१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

७० प्रतिशत सीमास्तम्भ जीर्ण

पवन यादव

रौतहट — नेपाल–भारत सीमा क्षेत्रका करिब ७० प्रतिशत सीमास्तम्भ जीर्ण भएका छन् । दुवै देशको संयुक्त प्राविधिक टोलीले निरीक्षण गर्दा यस्तो तथ्य भेटाएको हो । स्थानीयले दशगजालाई खेत र सडकका रूपमा प्रयोग गर्दा सीमास्तम्भ फुटाएको निष्कर्ष टोलीले निकालेको छ ।

७० प्रतिशत सीमास्तम्भ जीर्ण

७० प्रतिशतभन्दा बढी स्तम्भ जीर्ण भएर कामै नलाग्ने अवस्थामा पुगेको देहरादुनस्थित भारतीय सर्वेक्षण विभागका सर्भेयर धनसिंह असवालले बताए । ‘मझौला तथा साना सीमास्तम्भ ड्यामेज भएका छन्,’ उनले भने, ‘तिनलाई फेर्नैपर्छ ।’ ती स्थानमा ३ पाटे सीमास्तम्भ गाडिने उनले बताए । जंगे पिल्लरको अवस्था भने तुलनात्मक रूपमा राम्रो रहेको टोलीले जनाएको छ । बाढीको कटानले पनि केही स्तम्भ हराएका छन् । नेपाल र भारत दुवै देशका किसानले दशगजा मिचेर खेती गरेको भेटिएको छ । नेपालीभन्दा बढी भारतीय नागरिकले दशगजा अतिक्रमण गरेको पाइएको नापी विभाग काठमाडौंका सर्भेयर राहुलकुमार मिश्रले बताए । ‘धेरै स्थानमा दशगजा खेतमा परिणत भएको छ,’ उनले भने, ‘ठाउँठाउँमा बस्ती र सडक निर्माण गरिएको छ ।’ टोलीले २ दिन लगाएर रौतहटसँग सीमा जोडिएको ३२ किमि क्षेत्रमा निरीक्षण गरेको थियो ।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख एसपी प्रेमराज पोखरेलले सशस्त्रले सीमामा संयुक्त सुरक्षा गस्ती र मासिक रूपमा सीमास्तम्भको अवस्था अपडेटको काम गरिरहेको बताए । रौतहट र भारतीय सीमा छुट्याउन साना–ठूला गरी १ सय ६२ वटा सीमास्तम्भ छन् । तीमध्ये १७ वटा हराएका छन् । दुवै देशका प्राविधिक टोलीले मंंगलबारदेखि संयुक्त रूपमा रौतहटको पूर्वी सीमादेखि निरीक्षण थालेका थिए ।

भारतको देहरादुनमा भएको सर्भे अफिसियल्स कमिटी (एसओसी) को सातौं बैठकमा तय कार्यक्रम अनुसार दुवै देशका सर्वेयर सम्मिलित ४/४ वटा संयुक्त टोली मंसिर ४ देखि भारतीय सीमासँग जोडिएका नेपालका २६ जिल्लामा खटिएका छन् । यसअघि सन् २००६ मा संयुक्त रूपमा सीमास्तम्भ अनुगमन र निरीक्षण गरिएको थियो ।

प्रकाशित : माघ ४, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?