२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आन्दोलनमा उत्रिए नर्स

काठमाडौँ — उतिबेला नर्सिङ पेसालाई हेर्ने दृष्टिकोण त्यति राम्रो थिएन । परिवारको साथ नहुँदा पनि घरबाट जिद्दी गरी उनले नर्सिङ नै पढिन् । उतिबेला रहरले अँगालेको पेसा आज उनी बाध्यताले घिसारिरहेकी छन् ।

आन्दोलनमा उत्रिए नर्स

उनी हुन्– ३० वर्षदेखि नर्सिङ पेसामा आबद्ध गौरी कार्की । कार्की महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा कार्यरत छिन् । भन्छिन्, ‘जनरल वार्डमा एकैपटक २५ देखि ५० बिरामी हेर्नुपर्छ, म त उनीहरूसँग बोल्न पनि भ्याउँदिन ।’ आफू एकै अस्पतालमा बीसौं वर्षदेखि काम गर्दै आए पनि बढुवा नभएको उनको गुनासो छ । एचआईभी, क्षयरोगका बिरामी हेर्दा आफ्नै स्वास्थ्य जोखिममा हुने तर जोखिमभत्ताको व्यवस्था नभएको उनले सुनाइन् । ‘भत्ता त परको कुरा, जोखिम ठाउँमा काम गर्दा आवश्यक सुरक्षा सामान पनि दिँदैनन्,’ उनले गुनासो गरिन् ।

दिनहुँ यस्ता समस्या झेल्ने कार्की त प्रतिनिधि नर्स मात्रै हुन् । सरकारी अस्पतालका नर्सहरूको यो साझा पीडा हो । बिरामी र नर्सको अनुपात नमिल्दा नर्सहरूमा आफैंले रोजेको पेसाप्रति वितृष्णा जागिरहेको छ । कतिले यस्तै तनाव झेल्न नसक्दा पेसा नै छाडेका/परिवर्तन गरेका छन् । कति त बिदेसिएका छन् । आफूले सक्नेभन्दा बढी बिरामी हेर्नुपरेकै कारण नर्स नर्वता थापा पनि दिक्क भएको बताउँछिन् । ३५ वर्षदेखि उनी महाराजगन्जस्थित त्रिवि अस्पतालको हाडजोर्नी वार्डमा काम गर्छिन् । भन्छिन्, ‘२० देखि ४० बिरामी हेर्नुपर्छ, उनीहरूको अनुहार पनि हेर्न भ्याउँदिनँ ।’ बिरामीलाई चाहिने र उसले खोजेजस्तो हेरचाह गर्न नभ्याउँदा उनीहरूबाट दुव्र्यवहार हुने, गालीबेइज्जती सहनुपर्ने उनको अनुभव छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनरल वार्डमा एक नर्स बराबर ६ बिरामी हुनुपर्छ । इमर्जेन्सी, आईसीयू, सीसीयू र अपरेसन वार्डमा छुट्टै मापदण्ड छ । अपरेसन वार्डमा एक बिरामीका लागि दुई नर्स हुनुपर्ने संगठनले तोकेको छ । नेपालमा भने अपरेसन वार्ड जस्तो संवेदनशील वार्डमा पनि एकै नर्सले ३/४ बिरामी हेर्नुपर्ने अवस्था छ । जसले गर्दा बिरामी र नर्स दुवैलाई न्याय भएको छैन, सेवा गुणस्तरीय हुन सकेको छैन । नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापा भन्छिन्, ‘जिल्ला अस्पतालहरूमा त झन् दुई नर्सले पूरै अस्पताल धान्नुपरेको छ, कामअनुसार उनीहरूलाई सेवासुविधा पनि निकै कम छ, कामको मूल्यांकन पनि छैन ।’ संघमा दैनिक धेरै बिरामी हेर्नुपर्ने, बिनासूचना कामबाट निकालिने, मानसिक तथा शारीरिक हिंसा सहनुपर्ने, बिरामी पक्ष र प्रशासनबाट कुटपिट हुनेजस्ता उजुरी लिएर नर्सहरू आइरहन्छन् ।

नर्सिङ संघको तथ्यांकअनुसार देशभर ७४ हजार नर्स छन् जसमा २४ हजार सरकारी अस्पतालमा कार्यरत छन् । नर्समाथि भइरहेका विभिन्नखाले श्रमशोषण बन्द गरियोस् भन्दै देशभरका नर्सहरू एक सातादेखि आन्दोलनमा छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले बुधबार डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिले बिहीबारै नर्सहरूलाई वार्ताका लागि बोलाएको प्रवक्ता डा. श्रीकृष्ण गिरीले जानकारी दिए । समिति सदस्यमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, कल्पलता सुब्बा छन् । ८ दिनदेखि देशभरका नर्स ११ बुँदे मागसहित आन्दोलनरत छन् ।


मागहरू

  • शैक्षिक योग्यताअनुसार पद सिर्जना
  • श्रम ऐन लागू
  • बिनासूचना कामबाट निकाल्न नपाइने
  • मानसिक तथा शारीरिक हिंसामा रोक
  • सस्तो मूल्यमा श्रम शोषण अन्त्य
  • समय पुगेकाको बढुवा

प्रकाशित : माघ ४, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?