२२ सय सवारी कारबाहीमा

रुकुम (पश्चिम) — जिल्ला ट्राफिक प्रहरीले ६ महिना अवधिमा ११ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । गत साउन १ देखि पुस मसान्तसम्म ११ लाख ८० हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । नियमविपरीत चलाइएका सवारीलाई जरिवानाबापत उक्त राजस्व संकलन भएको हो ।

६ महिनामा ट्राफिक प्रहरीले २ हजार २ सय ६६ सवारीलाई कारबाहीको दायरामा ल्याएको थियो । ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भरतबहादुर भण्डारीले सदरमुकामसहित जिल्लाका अन्य ४ ठाउँका ट्राफिक प्रहरीले नियमविपरीत चलाइने र चल्ने सवारीलाई कारबाही गर्ने गरेको बताए । सडकको लेन मिच्ने, क्षमताभन्दा बढी सामग्री ढुवानी तथा यात्रु बोक्ने, कागजात साथमा नभएका, कागजात नै नभएका, कागजात नवीकरण नगरेका, मादक पदार्थ सेवन गरी सवारी चलाएका कारबाहीमा परेको प्रहरी नायब निरीक्षक भण्डारीले बताए ।

६ महिना अवधिमा सबैभन्दा बढी ५ सय १६ सवारीसाधनलाई गत कात्तिकमा कारबाहीको दायरामा ल्याइएको थियो भने राजस्व संकलन असोज महिनामा बढी छ । असोजमा २ लाख ६७ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । विगतको तुलनामा यस अवधिमा कारबाहीमा पर्ने सवारी र राजस्व दुवै बढेको बताइएको छ । गत वर्षको यही अवधिमा २ हजार १ सय ५९ सवारी कारबाहीमा परेका थिए । यसबाट ११ लाख ३५ हजार राजस्व संकलन भएको थियो । हरेक वर्ष सवारी बढ्ने क्रम नरोकिएकाले नियमविपरीत चल्नेको संख्या बढिरहेको छ ।

प्रकाशित : माघ ४, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?