कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रिडी मेलामा घरेलु सामग्री

गुल्मी — बजारका सामग्रीभन्दा बढी मूल्य पर्ने, हेर्दा आकर्षक नदेखिँदा बिक्री हुनै छाडेका पूर्वी रुकुममा तयार हुने घरेलु सामग्रीमा यसपटक आकर्षण बढेको छ । आकर्षणसँगै बिक्री पनि बढेपछि ५ वर्षपछि व्यवसायी उत्साही भएका छन् ।

पूर्वी रुकुमको भुमे गाउँपालिका काँक्रीकी धनपुरा घले काम्ला र राडी बिक्री गर्न रिडी मेला आउन लागेको ७ वर्ष भयो । सुरुका २ वर्ष राम्रै व्यापार भए पनि त्यसपछिका हरेक वर्ष निराशमै बिते । ‘भेडाको ऊन कातेर एक वर्षमा हातैले बुन्दा ५० कम्बल तयार हुन्छन्,’ उनले भनिन्, ‘२५ वटा कम्बल बिक्री गर्न ल्याउँदा फर्काउँथ्यौं, तर यसपटक तेस्रो दिनमै सबै सकिए ।’

काँक्रीबाट धेरै व्यवसायी ८ दिनको पैदल दूरी पार गर्दै रिडी आउने गर्छन् । उनले ल्याएका ३२ कम्बलमध्ये बुधबारसम्ममा ६ मात्र बाँकी छन् । कम्बल बिक्रीबाट उनको आम्दानी ५६ हजारभन्दा बढी भयो । ‘राडी र घाँजीको हिसाब गरेकै छैन,’ उनले भनिन् ।

रिडी मेला कम्बलका लागि मात्र प्रख्यात होइन, मक्रर संक्रान्तीदेखि ५ दिन चल्ने मेलामा रुकुमका दुर्गम गाउँमा भेडाको ऊनबाट तयार पारिएका राडी, पाखी, स्विटर, टोपी र काँचो ऊन पनि पाइन्छ । त्यस्तै, खानका लागि ओखरको घाँजी, बदाम, गुँड र कन्दमूल पनि मेलामा बिक्रीका लागि ल्याउने गर्छन् । त्यो बाहेक बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँचीमा बाँसबाट बुनेर तयार पारिएका सुपा, डाला, थुन्से, भकारी, कपाल कोर्ने बाँसको काँइयो पनि मेलमा पाइन्छ । बुढापाकाले गण्डक स्नान गरेपछि आवश्यक घरेलु सामग्री किनेर लैजाने गरेकाले पनि रिडी मेला धर्मसँगै व्यापारका लागि पनि प्रसिद्ध हो ।

कृषिसँगै पूर्वी रुकुमका तकसेरा, लुकुम, कोल, मैकोट, काँक्रीलगायत दुर्गम गाउँमा भेडा नपाल्ने घरै छैनन् । एकै वडामा कम्तीमा २ सय भेडाको ऊन कातेर राडीपाखी बुनेर बिक्री गर्ने व्यवसायी छन् । गाउँबाट आउने उनीहरू घरेलु सामग्री, खाने खर्चदेखि दाउरासमेत पिठ्युँमा बोकेर रिडीमा आउने गर्छन् । पछिल्ला वर्ष स्थानीय युवा क्लबले मेला बढाएर ५ दिन गराउने र व्यावसायिक रूपमा पनि प्रयोग गर्न थालेपछि विदेशबाट आउने ब्लाङकेट र च्यादरले घरेलु सामग्रीको बिक्रीमा समस्या पार्ने गरेको छ । ‘सबै चाइनिज ब्लाङकेट खोज्न थाले,’ अर्का व्यवसायी रुकुम कोलका ७९ वर्षीय रामु पुनले भने, ‘पहिलाभन्दा यस वर्ष अलि बिक्री भयो ।’

यसपटक रिडी मेलामा बाग्लुङको ढोरपाटन नगरपालिकाका मनबहादुर श्रीपालीले ल्याएको ३५ किलोको स्थानीय खुकुरी र गिठीको काठबाट बनेका ठेकी, मदानीले पनि आकर्षण बढाएको छ । रुरु गाउँपालिका ३ थानपतिका यदुकण्ठ ज्ञवालीका अनुसार गिठीको काठका ठेकी दूध, महीका लागि राम्रो मानिन्छ । ‘अहिले गाउँमा यस्ता ठेकी पाइनै छोडे,’ उनले भने, ‘निकै धेरै वर्षपछि रिडी मेलामै फेला पारेँ ।’ रिडी मेला घरेलु सामग्रीका लागि प्रख्यात भएपछि पछिल्ला वर्षहरूमा यस्ता सामग्रीको बिक्रीमा कमी आएकाले समस्या हुने गरेको उनले बताए ।

पोहोरसम्म चाइनिज ब्लाङकेट बोकेर फर्कने भक्तजनले यसपटक कम्बल बोकेर फर्केको अलि बढी देखिएको स्थानीय व्यवसायी फर्सुराम पौडेलले बताए । रिडी मेलामा मक्रर संक्रान्तीका अवसरमा वनमै खनेर बिक्रीका लागि ल्याएको तरुल पाइने भए पनि त्यो यस पटक कतै नदेखिएको उनले बताए । त्यसले पनि यस वर्ष घरेलु सामग्रीको व्यापार बढेको उनले बताए । ३ दिनको मेलामा २२ करोड बढीको कारोबार भइसकेको मेला आयोजना र व्यवस्थापन गर्दै आएको रुरु प्रेmन्ड्स क्लबका अध्यक्ष रामलाल विकले बताए ।

स्याङ्जा महोत्सव हुने

स्याङ्जा– मालेमगरमा माघ २६ देखि पाँचौं स्याङ्जा महोत्सव हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव डेढ साता चल्नेछ । स्थानीयस्तरका कृषि र घरेलु उत्पादनसँगै पर्यटन प्रवद्र्धनका लागि गरिने महोत्सवमा विभिन्न प्रकार २ सय ५० वटा स्टल रहनेछन् । महोत्सवमा आउने दर्शकका लागि प्याराग्लाइडिङ र जहाजको व्यवस्था गरिने संघ अध्यक्ष विक्रान्तकुमार श्रेष्ठले बताए ।



मोबाइल किन्नेको भीड

लेखनाथ (कास)– पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय औद्योगिक व्यापार मेलामा मोबाइलतर्फ दर्शकको ध्यान खिचेको छ । पोखरा उद्योग वाणिज्य संघले मेलामा दोस्रो पटक मोबाइल मेला सामेल गरेको हो ।

मेलामा राखिएका स्टलमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएपछि मोबाइल किन्नेको भिड लागेको छ । प्रदर्शनी केन्द्रको डोमभित्र गरिएको मोबाइल मेलामा चर्चित ब्रान्डका मोबाइल छन् । सामसुङ, नोकिया, हुवाइ, भिभो, ओप्पो, गिमी, कलर्स, माइक्रोम्याक्स, वानप्लस, टेक्नो, आइटेल, सिजी र मोटोरोला ब्रान्डका मोबाइल बिक्रीमा राखिएका छन् । मेलामा बिहीबारदेखि मोबाइल एक्सचेन्ज अफर पनि समावेश गरिएको छ । मेलाअन्तर्गत डोममा राखिएका विभिन्न ब्रान्डका मोबाइल कम्पनीले पुरानो मोबाइल ल्याउनेलाई नयाँ दिने योजना सार्वजनिक गरेका हुन् ।

प्रकाशित : माघ ४, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?