कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खोकनामा सबैजसो ‘लालपुर्जाविहीन’

-लालपुर्जा नहुँदा ९ सय ४४ घरधुरीको पुनर्निर्माण ठप्प-लालपुर्जा वितरण गर्न गठित समिति निष्क्रिय
प्रशान्त माली

ललितपुर — खोकनाका हरिनाथ डंगोलको घर भूम्कम्पले ध्वस्त भयो । उनले पुनर्निर्माण गर्न खोज्दा ललितपुर महानगरपालिकाले ‘नक्सापासबिना नमिल्ने’ भन्दै रोके । उनी भन्छन्, ‘नक्सापास गर्न अनिवार्य लालपुर्जा चाहिन्छ । तर, खोकना बस्तीको नापीनक्सा नै भएको छैन ।’ 

खोकनामा सबैजसो ‘लालपुर्जाविहीन’

अहिले डंगोलको परिवार ब्यागल बू: टोलस्थित नातामा दाजुको घरमा कोच्चिएर बस्दै आएका छन् । भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा जग्गा दर्ता गरी लालपुर्जा वितरणका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो । सोहीअनुसार डंगोलले लालपुर्जा लिन नगरपालिकामा निवेदन दर्ता गराए । तर उनको निवेदन मालपोत कार्यालयमा थन्किएको छ । कुनै कारबाही हुन सकेको छैन ।


जिल्ला मालपोत कार्यालय, ललितपुरमा मंगलबार कागजातसहित भेटिएका डंगोलले आफूलाई सरकारी आस मरिसकेको बताए । ‘जग्गा दर्ताका बारेमा बुझ्न खोज्दा एउटा कोठाबाट अर्को कोठा धाउँदैमा दिन बित्छ,’ उनले भने । धोकासी टोलका राम महर्जनले पनि भूकम्पले ध्वस्त घर लालपुर्जा नभएका कारण पुनर्निर्माण गर्न पाएका छैनन् । भग्नावशेष पनि पन्छाउन सकेका छैनन् । महर्जनको परिवार पनि ‘सरकारले लालपुर्जा देला अनि घर बनाउँला’ भन्ने आसमा छन् । उनी भन्छन्, ‘लालपुर्जा बारेमा नगरपालिकालगायत निकायमा पटकपटक ध्यानाकर्षण गराए । तर, कसैले चासो दिएको छैन ।’ स्थानीय कृष्णगोविन्द डंगोलको समस्या पनि उस्तै छ । उनले लालपुर्जा नभएका कारण दोस्रो किस्ता पाउनबाट वञ्चित छन् । ‘कसैले बिनानक्सापास नै घर बनाउन थालेका छन्,’ उनले सुनाए ।


लालपुर्जा नभएका कारणले खोकनामा मात्रै ९ सय ४४ घरधुरीको पुनर्निर्माण ठप्प छ । बुङमतीमा भने ८ सय ७५ घरधुरीको समस्या उस्तै छ । जिल्ला मालपोत कार्यालयका अनुसार भूकम्पपछि साबिकको इमाडोल वडा नं. ३, सानागाउँ, झरुवारासी, लेले, विष्टछाप, प्युटार, इकुडोल र घुसेलबाट एक ३१ जनाले जग्गा दर्ता गर्न निवदेन दिएका थिए । माल्टा, धापाखेल र भट्टेडाँडाबाट ५ जना, लामाटार, टीकाथली, गोदामचौर, बडिखेलबाट ५ सय जना र डुकुछाप, चौघरे, सैंबु, लुभू, भारदेउ र आश्राङबाट ३३ ले

निवेदन दर्ता गरे । तर, निवेदन कार्यालयमा महिनौंदेखि थन्किएको छ । झन्डै एक वर्षदेखि लालपुर्जा विरतण गर्न गठित समितिको बैठक बस्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले ‘बैठक बस्ने तयारी’ भइरहेको बताए । ‘नापी, मालपोत कार्यालयले बैठक बोलाएमा उपस्थित हुनेछु,’ उनले भने ।

लालपुर्जा वितरण गर्न गठित समितिको सदस्य सचिवमा मालपोत कार्यालय ललितपुरका प्रमुख घनश्याम उपाध्याय तथा सदस्यहरूमा स्थानीय विकास अधिकारी, जिल्ला वन कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत, नापी कार्यालय प्रमुख रहने व्यवस्था छ । मालपोत कार्यालय ललितपुरका प्रमुख उपाध्यायले ‘यसबारेमा सम्बन्धित फाँटवालालाई जानकारी भएको’ भनी पन्छिए ।


भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी सार्वजनिक खरिद (पहिलो संशोधन) कार्यविधि २०७३ अनुसार समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्न अध्यक्ष र सदस्य सचिवसहित कम्तीमा तीन सदस्यको उपस्थित हुनुपर्छ । कार्यविधिको दफा ७ को उपदफा ६ मा जग्गा दर्ताका लागि लेखी आएमा समितिले जाँचबुझ गरी दर्ता गर्न उपयुक्त देखिएमा कारणसहित समितिमा सफारिस गर्ने र आवश्यकताअनुसार जग्गाको फिल्डबुक, नक्सा, तिरो, लगतको प्रमाण सम्बन्धित व्यक्तिबाट पेस गर्न लगाउने, निवेदकको हकभोग रहे नरहेको सम्बन्धमा साँध, सँधियार तथा स्थानीय निकायको प्रतिनिधिको रोहबरमा स्थलगत सर्जमिन गरी जग्गा दर्ता गर्ने प्रावधान छ । रैकर जग्गाको हकमा फिल्डबुकमा जोताहा उल्लेख भए जोताहा बुझी जग्गाधनी यकिन गरेर मात्र जग्गा दर्ता गर्ने प्रावधान छ ।


ललितपुर महानगरपालिका २१ वडाध्यक्ष रवीन्द्र महर्जनले जग्गा दर्ता गर्न पहिला नै समितिमा निवेदन दर्ता भइसकेको बताए । बस्तीको नापी नक्सा गर्न नापी कार्यालयमा वडाध्यक्ष महर्जन र नापी अधिकृत ललितपुरका नवलकिशोर रायबीच छलफल भयो । ‘नगरका बुद्धिजीवी, निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकायबीच छलफल गर्ने तय भएको छ,’ महर्जनले भने, ‘बजेटका लागि वडा कार्यालयबाट पनि सहयोग गर्नेछौं ।’


नापी अधिकृत ललितपुरका नवलकिशोर रायका अनुसार खोकनामा नयाँ नापी सुरु भइसकेको थियो । ‘विवादले गर्दा बीचमा रोकिएको थियो,’ उनले भने, ‘अब फेरि राष्ट्रिय ग्रिड लाइन अनुसार विधि प्रक्रिया पुर्‍याएर फेरि गर्छौं ।’ उनले खोकनामा मसिनो कित्ता भएकाले डिजिटल सर्भे गरिने बताए । ‘पहिला गरेको नापीअनुसार पनि अगाडि बढ्न सकिन्छ,’ उनले भने । खोकना बस्ती ८ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित : माघ १०, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?