नवलपरासी — राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त ४ सय ९० विद्यार्थी बुधबार दीक्षित भएका छन् । १३ विद्यालयबाट छनोटमा परेका विद्यार्थीलाई सय दिनको सेनासम्बन्धी विभिन्न तालिम पुरा गराएर कावासोतीको हात्तिखोरस्थित सेवा दलमध्ये तालिम शिक्षालयबाट दीक्षान्त गरिएको हो ।
तालिम पाउनेमा ११ र १२ कक्षाका काठमाडांै, ललितपुर र भक्तपुरका विद्यार्थीमध्ये २ सय ४७ छात्र र २ सय ४३ छात्रा छन् । विद्यार्थीहरूलाई सेनाका अधिकृतहरूले उनीहरूकै विद्यालयमा ७९ दिनसम्म सैनिकसम्बन्धी तालिम दिएका थिए । बाँकी २१ दिन सबै विद्यार्थीलाई हात्तीखोरस्थित शिक्षालयमा ल्याएर अन्तिम तालिम दिइएको हो ।
विद्यार्थीलाई सेनाको झैं नियमित आधारभूत शारीरिक अभ्यासका तालिम दिइएको थियो । उनीहरूलाई नाचगान, युद्ध अभ्यासका सामान्य नियम, लागूऔषधविरुद्धको तालिम, ट्राफिक सचेतना, वन्यजन्तु संरक्षण, जलवायु परिवर्तनले पार्ने असर, इतिहास र संस्कारबारे सिकाइएको दीक्षान्त समारोहमा जानकारी दिइयो । सैनिक पोसाक लगाएर विद्यार्थीले फाइरिङ र घोडचडीसमेत सिक्न पाएका थिए । राष्ट्रिय दलले दिने यस्तो तालिमले व्यक्तित्व विकासमा सघाउने, आत्मनिर्भर र अनुशासित जीवनयापनमा सहयोग पुग्ने सेनाका कर्णल प्रज्ज्वल रायमाझीले बताए । सेवा दलका महानिर्देशक उपरथी रमीन्द्र क्षत्रीले विद्यार्थीलाई अनुशासनमा रहन तालिमले सघाउने विश्वास व्यक्त गरे । तालिम अवधिमा सिकाइने विपत् व्यवस्थापन तालिमले आआफ्ना क्षेत्रमा समस्या आइपर्दा सामना गर्न सघाउने भनाइ उनले राखे । चालु वर्ष मुलुकका ७६ जिल्लाका ६ हजारजना विद्यार्थीलाई राष्ट्रिय सेवा दलले तालिम दिएको छ । छनोटमा परेका विभिन्न १ सय ७६ विद्यालयका ६ हजार विद्यार्थीलाई तालिम दिइसकिएको जानकारी कार्यक्रममा दिइयो । पूर्वमा मोरङको याङशिला, मध्य–नेपाल अन्तर्गत कावासोतीको हात्तीखोर र पश्चिमको कोहलपुरस्थित सैनिक तालिम केन्द्रमा हरेक वर्ष सेवा दलले यस्तो तालिम दिने गरेको छ । छनोटमा परेका विद्यालयबाट १८/१८ छात्रछात्रालाई तालिम दिइन्छ । सम्बन्धित विद्यालयमा सेनाका अधिकृतहरू गएर हरेक साँझ तालिम दिने गरिएको छ । सेवा दलका महानिर्देशक उपरथी रमीन्द्र क्षत्रीले आगामी वर्षदेखि तालिम दिने संख्या बढाएर ७ हजारभन्दा बढीलाई दिने लक्ष्य निर्देशनालयको रहेको बताए । तालिममा उत्कृष्टलाई भारत, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंकामा पनि पठाउने व्यवस्था रहेको जानकारी उनले दिए । ती देशका यस्तै तालिम लिएका विद्यार्थीहरू नेपालमा पनि तालिमका लागि आउने गरेका छन् ।
विद्यालय तहमा सुरु गरिएको सेवा दलको तालिम लिनका लागि अग्रिम आवेदन माग गर्ने गरिएको छ । हाल ४० हजारभन्दा बढी विद्यार्थीले तालिममा सहभागिता जनाउन फारम भरेको क्षत्रीले बताए । तालिम अवधिमा विद्यार्थीको पढाइलाई मुख्य प्राथमिकता दिइएको हुन्छ । विद्यार्थीलाई सेनाको शिक्षालयमा ल्याएर दिइने अन्तिम तीन साताको तालिम अवधिमा पनि सबै विषयको पढाइ हुने गरी व्यवस्था गरिएको हुन्छ ।
प्रकाशित : माघ ४, २०७४ ०७:१९