कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दशगजा मिचेर बस्ती

कमल पन्थी

गुलरिया — कालाबन्जर र रत्नापुर गाउँसित जोडिएको नेपाल–भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ । भारतीय सडक विभागले सीमा स्तम्भ ६१ स्थित दशगजामा पक्की सडक निर्माण गरेको छ । भारतीय नागरिकले पनि घर निर्माण गरी निर्बाध ढंगले व्यापार गर्दै आएका छन् ।

दशगजा मिचेर बस्ती

प्रशासनले यसबारे खोजी नगरेको गुनासो स्थानीयको छ । भारतीय नागरिक सपन रायले दुई दशक अघिबाट यहाँ घर र सडक निर्माण भएको बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक अधिकारीले सीमा स्तम्भ ६१ को दशगजामा अतिक्रमण भएको स्विकारे । नेपाल–भारत संयुक्त नापी टोलीले सीमा समस्या समाधान गर्ने उनले बताए । अतिक्रमित क्षेत्रनजिक भारतीय सुरक्षाकर्मीको तैनाथी छ । नेपाली सुरक्षाकर्मी भने छैनन् ।

०३७ सम्म सीमामा बाक्लो जंगल थियो । अहिले त्यहाँ अक्रिमण गरेर एक किमि उत्तरतर्फ दशगजा कायम गरिएको गुलरिया नगरपालिका ६ का एरसाद अहमद अन्सारीले बताए । नेपाल–भारत सीमा क्षेत्रका अधिकांश स्तम्भ टुटफुट भएका छन् । केही ठाउँमा अतिक्रमण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मुख्य सीमा स्तम्भमध्ये एउटा बबई नदीले बगाएको छ । अर्को हराएको छ । तीनवटा मुख्य सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् । यस्तै ९ वटा सहायक सीमा स्तम्भ खोलाले बगाएको छ । १ सय ७ मध्ये २९ साना सीमा स्तम्भ हराएका छन् । ३३ वटा खोलाले बगाएको र २० वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् ।

पछिल्लो पटक गुलरिया नगरपालिकाको थपुवा गाउँस्थित फत्ता थारूको १० कट्ठा, विश्राम थारूको २ बिघा ७ कट्ठा, खटिक थारूको १४ कट्ठा र रामदत्त थारूको १४ कट्ठा जग्गा भारतीय पक्षले अतिक्रमण गरेको स्थानीयको दाबी छ । धनी पुर्जा भए पनि जग्गा भने भारततर्फ परेको उनीहरूले बताए । सीमा स्तम्भ मर्मत र नयाँ निर्माणका लागि नेपाल–भारतका संयुक्त सीमा नापी टोली चाँडै खटिने प्रजिअ नारायणप्रसाद भट्टराईले बताए । ‘कैलाली, कञ्चनपुर र दाङमा काम सकेपछि टोली बाँके र बर्दियामा आउनेछ,’ उनले भने ।

प्रकाशित : माघ ७, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?