कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढ दशकपछि लालपुर्जा

विशेष नापी कार्यालयले पुन: जग्गा नापी गरी पुर्जा वितरण थाल्यो
वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनी गाउँपालिका–५ मैदानका ८४ वर्षीय ईश्वरीप्रसाद अधिकारी आफ्नो सम्पत्तिको जग्गाधनी पुर्जा पाउँदा निकै खुसी भए । प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुसालले हातमा पुर्जा थमाएपछि बुढेसकालमा सन्तानलाई अंश दिन पाउने धोको पूरा भएकोमा हँसिलो देखिए ।

सम्पत्ति थियो तर सरकारी कार्यालयमा प्रमाण थिएन । बिरामी परेको बेला उपचार खर्च जुटाउन नसक्दा सम्पत्ति बेच्न नपाउँदाको पीडा उनलाई ताजै छ । १५ वर्षपछि बल्ल हातमा पुर्जा पाउँदाको खुसीमा उनको अनुहार हँसिलो देखियो । ‘पुर्जा नहुँदा कति रात अनिद्रामै बिते,’ उनले भने, ‘अब मस्तले निदाउँछु । छोरालाई अंश बाँडिदिन्छु । अब त बिरामी पर्दा पैसा नभए पनि चिन्ता छैन । सम्पत्ति बेच्छु र उपचार गर्नेछु ।’

भुसाल र प्रमुख नापी अधिकृत उमेश कुमारको हात समाएर उनले आफ्नो चाहना पूरा गरिदिएकोमा खुसी व्यक्त गरे । ‘धेरै पटक सन्धिखर्क नापी कार्यालयमा धाएँ । जहिल्यै नापी अझै भएको छैन भन्ने कर्मचारीबाट जवाफ आउँथ्यो । तर, अहिले घरमै आएर पुर्जा हातमा दिएपछि म हर्षित छु,’ उनले भने ।

मैदानकी देवकीनन्द कोइराला पनि फुरुंङ भइन् । कपाल सेतै फुलिसके, मुहार चाउरी परेको छ । झर्न बाँकी रहेका चारवटा दाँत देखाउँदै ७५ वर्षीया उनले भनिन्, ‘मर्ने बेलामा जग्गाको पुर्जा हातमै पाउँदा म हर्षित छु ।’ दु:ख गरेर जोडेको २० रोपनी जग्गाको पुर्जा पाएपछि पटुकीमा राखिन् । उनले पुर्जाको प्रमाणपत्र घरमा सिरानी भित्र सुरक्षित राख्ने बताइन् ।

‘जोशिलो उमेर छँदा जोडेको सम्पत्ति त थियो तर ऐलानीमा बसेजस्तो,’ उनले भनिन्, ‘छोरालाई अंश दिन नपाउँदा मन पोलिरहेको थियो । बुढेसकाल लागिसक्यो काम गरेर खान सकिँदैन । अब छोरालाई पास गरिदिन्छु ।’

बिरामी परेको बेला पैसा नभए अंश बेच्न नपाइने, जग्गा बेचेर व्यावसायमा लगानी गर्न पनि नपाइने, जग्गाको पुर्जा बैंकमा राखेर ऋण लिन नपाउँदा सबै सुविधाबाट जग्गाधनी वञ्चित थिए । ‘छोरालाई पढाउन पैसा थिएन, पुर्जा बैंकमा राखेर ऋण झिक्न बैंक जाँदा कर्मचारीले पैसा दिन मानेनन्,’ मैदानका झविलाल अधिकारीले भने, ‘ऋण खोज्न हिँडनुपथ्र्याे । १५ वर्षसम्म निकै दु:ख भएको थियो । अब पुर्जा हातमा पर्‍यो, खुसी लागेको छ ।’

२०६९ र ०६१ मा तत्कालीन विद्रोहीले दुई पटक सदरमुकाम आक्रमण गर्दा नापी र मालपोतसहित सबै सरकारी कार्यालय जलेर ध्वस्त भएका थिए । सबै सरकारी कार्यालयका कागजपत्र जले । नापी कार्यालयमा रहेका पुर्जा पनि जोगिएनन् । लामो समय जिल्ला नक्साविहीन हुँदा जग्गाधनी मर्कामा परेका छन् ।

सदरमुकामका जग्गाधनीले पुर्जा पाएका छैनन् । सन्धिखर्कमा विशेष नापी कार्यालय स्थापना गरी नापी गरेर पुर्जा वितरण गर्न सुरु गरिएको छ । पुर्जा नहुँदा सबै जग्गाधनी अप्ठ्यारोमा छन् । छिमेकीले जग्गा मिच्दा समेत प्रमाण नहुँदा समस्या छ । सदरमुकाम र गाउँका प्रमुख केन्द्रमा टाठाबाठाले सरकारी जग्गा अतिक्रमण गरे ।

सन्धिखर्कको बाँगी खोला र विभिन्न ठाउँमा सार्वजनिक जग्गा मिचेर घरसमेत निर्माण भए । तर, प्रशासन मौन छ । मैदानका १ हजार ४ सय ४२ जनालाई पुर्जा वितरण गरियो । त्यस्तै शीतगंगा नगरको जलुके ७ र ८ वडामा १ हजार २ सय ७१ जना जग्गाधनीलाई पुर्जा वितरण गरिएको प्रमुख नापी अधिकृत उमेशले बताए ।

जलुकेमा नापी विभागका उप–महानिर्देशक मोहम्मद साविर हुसेन र शीतगंगा नगर प्रमुख सूर्य अधिकारीको हातबाट खिमबहादुर कार्कीले पुर्जा पाए । ‘अब सबै समस्याको बाटो खुल्यो,’ हुसेनले भने, ‘जग्गा छ । तर, सरकारी निकायमा पुर्जा नहुँदा समस्या थियो । अब त्यो रहेन । पुर्जा बैंकमा राखेर पैसा झिकेर व्यवसायमा लगानी गर्न बाटो खुल्यो ।’

अहिलेसम्म मैदान, पटौटी, धातीबाङ, अर्घातोष, चिदिका, सुवर्णखालमा पुर्जा वितरण गरिएको र सिद्धारामा काम अन्तिम चरणमा पुगेको विशेष नापी कार्यालयले जनाएको छ । द्वन्द्वको बेला अर्घाखाँची र अछाम जिल्लाका नापी कार्यालयमा सबै कागजपत्र जलेपछि सरकारले विशेष नापी कार्यालय स्थापना गरेर काम गरिरहेको छ । २०६७ मा सन्धिखर्कमा विशेष नापी कार्यालय स्थापना गरे पनि ०७० बाट काम सुरु भएको छ । एक वर्षभित्रमा जिल्लालाई नक्साविहीनताबाट मुक्त बनाउने गरी काम भइरहेको छ ।

प्रकाशित : माघ ३, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?