१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै

अमृता अनमोल

बुटवल — विकास, पूर्वाधार र उद्योग व्यापारमा फड्को मारेको रुपन्देही जिल्ला शिक्षामा पनि राजधानीसँग प्रतिस्पर्धामा उत्रन थालेको छ । शिक्षालयको संख्यासँगै गुणस्तरले धेरै विद्यार्थीलाई तानेको छ । लगातार एसईईमा उत्कृष्ट विद्यार्थी बनाएर विद्यालय शिक्षामा राजधानीका नाम चलेका विद्यालयलाई टक्कर दिएको छ । पढ्नका लागि राजधानी जाने विद्यार्थी स्वाट्टै घटेका छन् । 

यस्तोमा विद्यालय शिक्षा व्यवस्थापनको जिम्मा पाएका स्थानीय तह अझ गुणस्तरीय कसरी बनाउने भन्ने अभ्यासमा छन् । शैक्षिक हब बनेको बुटवलमा स्थानीय सरकारले प्रादेशिक विश्व विद्यालय बनाउने योजना अगाडि सारेको छ ।


चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ अगाडि ल्याएको यो योजना कार्यान्वयनमा लैजान बुटवल उपमहानगरपालिका अहिले तयारीमा जुटेको छ । ‘विभिन्न संकाय खोल्न करिब २ सय बिगाह त जग्गा मात्रै चाहिन्छ,’ नगरप्रमुख शिवराज सुवेदीले भने, ‘पहिले जग्गाको जोहो गर्न छलफल र गृहकार्यमा छौं ।’


विज्ञहरूले सबैभन्दा उपयुक्त जग्गा बुटवल १२ मा रहेको चारपाला सामुदायिक वन क्षेत्र बनाएपछि उपमहानगरपालिका अहिले स्थानीयसँग जग्गा प्राप्तिका लागि छलफलमा छ ।

बुटवलमा उच्च शिक्षा पढाइ हुने पश्चिम क्षेत्रकै ठूलो बुटवल बहुमुखी क्याम्पस र सामुदायिक स्तरबाट सञ्चालित लुम्बिनी वाणिज्य क्याम्पस छन् । यी दुवै क्याम्पस छुट्टै विश्वविद्यालय बन्ने तयारीमा छन् । प्राविधिक पढाइका लागि देशकै नमुना कोरिया नेपाल प्राविधिक शिक्षालय र बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) छन् । उपमहानगरपालिकाले प्राविधिक पढाइ हुने अझै बढी शिक्षालय सञ्चालन गर्ने योजना अघि सारेको छ । कम विद्यार्थी हुने विद्यालयलाई गाभ्ने र शिक्षक दरबन्दी मिलाउने अभ्यासका लागि वडाध्यक्षहरू अनुगमनमा खटेका छन् । ‘शैक्षिक र पूर्वाधार दुवैले उत्कृष्ट बनाउनेछौं,’ नगरप्रमुख सुवेदीले भने, ‘शिक्षकको सेवा सुविधालाई पनि कमी हुन दिने छैनौं ।’


सैनामैना नगरपालिकाले नगरमा रहेको सहिद नारायण पोखरेल रामपुर क्याम्पसलाई आंगिक बनाउने तयारी थालेको छ । तल्लो तहबाटै सिकाइ प्रभावकारी बनाउन भन्दै सबै बालविकास केन्द्रमा स्मार्ट बुकको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘१७ लाख खर्च गरे सबैका हातमा स्मार्ट बुक पुग्ने रहेछ,’ नगरप्रमुख चित्रबहादुर केसीले भने ।


छिमेकी तिलोत्तमा नगरपालिकाले उपप्रमुख जागेश्वरी चौधरीको संयोजनमा शिक्षा नियमावली बनाउँदै छ । सामुदायिक र संस्थागत विद्यालयबीच एकरूपता ल्याउन नगरपालिकाले शिक्षकलाई संयुक्त तालिम दिने नगरपालिकाको तयारी छ । नगरप्रमुख वासुदेव घिमिरेले सामुदायिक विद्यालयमा सिकाइ प्रभावकारी बनाउन दरबन्दी मिलान गर्ने र कम विद्यार्थी भएका विद्यालयलाई गाभ्ने तयारी थालेको बताए ।


अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले पढाइसँगै विद्यार्थीलाई दिनुपर्ने अनुशासन र नैतिक शिक्षालाई पनि जोडेर स्थानीय तहले नियमावली बनाउनुपर्ने बताए ।

प्रकाशित : माघ ५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?