सहमति खोज्न दौडधुप

संघीयता कार्यान्वयन
प्रदेश संरचना नयाँ र पहिलो अभ्यास भएकाले सबैको सहमतिमा बैठक डाकिने 
अमृता अनमोल

बुटवल — आइतबार प्रदेश सदस्यहरूलाई शपथ खुवाउन व्यस्त प्रदेश प्रमुख उमाकान्त झा सोमबार भने दलीय छलफल र संवादमा जुटे । प्रदेश संरचना नयाँ र पहिलो अभ्यास भएकाले सबैको सहमतिमा प्रदेश बैठकको मिति तोक्न दौडधुप गरिरहेका हुन् । 

सहमति खोज्न दौडधुप

‘दलका प्रतिनिधिसँग छलफल र सल्लाहमा अगाडि बढ्न चाहेको छु,’ उनले भने । प्रमुख झाले एक साताभित्र पहिलो बैठक बोलाउने तयारीमा जुटे पनि समय बताउन चाहेनन् । प्रदेश प्रमुखलाई सहज बनाउन ज्येष्ठ सदस्य तथा तत्कालका लागि सभामुख बनेका बलदेव शर्मा पोखरेल पनि दिनभरजसो प्रदेश प्रमुखकै कार्यालयमा व्यस्त थिए ।

‘नीति, विधि र सहमतिमा छिट्टै दिन तोक्नेछौं,’ उनले भने । संसद् सचिवालय बुटवल उद्योग वाणिज्य संघमा तोकिएकाले त्यही हलमा संसद्को पहिलो बैठक बस्ने प्रमुख झाले बताए । त्यसपछि सरकार गठन प्रक्रिया सुरु हुने र यसका लागि स्थानीय स्रोत साधन र पूर्वाधार जे छ त्यसमा रहेर काम अघि बढाउने उनको भनाइ छ ।

पूर्वाधार खोजीमा प्रशासन

रूपन्देहीलाई प्रदेशको अस्थायी मुकाम तोकिएपछि स्थानीय प्रशासन पूर्वाधार खोजीमा जुटेको छ । बुटवल उद्योग वाणिज्य संघलाई सचिवालय र रूपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । मुख्यमन्त्री र मन्त्री कार्यालय तथा निवासका लागि भवन टुंगो लागिसकेको छैन ।

निवास व्यवस्थापन नहुँदा प्रदेश प्रमुख उमाकान्त झा र सचिव सनत दुवाडी डिभिजन सडक कार्यालयको अतिथिगृहमा बसिरहेका छन् । ‘आन्तरिक व्यवस्थापनमा छौं, केही दिनमै टुंगो लगाउँछौं,’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भने । अस्थायी मुकाम तोकेलगत्तै प्रशासनको व्यस्तता बढेको छ । बढीमा १५ दिनभित्र प्रदेशका लागि आवश्यक पूर्वाधार जुटाउने जिम्मा पाएपछि व्यस्तता बढेको हो । स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनले संसदीय दलको प्रमुख छानेर सरकार निर्माणका लागि गृहकार्य थालेपछि प्रशासनलाई मन्त्रालय व्यवस्थापनको काम छिटो सक्न दबाब परेको छ ।

प्रमुख जिल्ला अधिकारी मैनाली, प्रहरी प्रमुख एसपी गोपालप्रसाद ज्ञवाली, सहरी विकास तथा भवन निर्माण कार्यालय प्रमुख सुरेश ठाकुर लगायतको टोली प्रदेश सरकार सञ्चालनका लागि आवश्यक भवन, सुरक्षा र पूर्वाधार व्यवस्थापनको तयारीमा जुटेको छ । ‘भवनको अवस्था अवलोकन, भवनको लेखाजोखा, विश्लेषण र छलफलमा जुटेका छौं,’ मैनालीले भने, ‘योसँगै पहुँच, सुरक्षा र पूर्वाधार तीनै कुरालाई मध्यनजर गरेर काम थालेका छौं ।’

यसअघि सरकारले पठाएको प्रदेश राजधानीका लागि पूर्वाधार अध्ययन कार्यदलले तोकेका कतिपय भवन निर्माणाधीन छन् । कतिपयमा अहिले सञ्चालनमा रहेका कार्यालय सार्नुपर्ने छ । केही मर्मत गर्नुपर्ने अवस्थामा छन् । मुख्य मन्त्रीको कार्यालय राख्न यातायात व्यवस्था कार्यालय लुम्बिनीको भवन प्रस्ताव गरिएको थियो तर यातायात कार्यालय सरिसकेको छैन ।

राजस्व अनुसन्धान कार्यालय र क्षेत्रीय मेडिकल स्टोरलगायतका भवन खाली छैनन् । तिनलाई कसरी खाली गर्ने र हालका कार्यालयलाई कता व्यवस्थापन गर्ने चुनौती छ । ‘सबै कुरा तत्काल व्यवस्थापन गर्नुपर्ने भएकाले केही चुनौती देखिए,’ प्रजिअ मैनालीले भने, ‘तर विषयगत सरकारी कार्यालयसँग छलफल गर्दै मन्त्रालय र हालका कार्यालय दुवैको अनुकूलता हेरेर व्यवस्थापन गर्दैछौं ।’

प्रदेशका ३ वटा मन्त्रालय व्यवस्थापन गर्ने भनिएको श्रम कार्यालयको भवन निर्माण सकिनै करिब एक महिना लाग्ने देखिन्छ । प्रशाशनले जनशक्ति थपेर भए पनि १५ दिनभित्रमा सक्न निर्देशन दिएको छ । प्रदेश प्रमुखको कार्यालय तोकिएको इलाका प्रशासनको भवनको निर्माण सकिन करिब ६ महिना लाग्ने भएपछि रूपन्देही व्यापार संघमा सञ्चालन गरिएको छ ।

प्रमुखको निवास तोकिएको रामनगरस्थित व्यावसायिक सीप विकास केन्द्रको भवन पनि तयारी अवस्थामा छैन । सात दिनभित्र सक्ने गरी मर्मत थालिएको छ । ‘केही मर्मत र थप व्यवस्थापन गर्नुपर्ने छ,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सुरेश ठाकुरले भने, ‘अहिले आवश्यक मर्मत सम्भारको काम थालिएको छ ।’

विकासले गति लिने आशा

प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकिएपछि उद्योगी नवराज श्रेष्ठ निकै खुसी छन् । अब उद्योग व्यापार फस्टाउने र विकासले गति लिने उनको अपेक्षा छ । ‘रूपन्देही अझ चलायमान हुनेछ । यहाँको उद्योग व्यवसाय फस्टाउनेछ,’ उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले भने, ‘रोजगारीका अवसर बढ्ने भएकाले आमनागरिकलाई समेत फाइदा हुनेछ ।’

बुटवल यसअघि पनि लुम्बिनी अञ्चलका ६ जिल्लाको प्रशासनिक केन्द्र थियो । जनसंख्या, विकास, पहुँच, सडक र सहजताले विकासमा फड्को मारिरहेको छ । बस व्यवसायी जीवनकुमार बन्जाडे स्थायी राजधानीले यो विकासलाई अझै दोब्बर बढाउन सकिने सम्भावना देख्छन्् । प्रदेश राजधानीले यातायातदेखि सबै क्षेत्रको विकासमा टेवा पुग्ने उनको आशा छ । ‘प्रदेशस्तरीय गतिविधिहरू हुनेछन्,’ पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव बन्जाडेले भने, ‘यसले यहाँको सबैखाले कारोबार र आय बढाउनेछ ।’

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मावली देवदह र आसपासमा फस्टाउँदै गएको पर्यटन व्यवसायले रूपन्देहीको गरिमा अन्तर्राष्ट्रियस्तरमै बढाउँदै लगेको छ । अंग्रेज फौजलाई हराएको जितगढी किल्ला, राजा भ्रतृहरिले सिद्धि प्राप्त गरेको सिद्धबाबा, आदिमानव रामापिथेकसको बंगारा भेटिएको रामापिथेकस क्षेत्र, बोलबम धामलगायतले थप उचाइ बढाएका छन् ।

भैरहवा भन्सार तथा बेलहिया नाकाको बढ्दो प्रयोग, भैरहवाको विशेष आर्थिक क्षेत्र सेज, निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुम्बिनी गुरुयोजना, बुद्ध सर्किट आयोजना, बुटवल बेलहिया ६ लेनको सडक विस्तारले रूपन्देहीको रूप पछिल्ला वर्षमा निकै फेरिएको छ ।

ठूल्ठूला उद्योगको स्थापना, घरानिया उद्योगीको आकर्षण, चीन–लुम्बिनी रेलमार्गको सम्भावना, बुटवल, भैरहवा र लुम्बिनीमा बढ्दै गएको सहरीकरण र व्यापारले प्रदेशको मात्रै होइन देशकै रूप फेर्न सक्ने सामथ्र्य राखेको छ । विमानस्थल, खुला सडक, पूर्वाधार विकास र सरकारी तथा सामाजिक संस्थाका ठूल्ठूला भवनले प्रदेश राजधानीका लागि चाहिने पूर्वाधारसमेत जिल्लामा तयारी अवस्थामा छन् । नागरिक अगुवा तथा विश्लेषक पदमबहादुर कार्की भन्छन्, ‘उत्तर–दक्षिण र पूर्व–पश्चिम दुवैतिरबाट केन्द्रमा रहेको र जनघनत्व बढी भएको क्षेत्र भएकाले प्रदेश राजधानी बन्दा रूपन्देहीको थप विकास हुनेछ ।’

प्रकाशित : माघ ९, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?