२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मन्दिरको शैलीमा विज्ञबीच नै विवाद

रानीपोखरी पुनर्निर्माण प्रतिवेदन
प्रताप मल्लकालीन शिखर शैली कि पछिल्लो समयको गुम्बज भन्नेमा कुरा मिलेन

काठमाडौँ — रानीपोखरी पुनर्निर्माणका लागि सुझाव दिन बनाइएको विज्ञ समितिले आइतबार काठमाडौं महानगरपापलिकाका मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझायो । १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी पुस १३ मा बनेको समितिले सर्वसम्मत प्रतिवेदन भने बुझाउन सकेन ।

मन्दिरको शैलीमा विज्ञबीच नै विवाद

प्रताप मल्लकै पालाको प्रविधि, निर्माण सामग्री र त्यही स्वरूपमा बनाउने गरी प्रतिवेदन दिने अधिकारसहित समिति बनेको थियो । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर पनि प्रताप मल्लकै पालाको शैलीमा बनाउने विज्ञले बताएपछि पुरातत्त्व विभागबाट सहभागी ३ विज्ञले असहमति जनाउँदै प्रतिवेदनमा हस्ताक्षर गर्न मानेनन् । पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णु कार्कीको संयोजकत्वमा काठमाडौं महानगरपालिका, पुरातत्त्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ११ विज्ञ समितिमा सहभागी थिए । तीमध्ये पुरातत्त्व विभागका सम्पत घिमिरे, रामबहादुर कुँवरलगायतले प्रताप मल्लकै शैलीमा मन्दिर बनाउने सुझावमा असहमति जनाएका हुन् ।


रानीपोखरीको अहिले भएको शैली गुम्बज हो । प्रताप मल्लको पालामा चाहिँ यो ग्रन्थ कुट (शिखर) शैलीमा भएको प्रमाण भेटिएको कार्की बताउँछन् । ‘यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रस्ट हुन्छ । उक्त चित्र सन् १८४५ फेब्रुवरीमा तत्कालीन प्रुसिया देशका राजकुमार वाल्डमार नेपालमा घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो,’ कार्कीले भने, ‘उनीभन्दा १ सय २४ वर्षअघि नेपाल आएका इटालीका जेस्विट्इपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा वर्णनले पनि पुष्टि गर्छ ।’


सन् १८५० मा ब्रिटिस रेसिडेन्सीमा सर्जन भएर खटिएका एचए ओल्डफिल्ड १८५० देखि १८६३ सम्म नेपालमै बसेका थिए । उनले दुई भागमा ‘स्केचेज फ्रम नेपाल’ नामको पुस्तकसमेत लेखेका थिए । उनले पनि रानीपोखरीबारे महत्त्वपूर्ण कुरा गरेको कार्कीले बताए । उनले रानीपोखरीको बीचमा भएको, त्यो ‘अत्यन्तै सुरम्य वस्तु’ भएको, जसलाई जंगबहादुरले सन् १८५१ मा भत्काई इँट्टा र प्लास्टरको कुरूप संरचना बनाएको लेखेका छन् । ओल्डफिल्डको यस बयानले रानीपोखरीबीचमा रहेको मन्दिरलाई डा. डिल्लीरमण रेग्मीले तीनतले छाने शैलीको मन्दिर भनेका छन् । मेरी स्लसरले परम्परागत छाने शैलीको मन्दिर उल्लेख गरिएको कार्की बताउँछन् । जंगबहादुरले निर्माण गर्न लगाएको मन्दिर विसं १९९० को महाभूकम्पले क्षति पुर्‍याएकाले अहिलेको शैलीमा जुद्धशमशेरले पुनर्निर्माण गर्न लगाएका थिए । उनले जंगबहादुरले निर्माण गर्न लगाएको शैलीभन्दा केही भिन्न गुम्बजाकार शैलीको शिखर मन्दिर निर्माण गर्न लगाएका थिए । उनले मन्दिरको पुनर्निर्माणका साथसाथै पोखरीको गारोलगायत क्षेत्रमा पनि मर्मत गर्न लगाई पोखरी संरक्षण गरेको हालको पुरातात्त्विक उत्खननबाट स्पष्ट भएको कार्की बताउँछन् । ‘उत्खननबाट पेटीमा प्रयोग भएका जुद्ध अंकित विसं १९८९ लेखिएका इँटाहरूबाट स्पष्ट हुन्छ,’ कार्की भन्छन्, ‘विसं १९९० को महाभूकम्पलगत्तै रानीपोखरीको जीर्णोद्धारलाई पनि पहिलो प्राथमिकता दिएको पाइन्छ । रानीपोखरी जीर्णोद्धार आरम्भ उनले विसं १९८९ का जगेडा इँटाहरूबाट निर्माण गरेको देखिन्छ । जसले भूकम्पपछि रानीपोखरीको जीर्णोद्धार कार्य तत्काल सुरु गरेको प्रमाणित हुन्छ ।’


पुरातत्त्व विभागका प्रवक्ता तथा विज्ञ समिति सदस्य रामबहादुर कुँवरले संस्कृतिमा आएको परिवर्तन स्विकार्दै राणाकालमा जे बनेको थियो, त्यही शैलीमा पुनर्निर्माण गर्ने विभागको मान्यता रहेको बताए । ‘कि संस्कृतिमा परिवर्तन हुँदैन भन्नुपर्‍यो,’ प्रवक्ता कुँवरले भने, ‘अरू विषयमा हाम्रो सहमति छ । सँगै बसेर सल्लाह दिएका छौं । तर मन्दिरलाई प्रताप मल्लको शैलीमा बनाउने विषयमा मात्रै हाम्रो असहमति हो ।’


पुरातत्त्वको मान्यतालाई संयोजक कार्कीले आपत्ति जनाए । ‘कसैले बनाउन सक्दैन भनेर ठेक्का लिएको छ भने म बनाएर देखाइदिन्छु । जिम्मेवारी दिए हुन्छ,’ कार्कीले भने ।


रानीपाखरीमा पोखरीको भाग महानगरपालिकाले र मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको छ ।


रानीपोखरीमा देखिएको विवादको निरुपण गर्न समितिले केही सुझाव पनि दिएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले समितिको सुझावअनुसार काम गर्ने प्रतिक्रिया दिए । ‘चुनावका बेलामा भएकाले यहाँ कसरी बनाए भन्ने बुझ्न पाइएन,’ शाक्यले भने, ‘रानीपोखरीलाई लिएर आन्दोलन हुन थाल्यो । आगो सल्किएपछि निभाउनुभन्दा आगो लाग्नै नदिनु राम्रो भनेर निर्माण रोक्यौं । विज्ञको प्रतिवेदन आएको छ । केही विवाद भए छलफलबाटै टुंगोमा पुर्‍याउँछौं । रानीपोखरीले धेरै पाठ सिकायो ।’

प्रकाशित : माघ ८, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?