३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मुख्यमन्त्रीमा एमालेको दाबी

विराटनगर — प्रदेश नम्बर १ मा मुख्यमन्त्री एमालेले पाउने पक्काजस्तै भएको छ । ऊसँग गठबन्धनमा रहेको माओवादी केन्द्रले सभामुख पदमा दाबी गरेको छ । यो प्रदेशमा सरकार गठनका लागि एमाले एक्लैको प्रस्ट बहुमत छ । माओवादी केन्द्रको समेत सिट जोडदा दुई तिहाइ पुग्छ ।

यहाँका १४ जिल्लामा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी ९३ सिट छन् । एमालेले प्रत्यक्षतर्फ ३६ सिटमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १०, कांग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्र १ जना विजयी भएका छन् ।

उदयपुर २ को ‘क’ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार नारायणबहादुर मगर माओवादी केन्द्रकै नेता हुन् । समानुपातिकतर्फ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्रले ५, संघीय समाजवादी फोरम नेपालले २, राप्रपाले १ र संघीय लोकतान्त्रिक मञ्चले १ सिट पाएका छन् ।

एमालेको दुवैतर्फको संख्या जोडदा ५१ सिट हुन्छ जुन प्रदेश सरकारका लागि सहज बहुमत हो । माओवादी केन्द्रको समानुपातिकसहित १५ सिट पुग्छ । स्वतन्त्रबाट विजयी मगरलाई समेत जोडदा एक सिट थपिन्छ । यो प्रदेशमा वाम गठबन्धनको प्रस्ट दुई तिहाइ

मत छ ।

मुख्यमन्त्रीमा एमालेका भीम आचार्य र शेरधन राई मुख्य दाबेदार छन् । उपमुख्यमन्त्री पनि एमालेले नै पाउने भएको छ । सभामुखमा भने माओवादी केन्द्रको दाबी छ तर प्रदेशको अस्थायी राजधानीसमेत नतोकिँदा विजयी सांसद अन्योलमा छन् । मतदातालाई धन्यवाद दिने कार्यक्रम सकेर उनीहरू घरमै बस्न बाध्य छन् ।

आफ्नै क्षेत्रलाई प्रदेश राजधानी माग गर्दै यतिबेला विराटनगर, मोरङको गोठगाउँ, इटहरी, इनरुवा र धनकुटावासी आन्दोलनमा छन् । धनकुटामा बन्द, हड्ताल जारी छ । विश्वको अग्लो शिखर सगरमाथादेखि होचो स्थान केचनासमेत यही प्रदेशमा पर्छन् । जलविद्युत्, खाद्यान्न, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोतसाधनले पनि भरिपूर्ण छ ।

भारत र चीनसँग सीमा जोडिएको र बंगलादेशबाट नजिकै रहेको प्रदेश १ मा भारत तथा तेस्रो मुलुकसँग वस्तुको आयात–निर्यातका लागि सहज नाका छन् । देशका प्रमुख भन्सारमध्ये विराटनगर र काँकडभिट्टा यहीँ पर्छन् । यो प्रदेशका १४ जिल्लामा १३ वटा विमानस्थल छन् । अन्न भण्डार मात्र होइन, चिया, अलैंची, अम्रिसो, अदुवा, सुन्तलाजस्ता नगदेबाली उत्पादनमा पनि प्रदेश पहिलो नै छ । साना–ठूला ५ सयभन्दा बढी उद्योग छन् । पूर्वाञ्चल विश्वविद्यालय र तीनवटा मेडिकल कलेज छन् ।

पहाड–हिमालका ११ र तराई–मधेसका ३ वटा जिल्ला समेटिएको प्रदेश १ को क्षेत्रफल २५ हजार ९५ वर्गकिमि छ । जनगणना २०६८ को तथ्यांक अनुसार यहाँको जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ । नेपालको कुल निकासीको ४१.४ प्रतिशत यो प्रदेशबाट हुने गर्छ ।


प्रकाशित : माघ ३, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?