२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सोनाम ल्होछारको तिथि विवादित : भोलि टुँडिखेलमा ल्होछार नहुने

काठमाडौँ — यो वर्षको सोनाम ल्होछारको तिथि विवादले तामाङ समुदायमा राष्ट्रिय चाडप्रति अन्योल छाएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङले (२०७४ साल) माघ ४ मा र नेपाल तामाङ घेदुङले फागुन ४ गते हुने फरकफरक तिथि घोषणा गरेपछि अन्योल भएको हो । 

सोनाम ल्होछारको तिथि विवादित : भोलि टुँडिखेलमा ल्होछार नहुने

दुई संस्थाबीच विवाद बढेपछि बिहीबार राजधानीको टुँडिखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने भनिएको ‘२८५४ औं खि–ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार’हुन नसक्ने भएको छ । टुँडिखेल नेपाली सेनाको मातहतमा रहेको छ । राष्ट्रिय तामाङ घेदुङअन्तर्गत बनेको ल्होछार आयोजक समितिले माघ ४ गतेका निम्ति स्थान उपलब्ध गराउन माग गरेको थियो ।


त्यसैगरी, नेपाल सांस्कृतिक कला केन्द्रले पनि त्यसै दिन टुँडिखेलमै कार्यक्रम आयोजना गर्न माग गरेपछि दुवै पक्षलाई ठाउँ उपलब्ध गराउन नसक्ने सैनिक स्रोतले जनाएको छ । टुँडिखेलमा ठाउँ उपलब्ध नहुने भएपछि प्रदर्शनी मार्गमा मनाउने नेपाल राष्ट्रिय तामाङ घेदुङका कार्यवाहक महासचिव प्रवीणकुमार बलले कान्तिपुरलाई बताए ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिअन्तर्गत निर्मित पात्रोमा सोनाम ल्होछार यो वर्ष माघ ४ गते र फागुन ४ गते ग्याल्बो ल्होछार उल्लेख छ । तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले प्रत्येक वर्ष ल्हो परम्परामा रहेर मन्जुश्री तत्त्व ज्योतिष पात्रोअनुसार पहिलो महिना (ख्रे ला छेपागी) अर्थात् वर्षको पहिलो दिन १ गते मान्ने र त्यो तिथि यस पटक विक्रम संवतको फागुन ४ गते परेकाले भ्रममा नपर्न गत पुसमै पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए । ‘तामाङले मान्ने संवतअनुसार यो वर्ष खि–ल्हो फागुन ४ गते मनाउने तयारीमा रहेकाले माघ ४ गते भनेर नझुक्किन अनुरोध गर्दछु,’ विक्रम संवतको क्यालेन्डरमा माघ ४ गते सोनाम ल्होछार उल्लेख भएकाले बिदा सच्याउन सरकारसँग माग गरेको समेत अध्यक्ष गोलेले जनाएका छन् । घेदुङले बिदा सार्न माग गरे पनि सरकारले माघ ४ गतेलाई नै सार्वजनिक बिदा कायम गरेको छ ।


तामाङ घेदुङले ०७२ सालदेखि सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) अनुसार ल्होछार मनाउँदै आएको छ । उक्त पात्रोअनुसार चन्द्रमास ख्रे–ला छेपागी यो वर्ष फागुन ४ गते परेको घेदुङका अध्यक्ष गोलेले स्पष्ट पारेका छन् ।


विगतदेखि नै घेदुङको आयोजनामा हुने ल्होछारलाई विश्वभरिका तामाङ जातिले आधिकारिक मान्दै आएका छन् । सोनाम ल्होछार पर्वबारे तामाङ समुदायभित्र ०५१ सालदेखि विवाद जारी छ । तामाङ समुदायमा तिथिमिति मात्र नभई ग्याल्बो र सोनाम ल्होछार कुनलाई मान्ने भन्नेमा समेत विवादमा रहेको जनाइएको छ ।

प्रकाशित : माघ ३, २०७४ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?