१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कमजोर जगमाथि रानीपोखरी मन्दिर

काठमाडौँ — रानीपोखरी पुनर्निर्माणबारे सल्लाहा दिन गठन गरिएको विज्ञ टोली पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर (यमलेश्वर) मन्दिर पुग्यो । टोलीका संयोजक पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णु कार्कीले सहयोगीलाई जगको इँटा झिक्न लगाए । एउटा इँटा झिक्दा अरू इँटा झर्न थाले ।

‘यस्तो कमजोर जगमा मन्दिर ठडयाएर हुन्छ कहीँ ?’ उनले भने, ‘यसलाई जगैदेखि बलियो बनाउनुपर्छ ।’


बालगोपालेश्वर पुनर्निर्माणको शिलान्यास भएको मंगलबार २ वर्ष पुग्यो । मन्दिरको पुनर्निर्माण २०७३ को तिहारसम्म सम्पन्न गर्ने बताइएको थियो । काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मान्यताविपरीत निर्माण गरेपछि यसविरुद्ध सर्वसाधारण सडकमा उत्रिए । कंक्रिटले बनाएका पिलर भत्काएर प्राचीन निर्माण सामग्री प्रयोग गरेर निर्माण सुरु गरिएको छ । २ पटक बनाइएको मन्दिरको जग भने भत्किएको पाइएको छ । ‘पानी भएको ठाउँमा किन चलाउनु भनेर तल हेरेको रैनछ,’ कार्कीले भने, ‘जगैदेखि नबनाए लामो समय टिक्दैन ।’ वल्र्डवाइड कँडेल केनकेजी जेभीले तिहारसम्ममा निर्माण सक्ने गरी ठेक्का पाएको हो । तर हालसम्म पनि निर्माणसम्पन्न भएको छैन ।


मन्दिर बनाउँदा पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले अनुगमनसमेत नगरेको अधिकारीहरूले स्विकारेका छन् । ‘हामीले अनुगमन गरेका थिएनौं,’ पुरातत्त्व विभागका सिनियर डिभिजनल सम्पत्त घिमिरेले भने, ‘अनुगमन गर्ने संयन्त्रै छैन । म पनि पहिलोपल्ट यहाँ आएको हुँ ।’ महानगरका मेयर विद्यासुन्दर शाक्य पनि उपमेयर हरिप्रभा खडगीले निर्माण रोक्न रानीपोखरी गएपछि पहिलोपल्ट फिल्ड हेर्न आएको स्वीकार गरेका थिए । महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले आफूले हालसम्म नहेरेको स्वीकारे । ‘अनुगमन गर्ने निकायले अनुगमनै नगरेपछि ठेकेदारले कहाँ बलियो संरचना बनाउँछ ?’ सम्पदा अभियन्ता शैलेश शाक्य भन्छन्, ‘मन्दिरमा करोडौं खर्च गर्छन् तर जगचाहिं यस्तो कमजोर छ ।’


मन्दिर ५ वटा सिंढी माथिबाट उठाइएको छ । मन्दिरको पिंधमा काठको सत्तरी ओछ्याएर बनाएको बताए । ‘पोखरीमा मन्दिर बनाउने प्राचीन विधि नै त्यही हो,’ कार्की भन्छन्, ‘काठमा सार्दै सार्दै देवता बीचमा लैजाने हो । अरू ठाउँका पोखरीको मन्दिर पुनर्निर्माण गर्दा पनि काठको सत्तरी ओछ्याएको पाइएको छ ।’ मन्दिरको शैलीमै परिवर्तन गर्नुपर्ने विज्ञले आवाज उठाएका छन् । २०७२ सालको भूकम्पले भत्काउनुपूर्व मन्दिर गुम्बज शैलीको थियो । योभन्दा पहिला मन्दिरको शिखर शैलीको भएको चित्र सार्वजनिक भएको छ ।


मन्दिरको शैली ग्रन्थ्रकुट शैलीको भएको उत्खननमा बज्र भेटिएबाट पुष्टि भएको पुरातत्त्वविद् सुदर्शनराज तिवारीले बताए । पर्सियाका राजकुमार वाल्डेमर सन् १९४४ देखि १९४६ सम्म श्रीलंका, भारत हुँदै नेपाल आउँदा कलाकारले बनाएको चित्र सार्वजनिक भएको छ । तिवारीका अनुसार ग्रन्थकुट शैलीलाई शिखर शैली पनि भनिन्छ । ‘पोखरी मल्लकालीन शैलीमा बनाउने भनेपछि मन्दिर पनि किन त्यही शैलीमा नबनाउने भनेर छलफल सुरु गरेका छौं,’ तिवारी भन्छन् । विसं १८९० को भुकम्पले मन्दिर भत्किएपछि जीणोद्धार गर्दा गुम्बज शैलीको बनाइयो । १९९० सालको भूकम्पले पनि भत्किँदा तथा २०१३ सालमा गुम्बज शैलीमै मन्दिरको पुनर्निर्माण भयो ।


ठेकेदारले संरक्षण विधि नअपनाई निर्माण गरेको विज्ञको दाबी छ । ‘जीर्णाेद्धार सामान्य प्रक्रिया होइन,’ सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘सम्पदामा मानव, संस्कृति, र सिर्जनाको बोध हुने वस्तु हो । यसमा वास्तु हुन्छ । यसको संरचनाभित्र सौन्दर्य, ऐतिहासिक, पुरातात्त्विक, आर्थिक, सामाजिक, आध्यात्मिक तथा सांकेतिक मूल्य मान्यता हुन्छन् ।’ यही मान्यताका कारण भक्तपुर नगरपालिकाले ठेक्का नभई ज्यालादारीमा सम्पदा निर्माण गर्ने गरेको छ ।

पुरातत्त्व विभागले पोखरीको बीचको मन्दिरलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ । ‘जगमा जे गर्दा बलियो हुन्छ, हामी त्यही गर्छाैं । जग बलियो बनाउने कुरामा हाम्रो असमझदारी छैन,’ पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘पिंधमा कंक्रिट राख्न विज्ञले सल्लाह दिन्छन् भने हामी त्यसो गर्न पनि तयार छौं ।’


सार्वजनिक सुनुवाइ आज

रानीपोखरी पुनर्निर्माण गर्ने सम्बन्धमा जनमत संकलन गर्न बुधबार सार्वजनिक सुनुवाइ हुने भएको छ । ३ सय ५० वर्ष पुरानो रानीपोखरी पुनर्निर्माण गर्ने क्रममा काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मापदण्डविपरीत बनाएपछि त्यसको विरोध भएको थियो । तीव्र विरोध भएपछि यसलाई प्रताप मल्लकै पालाको जस्तो बनाउन सल्लाह दिने गरी विज्ञ समिति बनाइएको थियो । १५ दिनको समयसीमा दिएर गत पुस १३ गते विज्ञ समिति बनेको थियो । त्यही समितिले बुधबार ३ बजे राष्ट्रिय सभागृहमा सुनुवाइ गर्न लागेको हो ।

प्रकाशित : माघ ३, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?