३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काजका प्रहरी फिर्ता हुने

ताप्लेजुङ — प्रदेश नम्बर १ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले काजमा रहेका सबै कर्मचारी फिर्ता गर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालयको निर्माण सम्पन्न भवन बुधबार उद्घाटन गर्दै उपाध्यायले दुर्गममा दरबन्दी राखेर सुगममा बस्ने प्रवृत्तिको अन्त यसै साताबाट हुने जानकारी गराए तर कति कर्मचारी काजमा छन्, त्यो भने उनले खुलाएनन् ।

उपाध्यायले शान्तिसुरक्षा सम्झौताहीन विषय भएकाले कसैको दबाबमा नपरी काम गर्न आफूमातहत कर्मचारीलाई निर्देशन दिएका छन् । उनले शान्तिसुरक्षालाई मजबुत हुने कुरामा विश्वस्त हुन जिल्लावासीलाई आग्रह पनि गरे । भौतिक संरचना निर्माणले प्रहरीको मनोबल बढ्ने बुझाइ रहेको छ ।

प्रहरी हाताभित्र अधिकृत तथा जवान ब्यारेक निर्माण गरिएको हो । ३ हजार ६ सय ६९ वर्गफिटमा फैलिएको भवन २ करोड २३ लाख ३५ हजारमा बनेको छ । यो साढे दुई तलाको रहेको छ । भवनसँगै एकतले शौचालय पनि यही बजेटबाट निर्माण भएको मुख्य प्राविधिक डीएसपी ईश्वर थापाले जनाए । यसअघि प्रहरी अधिकृत तथा जवान काठ, माटो र ढुंगाले बनेको साँघुरो ब्यारेकमा बस्तै आएका थिए । भवन बनिसकेकाले पुरानो संरचना हटाउने ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । नवनिर्मित भवनमा प्रहरी जवानका लागि दुई, हवल्दारका लागि एक, जुनियर प्रहरी अधिकृतका लागि एक, महिला ब्यारेक कक्ष एक रहेको छ ।

कार्यक्रममा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले वडास्तरसम्म प्रहरी एकाइ पुर्‍याउन अनुरोध गरेका थिए । जिसस प्रमुख घनेन्द्र मादेनले गाउँमै सिंहदरबार पुगेको चर्चा चलिरहँदा प्रहरीको उपस्थितिलाई पनि तल्लो तहसम्म पुर्‍याउन आग्रह गरे । फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । प्याकुरेलले आवश्यकताअनुसार प्रहरी जनशक्ति थप गर्न र भएका ठाउँमा आवश्यक उपकरण पुर्‍याउन अनुरोध गरे ।

प्रकाशित : माघ ४, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?