कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

विवादित सीमाक्षेत्रमा विद्यार्थी 

नयाँ पिल्लर गाड्ने काम बन्द गरी स्ट्रिप नक्साको सत्यापन गराउन माग
भूषण यादब

वीरगन्ज — नयाँ सीमा स्तम्भ गाड्दा नेपाली भूमि भारतीय क्षेत्रमा परेपछि स्थलगत अवलोकनका लागि दुई विद्यार्थी संगठनका नेता–कार्यकर्ता वीरगन्ज आएका छन् ।

विवादित सीमाक्षेत्रमा विद्यार्थी 

‘सीमा रक्षा तथा जागरण अभियान’ अन्तर्गत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष नवीना लामा र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङलगायत पदाधिकारीसहितको टोली आएको हो ।

उनीहरूले आइतबार वीरगन्ज महानगरपालिका–१ बजार छपकैयास्थित नेपाल–भारत सीमाको स्थलगत अवलोकन गरे । टोलीले सोही ठाउँका स्थानीयसँग अन्तरक्रियासमेत गरेको थियो । टोलीले स्थलगत निरीक्षणमा मुख्य सीमा स्तम्भ ३९१, ३९२ र ३९३ सम्म करिब एक सय ३८ फिटका दरले ३ किलोमिटरसम्म नेपाली भूमि मिचिएको पाइएको जनाएको छ ।

विज्ञको सल्लाह र स्थानीयको लालपुर्जा अध्ययन गरी टोलीले हालका लागि नयाँ

पिल्लर गाड्ने काम बन्द गरी स्ट्रिप नक्साको सत्यापन गराउन नापी टोलीलाई आग्रह गरेको छ । नेपाल–भारत सीमा सर्वेक्षण टोलीले १८१६ मा इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिपछि बनेको नक्साका आधारमा स्ट्रिप नक्सा बनाएको दाबी गर्दै आएको छ ।

ऐतिहासिक आधार र भूमिको भोगचलनलगायत प्रमाणित आधारलाई किनारा लगाई असमान सन्धि र भारतीय पक्षको दबाबमा निर्माण गरिएको स्ट्रिप नक्साको अविलम्ब पुनरावलोकन गर्न दुवै संगठनका अध्यक्षले आग्रह गरेका छन् । उनीहरूले स्ट्रिप नक्साको वैधानिकता प्रमाणीकरणको मागसमेत राखे ।


नापी विभागका निर्देशक अनिल मरासिनीले स्ट्रिप नक्सा १८१६ को सन्धिका आधारमा तयार पारिएको र जग्गाधनीलाई २०२२ को नापीपछि सरकारले लालपुर्जा वितरण गरेकाले समस्या सिर्जना भएको बताए । ‘१८१६ ताका नदीको बहावअनुसार स्ट्रिप नक्सा तयार गरी नयाँ पिलर गाड्ने कार्य भइरहेको छ,’ उनले भने, ‘तर, लालपुर्जाचाहिँ २०२२ मा नदीको स्थानका आधारमा नापजाँच गरी वितरण गरिएको हो ।’

नदीले बहाव परिवर्तन गरेकाले समस्या सिर्जना भएको उनले बताए । ‘वृद्धवृद्धाका अनुसार अहिलेको ठाउँभन्दा अझ सय मिटर दक्षिणतिर नदी बग्थ्यो,’ क्रान्तिकारी अध्यक्ष तामाङले भने, ‘स्ट्रिप नक्सा नै गलत देखिएको छ, अहिलेको खोलालाई नै आधार मानिएको देखियो ।’ नियोजित तरिकाले नेपाली भूमि मिच्ने हिसाबले स्ट्रिप नक्सा तयार पारिएको आशंका बढेको र यसमा कर्मचारीको लाचारी देखिएकाले दुवै देशको उच्चस्तरीय टोलीले नक्सा पुनरावलोकन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अनेरास्ववियु अध्यक्ष लामाले पुराना सन्धिहरू असमान रहेकाले नै दुई देशका प्रबुद्ध समूहबीच छलफल भइरहेको बताइन् । ‘अरूको भूमि हामीलाई चाहिँदैन,’ उनले भनिन्, ‘तर, हाम्रो भूमि पनि अरूलाई दिन पाइँदैन । गलत कागजातका आधारमा नक्सांकन गर्नु भएन ।’

स्थानीय रवीन्द्र कोइरीले विगत दुई सातादेखि सीमा सर्वेक्षण टोलीले अल्झाएर राखेको आरोप लगाए । ‘सर्वे टोलीको नियत सफा देखिएन,’ उनले भने, ‘मेरो लालपुर्जावाला जग्गा मेरै हो कि भारतको हो, प्रस्ट पार्न सकेका छैनन् ।’

स्थानीयले नेपालतिर भारतको भूमि पर्दा तत्काल पिलर गाड्ने तर नेपाली भूमि भारततिर पर्दा पिलर नगाड्ने प्रवृत्ति देखिएको बताए । ‘नेपालीले वर्षौंदेखि भोगचलन गरी नेपाल सरकारद्वारा वितरित लालपुर्जासमेतका प्रमाण हेर्दा करिब ५० बिघाभन्दा बढी नेपाली भूमि मिचिएको स्पष्ट देखिन्छ,’ स्थलगत अनुगमनपछि दुवै संगठनका अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुगौली सन्धिताकाको नदी सिमानाको हवाला दिएर तयार गरिएको स्ट्रिप म्याप (सीमा नक्सा) नै गलत रहेको र त्यसैमा गम्भीर राष्ट्रघात भएको टोलीले ठहर गरेको छ । कूटनीतिक माध्यमबाट सीमा समस्याको स्थायी समाधान खोज्न सरकारलगायत सबै सरोकारवाला निकायसँग माग पनि गरिएको छ । दुई देशको सिमानामा हराएको स्तम्भको ठाउँमा नयाँ स्तम्भ गाड्ने, जीर्ण भएकालाई मर्मतसम्भार गर्ने क्रममा वीरगन्ज महानगरपालिका १ मा नेपाली भूभाग मिचिएपछि स्थानीयले विरोध गरिरहेका छन् ।

प्रकाशित : माघ ८, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?