‘सडक विकासको मेरुदण्ड’

आश गुरुङ

लमजुङ — सडक पूर्वाधार बने विकासको अनुभूति हुने स्थानीय बुद्धिजीवीले बताएका छन् । सदरमुकाम बेंसीसहरको साँघुरा सडकमा दैनिक सयौं सवारी गुड्छन् । 

‘सडक राम्रो र फराकिलो भएमा विकासको अनुभव हुन्छ । बल्ल संघीयता आयो भन्ने भान हुनेछ’ नागरिक अगुवा बुद्धिसागर बराल भन्छन् ।

नागरिकले सडकलाई विकासको प्रमुख मेरुदण्डको रूपमा लिएका छन् । जिल्लाको ८ स्थानीय तहमध्ये ४ नगर र ४ गाउँपालिका छन् । गाउँपालिकाका हरेक बस्तीमा अझै मोटरबाटो पुगेको छैन । नगरपालिका भए पनि राइनासका कुनै पनि ठाउँमा कालोपत्रेले छोएको छैन । विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षाको अभावमा नागरिक पीडामा छन् । बस्तीबस्तीमा खानेपानी, विद्युत्, स्वास्थ्य र शिक्षाको पहुँच पुगेमात्र संघीयताको महसुस हुने बराल बताउँछन् । उनका अनुसार शिक्षा र स्वास्थ्यको राम्रो सेवाका लागि काठमाडौं, पोखरा, चितवन जानुपर्ने बाध्यता छ । उचित स्वास्थ्योपचारको अभावमा कतिपयको बाटैमा ज्यान जाने गरेको छ । ‘नागरिकका अधारभूत आवश्यकता पूरा भए मात्रै संघीयताको सार्थकता देखिन्छ,’ उनले भने । गाउँगाउँमा विकासका मूल फुटे मात्रै संघीयताको अभास मिल्ने लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ बताउँछन् । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भनेर भनिएको छ । अझै पनि वडा कार्यालय, नगरपालिका वा गाउँपालिका तथा प्रशासनमा जाँदा नागरिकले दु:ख पाएका छन् । उनले भने, ‘शान्तिसुरक्षा र अमनचयन, व्यावसायिक सुरक्षा र विकासले गति लिए मात्रै संघीयताको महसुस हुनेछ ।’

निवर्तमान सांसद डा. भीष्मकान्त अधिकारीले पुरानै ढाँचाले विकास गर्ने क्रम नरोकिएसम्म नागरिकले संघीयताको स्वाद चाख्न नपाउने बताए । ‘हिजो सडकमा बजेट

छुट्यायो । आज पनि सडकमै बढी बजेट छुट्याउने र नागरिक लक्षित कार्यक्रम छैन । विकास बजेट हिजोकै निरन्तरता दिँदै विनियोजन गरिएका छन्,’ उनले भने, ‘नयाँ कार्यक्रम ल्याउन सकिए, जनताले अनभूति गर्ने गरी कार्यक्रम ल्याउन सके मात्रै स्थानीय तह भएको महसुस जनतालाई हुन्छ ।’

प्रकाशित : माघ ९, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?