दमक–रवि सडकको ट्रयाक खुल्यो

पश्चिमी झापा र इलाम तथा दक्षिण पाँचथरका जनतालाई आउजाउमा सहज
अर्जुन राजवंशी

दमक — मेची राजमार्गको विकल्पका रूपमा हेरिएको दमक–चिसोपानी–रवि सडक ट्रयाक खुलेको छ । २३ वर्षपछि झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने ४४ किलोमिटर सडकको सम्पूर्ण ट्रयाक खुलाइएको हो ।

सडक निर्माण उपभोक्ता समिति अध्यक्ष गगन पुरीले ट्रयाक खुला भएको जानकारी दिए । यसले माघ ७ गतेदेखि साना गाडी (ट्याक्सी) नयाँ ट्रयाकबाटै चलाउन सूचना जारी गरिएको पुरीले बताए । सडक निर्माण नहुँदा पश्चिमी झापा र इलाम तथा दक्षिण पाँचथरका जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यस भेकमा हिउँदमा एक सिजन मात्र सवारी चल्ने गर्छ । त्यो पनि रतुवा खोलैखोला । अध्यक्ष पुरीका अनुसार हिउँदमा चल्ने गाडीले दमकको बेलडाँगीदेखि घर्तीदोभानसम्म रतुवा खोला मात्रै करिब ७० ठाउँमा तर्नुपर्छ ।

उक्त सडक निर्माण काम ०५१ देखि थालिएको हो । तर, दुई दशकसम्म निर्माणले गति नपाउँदा सडकको ट्रयाक भर्खर मात्रै खुला भएको उपभोक्ता समिति महासचिव हेमन्त राईले बताए । ट्रयाक खुलेपछि सबैभन्दा बढी दक्षिण–पश्चिम इलामका जनता खुसी भएको उनले जनाए । सडक निर्माण सम्पन्न भए, यस भेकका दस लाखभन्दा बढी बासिन्दा लाभान्वित हुने अध्यक्ष पुरीको दाबी छ । उनका अनुसार झापादेखि ताप्लेजुङसम्मको यात्रा मेची राजमार्गभन्दा यसबाट ७० किलोमिटर छोटो हुनेछ ।

डिभिजन सडक दमकका सबइन्जिनियर विपिन ढुंगानाले ट्याक्सी चल्ने गरी सडकको ट्रयाक खुलेको बताए । उनका अनुसार यस खण्डमा पर्ने चार पुलमध्ये दुइटा निर्माणाधीन छन् भने दुइटा टेन्डर प्रक्रियामा छन् । पीएस–मृत–सञ्जीवनी–किराँतेश्वर जेभी, थेगिम–बेल्का जेभी र बिरुवा–बोखिम जेभीले सडक निर्माण गरिरहेका छन् । अहिलेसम्म ६ वटा बक्स कल्भर्ट र ३ स्ल्याब कल्भर्ट निर्माण भइसकेको छ । नयाँ ट्रयाकबाट गाडी चलाए पुल बनिनसकेका ठाउँमा डाइभर्सन व्यवस्था गरिएको उनले बताए ।

अध्यक्ष पुरीले अबको ४ वर्षभित्र ड्रेनसहितको कालोपत्रे गरिसक्ने गरी काम भइरहेको जानकारी दिए । उनले ड्रेन, ब्रेस्ट वाल, रिटेनिङ वाल, ग्राभेल र कालोपत्रेसहितको ठेक्का प्रक्रिया गृहकार्य भइरहेको बताए । सडकको सम्पूर्ण निर्माण सक्न अझै २ अर्ब २५ करोड रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ । आवश्यक बजेटका लागि माथिल्लो निकायमा भनिरहेको उनले बताए । सडक निर्माण नहुँदा रतुवा खोलैखोला भए पनि अहिले दैनिक सानाठूला गरी ५ दर्जनभन्दा बढी गाडी चल्छन् ।

उक्त सडक एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताकै क्षेत्रको सडकको निर्माण कामले लामो समयदेखि गति नपाउँदा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयको दबाबपछि दुई वर्षदेखि सडकलाई सरकारले प्राथमिकता एकमा राखेको छ । बहुवर्षीय योजनाअन्तर्गत राखेर सरकारले दुई वर्षदेखि नियमित रूपमा वार्षिक १५ करोड रुपैयाँका दरले बजेट विनियोजन गर्दै आएको छ ।

उक्त सडकलाई चीन–नेपाल–भारत गरी त्रिदेशीय रणनीतिक सडकका रूपमा विकास गर्न चाहेको अध्यक्ष पुरीले बताए । उनका अनुसार सडकले भारतको फत्तेपुरदेखि चीनको घाङ्लासम्म जोड्छ । यसको निर्माण पूरा भए पूर्वी पहाडी जिल्लाका कृषि उत्पादनलाई तराईका बजारसम्म ल्याउन सहज हुनेछ । इलामस्थित माङमालुङ चिया बगान सञ्चालक समिति सदस्य केन्द्र प्रसाईंले सडक नहुँदा तयारी चिया झापासम्म ल्याइपुर्‍याउन ढुवानी खर्च निकै लाग्ने गरेको बताए ।

सडक अभावमा पश्चिम इलाममा उत्पादन हुने भुर्इं स्याउ, इस्कुस, टमाटर, किबी, अदुवालगायत कृषि उत्पादन गाईबस्तुलाई खुवाउनुपरेको छ । सडक निर्माण भए पूर्वी पहाडी जिल्लाका किसानका उत्पादनले सहजै बजार पाउने दाबी उनले गरे ।

प्रकाशित : माघ ४, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?