१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मगर पर्वमा अरूको सद्भाव

हरि गौतम

रुकुम (पश्चिम) — बाँफीकोट गाउँपालिका ५, बडगाउँकी ७ वर्षीया रीतु शाहीले मगर समुदायको मुख्य पर्व यस वर्षको माघीमा बेहुलाको भूमिका निर्वाह गरिन् । पर्वको मुख्य आकर्षण र भूमिका पनि उनकै थियो । माघीअन्तर्गत मंगलबार भएको बेहुली पोल्ने कार्यमा उनको भूमिका मुख्य थियो ।

मगर पर्वमा अरूको सद्भाव

अघिल्लो माघीमा जेनिसा चन्दले बेहुलाको भूमिका सकुशल निर्वाह गरेकी थिइन् । परम्परादेखिको चलनलाई निरन्तरता दिने क्रममा रीतु र जानकी मात्रै होइन, ठकुरी समुदायकी बालिकाले यसरी अर्को समुदायबीचको सद्भाव कायम गर्न पुलको काम गर्ने गरेका हुन् । आफ्नो विशेष पर्व माघीमा बसोबास रहेको क्षेत्रका अन्य समुदायलाई पनि सहभागी गराउन मगर समुदायको यो तरिका अपनाएको हो ।

मगर समुदायको बेहुली पोल्ने प्रचलन भए पनि यसमा विशेष गरी ठकुरीले आफ्नो समुदायकी छोरीलाई बेहुला तथा बेहुलीको भूमिकामा पठाएर मगर समुदायको पर्वलाई सहयोग गर्दै आएका छन् । बडगाउँका अन्य समुदाय दलित, क्षत्रीले पनि माघीमा मगर समुदायलाई त्यसरी नै सघाउँदै आएका छन् । दलितले बाजागाजा, क्षत्रीले भोजभतेर पकाउने र ठकुरीले बेहुलो बनाउन सघाउँदै आएका छन् ।

माघी उक्त ठाउँको सन्दर्भमा मगर समुदायको मात्रै विशेष पर्व भनिए पनि बडगाउँमा भने यो पर्व सबैले मिलेर मनाउने चलन विकास भएको स्यार्पू बहुमुखी क्याम्पस प्रमुख तिलक पुनले बताए । ‘यो पर्व अब हाम्रो (मगर समुदायको) मात्रै रहेन । पुनले भने यसलाई हामी सबै मिलेर मनाउन थालेको लामो समय भइसक्यो ।’

पुनका अनुसार माघी मनाउने तयारीदेखि समापनसम्म बडगाउँका सबै समुदाय सँगसँगै हुने गर्छन् । मगर समुदायले विशेष ढंगले मनाउने यो पर्व अब सबैको सद्भावको पर्व भएको उनी बताउँछन् । माघी मनाउन चाहिने मकै संकलन, जाँड तथा रक्सी बनाउने, रक्सी संकलन, पात टिप्ने, टपरी गाँस्नेदेखि माघी हेर्न आउने सबै पाहुनालाई भात खुवाउनेसम्मको काम सबै समुदाय मिलेर गर्ने गरेको पुनले जनाए ।

बडगाउँमा रहेका एक सय १० परिवारमध्ये ६० मगर, ३५ अन्य र १५ घर दतिल समुदाय छन् । हरेक वर्षको माघीमा झैं यस वर्ष पनि मगर समुदायको साथै अन्य समुदायले माघी मनाएको स्थानीय मनु शाहीले बताए । ‘पहिलेपहिले मगर मात्रै रमाउँथे, अब त यसमा हामी सबै रमाउँछौं,’ शाहीले भने, ‘एक बोत्तल रक्सी, सय रुपैयाँ दाम, चामल, दाल, टपरी यी मगरको जस्तै हाम्ले नि बरोबर उठाउँछौं, नाच्छौं गाउँछौं, हामी एकै भएका छौं ।’ अन्य पर्वलाई वास्ता नगर्ने बडगाउँका मगर यस अवसरमा भने देशविदेशबाट पनि गाउँ फर्कन्छन् । बडगाउँका मगरका साथै अन्य समुदायका मान्छे पनि माघीमा अनिवार्य घर आउने मनु शाहीले बताए ।

पछिल्लो समय बडगाउँको माघीको दायरा बढाइएको छ । पहिले पहिले बेहुलाबेहुलीको बिहेमा मात्रै सीमित पर्वलाई केही वर्षदेखि माघी मेलाका रूपमा विकास गरिएको व्यवस्थापन समिति अध्यक्ष अनिल घर्तीले बताए । उनका अनुसार बेहुलाबेहुलीको बिहेपछि थप नाचागान कार्यक्रम गर्ने गरिएको छ । बाँफीकोट गाउँपालिका ५, बडगाउँ र ६ नम्बर वडा मग्मावासीले बगाई खोला पुगेर बेहुलाबेहुलीको बिहे गर्छन्, कोसेली साटासाट गर्छन् । बडगाउँले बेहुला बनाउँछ भने मग्माले बेहुली ल्याएर खोला झर्ने गर्छन् ।

प्रकाशित : माघ ४, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?