कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

महिला सहकारी नाफामा

धरान — सुनसरीका तीन दर्जनभन्दा बढी सहकारी संस्था बदनाम भइरहेका बेला स्थानीय महिलाद्वारा सञ्चालित धरानको न्यु जनकल्याणकारी बचत तथा ऋण सहकारीले चालु आवमा ५९ लाख ६५ हजार ६ सय ९४ रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानीमध्ये ४ लाख रुपैयाँ सेयर बोनस वितरण गरिएको छ ।

सहकारीले धरानमा बुधबार आफ्नो स्थापनाको १२ औं दिवसका साथ साधारणसभा आयोजना गर्दै सीमित पुँजीबाट वृद्धि गर्दै आम्दानी गर्न सफल भएको जनाएको हो । निम्नवर्ग र निम्नमध्यम वर्गीय सहरी महिलालाई बचत गर्ने र भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापित सहकारीले हाल महिलाले सञ्चालन गरेका साना तथा मझौला व्यापार व्यवसायमा लगानी गर्दै आएको छ ।

‘हामीले पहिलो प्राथमिकतामा सहरी महिला जो आर्थिक उपार्जन गर्न चाहन्छन्, उद्यमशील हुन चाहन्छन् उनीहरूलाई लक्षित गर्दै आएका छौं,’ सहकारी अध्यक्ष मनकुमारी याख्खाले भनिन्, ‘सुरुमा गाह्रो भयो, अहिले बचत गर्ने र सानातिना व्यापार व्यवसाय गरेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने चेतना आएकाले सहज भएको छ ।’

स्थापनाकालमा ३ लाख ३२ हजारको कुल सेयर पुँजी र वार्षिक कारोबार ४४ लाख ८२ हजार रुपैयाँ रहेको अध्यक्ष याख्खाले जनाइन् । १२ वर्षे दौरानमा अहिले सेयर पुँजी ३५ लाख ८४ हजार र कारोबार ११ करोड ८८ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।’ निक्षेप संकलन ४ करोड ६० लाख ८१ हजार रहेको उनले बताइन् । यसै आवदेखि भारतको नेसनल पन्जाब बैंकसँग सहकार्य गर्दै नेपालमा सञ्चालित एभरेस्ट बैंकको इटहरी शाखासँग पनि बैंकिङ सेवामा सहकार्य गर्ने उनको भनाइ थियो ।

सहकारी सचिव विष्णुमाया लिम्बूका अनुसार सहकारीले १ हजार ५ सयभन्दा बढी महिलालाई सेयर सदस्य बनाएर मनिट्रान्सफर सेवा, ट्राभल सेवा, सेयर सदस्य सुरक्षण कोष, सेयर सदस्य दुर्घटना कोष पनि सञ्चालन गर्दै आएको छ । सहकारीले चालु वर्षमा ब्याजबाट ३८ लाख ४५ हजार र रेमिट्यान्सबाट १२ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

प्रकाशित : माघ ४, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?