सुशील ज्ञवाली, फेरि पोखरेल नै आए । अहिले युवराज भुसाल छन् । यो अवधिमा राजनीतिक आवरणमा कुर्सी र कार्यशैली फेरिए पनि भूकम्पपीडितको समस्या भने उस्तै छ । टहरामा बसेका पीडित अझै पनि ठिहीमा कठ्यांगिँ्रदै रात बिताउन बाध्य छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले प्राधिकरण ‘समन्वय’ गर्ने निकाय मात्र भएको बताए । ‘हामीले नीति नियम, अख्तियारी दिने र कतै गाठो परेमा फुकाइदिने मात्र हो,’ उनले भने, ‘सम्पूर्ण काम चारवटा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गर्छ ।’ उनका अनुसार अनुदान सम्झौता र रकम वितरण, प्राविधिक, विद्यालय भवन र पुरातात्त्विक सम्पदा क्रमश: स्थानीय विकास, सहरी विकास, शिक्षा र संस्कृति मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वय एकाइ मातहतमा पर्छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २ लाख ४४ हजार ९ सय ३६ घर अहिले बन्दै गरेका छन् । ६ लाख ८० हजार ८ सय ५६ घरधनीले अनुदान सम्झौता गरेका छन् । ६ लाख ६८ हजार ४ सय ९९ घरधनीले पहिलो किस्ता, १ लाख ३८ हजार ५ सय ४२ ले दोस्रो किस्ता र तेस्रो किस्ता ३६ हजार ७ सय ७५ जनालाई मात्र वितरण भएको छ । दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने १ लाख ९८ हजार ४ सय ९३ संख्यामध्ये १ लाख ८२ हजार ७ सय ४८ वटा घर प्रमाणीकरण भएको छ । तेस्रो किस्ताका लागि निवदेन दिने ५६ हजार ९ सय ९६ मध्ये ४७ हजार ८ सय ८८ प्रमाणीकरण भएको प्राधिकरणले जनाएको छ ।

२ लाख ५ हजार ६ सय ३४ गुनासा दर्तामध्ये २ लाख ५ हजार ५ सय ८४ पुनरावलोकन गरी फछर्योट गरिएको छ । २ सय ७ वटा सरकारी भवनमा पुनर्निर्माण सम्पन्न भएको छ भने एक सय २५ वटामा भइरहेको छ । शैक्षिक संस्थामा २ हजार ८ सय ९१ पुनर्निर्माण सम्पन्न भइसकेको र एक हजार ४ सय ५८ भइरहेको छ । सांस्कृतिक सम्पदामा ७९ सम्पन्न भइसकेको र एक सय १९ भइरहेको छ । स्वास्थ्य संस्थामा २ सय ५७ पुनर्निर्माण सम्पन्न भइसकेको र एक सय १९ भइरहेको छ । सुरक्षा निकाय भवनमा ४४ वटा सम्पन्न भइसकेको र एक सय ४० वटा भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?