१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आधा शताब्दी सुकेको पोखरी पुनर्निर्माण सुरु

भक्तपुर — भक्तपुर नगरपालिका १ का ५९ वर्षीय पुरुषोत्तम लोचन श्रेष्ठ सानो छँदा यो पोखरीमा दबदबे हिलो थियो । उनले हेर्दा हेर्दै यो सुक्यो । लामो समय चउर भएको यो पोखरीले अब नवजीवन पाउने भएको छ । भाज पुखु भनेर चिनिएको यसको पुरानै शैलीमा पुनर्निर्माण हुने भएपछि इतिहासविद्समेत रहेका श्रेष्ठ खुसी छन् । 

काठमाडौंको रानीपोखरीको मौलिकता मासिने गरी पुनर्निर्माण भइरहेका बेला भक्तपुरमा चाहिँ झन्डै आधा शताब्दी सुकेको पोखरीलाई कसरी पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भनेर योजना बनेको छ । ‘काठमाडौंले भक्तपुरबाट सम्पदा संरक्षणमा सिक्नुपर्ने रहेछ,’ सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरले भइरहेको पुनर्निर्माण अध्ययनपछि भने, ‘यहाँको मोडलमा काम गर्न सके काठमाडौंका सम्पदा पनि जोगिने थिए ।’ यो पनि रानीपोखरीकै स्वरूपमा छ । रानीपाखरीमा पश्चिमतिरबाट यमलेश्वर महादेवको मन्दिरमा पुग्न पुल छ । यहाँचाहिँ दक्षिणतिरबाट पुल छ । बीचमा मन्दिर छ । मन्दिरचाहिँ केको थियो भनेर पत्ता नलागेको इतिहासविद् श्रेष्ठ बताउँछन् । ‘हामी सानो छँदैदेखि भग्नावशेष थियो,’ उनी भन्छन्, ‘मन्दिर केको भनेर पत्ता लगाउन सकिएको छैन ।’

श्रेष्ठले हेर्दाहेर्दै भक्तपुर क्याम्पसअगाडिको यो पोखरी झाडीमा परिणत भयो । पोखरी पुनर्निर्माण गर्ने क्रममा यहाँको झाडीमा आगो लगाइएको छ । पोखरीलाई प्राचीन शैलीमा लैजान कालोमाटो राख्ने काम भइरहेको छ । ‘यसको पनि दक्षिण पश्चिममा निकास थियो,’ श्रेष्ठ भन्छन्, ‘वर्षाको पानी अलिअलि बस्थ्यो । यहाँ हामीले देख्दा माछा पनि थिए । छिपछिपे पानीमा हामी पौडी पनि खेल्थ्यौं । पोखरीको बीचसम्म पानी आउँथ्यो ।’ यो पोखरीको प्राचीन प्रविधि प्रयोग गरी बनेको हो । श्रेष्ठका अनुसार प्रताप मल्लले काठमाडौंमा रानीपोखरी बनाएपछि त्यही स्वरूपमा भाजु पुख बनेको हो । यसको निर्माण जितामित्र मल्लले गरेका हुन् । रानीपोखरी बनेको २ वर्षपछि विसं १७२९ मा भक्तपुरको राजा भएका हुन् जितामित्र । उनी राजा हुँदा काठमाडौंमा प्रताप मल्ल र ललितपुरमा श्रीनिवास मल्लको शासन थियो ।

भक्तपुर नगरपालिकाले जीवित इतिहास मानिने यी सम्पदालाई जस्ताको तस्तै पुनर्निर्माण गर्ने योजना बनाएको छ । नगरपालिका प्रमुख सुनील प्रजापतिका अनुसार सम्पदा पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर नगर अघि बढेको छ । ठेकेदारलाई सम्पदा पुनर्निर्माणको जिम्मा दियो भने नासिदिन्छन् भन्ने मान्यताले नगरपालिकाले ज्यालामा काम लगाइरहेको छ । ‘ठेक्कापट्टामा दिनु भनेको सम्पदा सक्नु हो,’ प्रजापति भन्छन्, ‘नगरपालिकाले बनाएको कुनै पनि सम्पदा ठेक्कामा छैन । हामी ठेक्कामा काम लगाउँदैनौं ।’

केही समय सुकेको यो पोखरी २०५३ मा जीर्णोद्धार गरिएको थियो । सम्पदा पुर्खाले सिर्जेको सम्पत्ति भएकाले यसलाई जस्ताको तस्तै आउँदो पुस्तालाई हस्तान्तरण गर्ने गरी काम गर्ने नगर प्रमुख प्रजापति बताउँछन् । ‘भक्तपुरको रानीपोखरी, भाज पोखरी, गुह्य पोखरीलगायतलाई पुनर्निर्माण गर्ने योजना छ,’ उनले भने, ‘भाज पुखु पुनर्निर्माण सुरु भइसकेको छ । रानीपाखरीमा पनि सफाइ गरिसकेका छौं । त्यसलाई कसरी अगाडि बढाउने भनेर सरसल्लाह भइरहेको छ । मठ मन्दिर, पौवा, ढुंगेधारा, द्ध्य छें सँगसँगै पोखरी संरक्षण गर्ने योजना बनाएका छौं ।’

अनुसन्धानकर्ता सन्ध्या पराजुलीका अनुसार उपत्यकामा १ सय १८ पोखरी छन् । त्यसमध्ये सबभन्दा बढी ललितपुरमा र सबभन्दा कम काठमाडौंमा छन् । पराजुलीका अनुसार काठमाडौंमा २७, ललितपुरमा ५१ र भक्तपुरमा ४० पोखरी छन् । यीमध्ये कोही सुक्खा छन् । कोहीमा भवन बनेका छन् । कोही मैदान भएका छन् सिद्धपोखरी, च्यामसिहं पोखरी, कमलपोखरी, जेला, ग्वङग, इनाचो, व्यास, तौमढी, भण्डारखा, तेख्वच्व, तेखा, यालाछें व्यासी, न पोखरी, तेखा पोखरी, टिबुक्छेलगायत यहाँका मुख्य पोखरी हुन् । यीमध्ये भाजु पोखरी सुक्खा अवस्थामा छ भने डुइमाखु पोखरी धाप अवस्थामा पुगेको छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?