जाजरकोटको भाइरल नियन्त्रणमा

जाजरकोट — जुनीचाँदेमा फैलिएको भाइरल प्रकोप ४ सातापछि नियन्त्रणमा आएको छ । बिरामी भेटिन छाडेपछि प्रभावित क्षेत्रबाट चिकित्सकसहितको स्वास्थ्य टोली सदरमुकाम फर्किएको छ । 

जुनीचाँदेमा बिरामी नदेखिएपछि स्वास्थ्यकर्मी सदरमुकाम फर्किएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । उपचारका लागि प्रभावित क्षेत्रमा २ सातासम्म ६ अस्थायी क्याम्प स्थापना गरिएको थियो । प्रभावित क्षेत्रमा ५ चिकित्सकसहित २४ स्वास्थ्यकर्मी परिचालित थिए । स्वास्थ्य संस्था र अस्थायी क्याम्पबाहेक स्वास्थ्यकर्मीले घरघरै पुगेर पनि उपचार गरेको नेपालीले बताए । उनका अनुसार झोलामा औषधि बोकेर बिरामी खोज्दै स्वास्थ्यकर्मी गाउँ पस्दा पनि कोही भेटिएनन् । बुधबारदेखि जुनीचाँदेका बडकुले, काभ्रा, कार्कीगाउँ, भैरव टोल, देशीपाटा, पाल्त, आली, मौगान, पराले, डाँडाकोट र स्याँलामा स्वास्थ्य सरसफाइ, पोषणलगायत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । जुनीचाँदेमा भाइरलको प्रकोप नफैलियोस् भनेर स्थानीय स्वास्थ्य संस्थामा आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको उपस्थिति बढाएको नेपालीले बताए । जुनीचाँदेका वडा १, २, ३ र ११ मा भाइरलबाट १४ जनाको मृत्यु भएको थियो । २ हजार १ सय बिरामीको उपचार गरिएको नेपालीको भनाइ छ । ‘सर्वसाधारणले सरसफाइमा ध्यान नदिए, स्वच्छ खानेपानी प्रयोग नगरे, धूवाँधूलो तथा जाडोबाट नबचे र पोषिलो खानेकुरा नखाए फेरि पनि प्रकोप फैलिन सक्छ,’ प्रमुख नेपालीले भने, ‘यहाँ धूवाँरहित चुलो वितरण, शुद्ध खानेपानी व्यवस्था, शौचालय निर्माण तथा प्रयोग आवश्यक देखिएको छ । जसका लागि स्थानीय तहका जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने देखिन्छ ।’

प्रकाशित : माघ ४, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?