२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हत्या आरोपमा दुई पक्राउ

बुटवल — देवदहका युवा व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नवलपरासीको सुनवल नगरपालिका–७ अस्नैयाका ३६ वर्षीय पदम चौधरी र सुनसरीको डुमराहा बस्ने ३६ वर्षीय महिनारायण चौधरी पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले आइतबार बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्‍यो ।

पदमलाई पोखरा र महिनारायणलाई चितवनबाट पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । ‘उनीहरूलाई मुख्य अभियुक्त मनोज पुनले फोनमार्फत ३ लाख ५० हजार दिने सहमतिमा हत्याका लागि खटाएका थिए,’ उनले भने । पुनले २ लाख ५० हजार हुन्डीमार्फत पोखरा पठाएका थिए । बाँकी रकम लिने क्रममा प्रविधिको प्रयोग गरी उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनीहरूबाट हत्यामा प्रयोग भएको लु४प १४ नम्बरको मोटरसाइकल, ९ एमएम क्यालिबरको एक थान इटालियन पेस्तोल, दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ९ राउन्ड गोलीलगायत सामग्रीसमेत बरामद भएको प्रहरीले जनायो । ती हतियार गत वर्ष युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्या घटनामा समेत प्रयोग भएको एसपी ज्ञवालीले दाबी गरे । दुवै जनालाई जिल्ला अदालतबाट आइतबार म्याद थप गरी हिरासतमा राखिएको छ ।

हत्याका मुख्य योजनाकार मानिएका पुन र विवेक (थर नखुलेका) दुई जना भने फरार छन् । आफू मलेसियामा रहेको बताउने मनोजले फोनमार्फत रकम दिएर हत्या गर्न अह्राएको र विवेक भने घटनामा प्रत्यक्ष संलग्न भएको प्रहरी दाबी छ ।

पक्राउ परेका पदमले सुराकी, हतियार राखिदिने र आउजाउ र लुक्न सहयोग गरेको प्रहरीले जनायो । उनले ३ महिनादेखि वसन्तको दैनिकी पत्ता लगाउन पछ्याउने गरेको र त्यसको सूचना मनोजलाई दिने गरेका थिए । भारतीय नम्बरको मोटरसाइकल ल्याउने र त्यसमा नेपाली नम्बर प्लेट राख्ने काम पनि उनैले गरेको प्रहरीले जनायो ।

हत्याको दिन पुस २१ गते सुरुमा पदम गएर फर्निचर उद्योगमा वसन्त आए/नआएको पत्ता लगाएका थिए । त्यसपछि उनकै खबरमा महिनारायण र विवेक एउटै मोटरसाइकलमा गएको प्रहरीले जानकारी दिएको छ । ‘सुरुमा महिनारायणले गोली हानेका थिए । त्यो नलागेपछि विवेकले गोली प्रहार गरेर भागेका थिए । हत्यापछि मेडिकल कलेजको पछाडिबाट भूपू सैनिक कार्यालय हुँदै रोहिणी खोला नजिक आएर हतियार फालेका थिए,’ प्रहरीले पत्रकार सम्मेलनमा भन्यो, ‘त्यसको केही पर लुगा फेरेर भलबारी हँुदै तीनजना तीनतिरको बाटो लागेका थिए ।’

प्रकाशित : माघ ८, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?