कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिग बुद्ध निर्माणका लागि विहार र उपमहानगरपालिकाबीच सम्झौता

एक अर्ब ३० करोडमा थाउजेण्ड बिग बुद्ध निर्माण हुने

धरान — आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उदेश्यले सूर्योदय बुद्ध विहार र धरान उपमहानगरपालिका वीच गर्न भेडेटार नजिकै छोटीमोरङ थुम्की डाडामा १ सय ७५ फिट उचाईको थाउजेण्डस् विग बुद्धको प्रतिमा सहित भव्य बुद्ध अध्ययन केन्द्र निर्माण गर्ने सम्झौता भएको छ । 

बिग बुद्ध निर्माणका लागि विहार र उपमहानगरपालिकाबीच सम्झौता

सूर्योदय बुद्ध विहारका तर्फबाट अध्यक्ष प्रदीप थापा मगर उपमहानरपालिकाका तर्फबाट प्रमुख तारा सुब्बाले १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । विग बुद्ध प्रतिमा निर्माणका लागि उपमहानगरपालिका, सुनसरी जिल्ल वन कार्यालय र वन मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले छ महिना अघि नै १५ विगाहा ८ कट्टा जग्गा सूर्योदय बुद्ध विहारलाई उपलव्ध गराउने निर्णय गरिसकेको छ ।


हङकङ नेपाली महासंघका पुर्व अध्यक्ष समेत रहेका बुद्ध विहारका अध्यक्ष प्रदीप थापाले भने, ‘थाउजेण्ड विग बुद्ध निर्माणका लागि सरकारबाट जग्गा उपलव्ध भइसकेकाले स्थानीय तहमा गर्नु पर्ने गुरु योजना, आर्थिक संकलन, निर्माण, डिजाइन, व्यबस्थापनका लागि धरान उपमहानगरपालिकासंग सम्झौता गरिएको हो ।’ पाँच वर्षभित्र निर्माण गरिसक्ने बताइएको उक्त परियोजनाको लागत १ अर्व ३० करोड रुपैयाँ रहेको छ । विग बुद्धको प्रतिमा निर्माण गरेर बुद्ध अध्ययन केन्द्र स्थापनाकालागि थाइल्याण्ड राजाका राजगुरु तथा राजपरिवारका सल्लाहकार फारा सास नासोभनले बढी रुची देखाएका छन् ।


छोटीमोरङ नजिकैको नाम्जेस्थित वुद्ध विहारका भिक्षु मेधाङ्कर (नारायणवहादुर आले) थाइल्याण्डका राजगुरु नासोभनसँग थाइल्याण्डमै बौद्ध धर्म सिद्धान्त अध्ययन गरेका बेला थाउजेण्ड विग बुद्ध बनाउने परियोजनाको परिकल्पना भएको हो । राजगुरुले ‘बुद्धको जन्मस्थल नेपालमा थाउजेण्ड विग बुद्ध बनाउन पुण्य कर्म हुने भएकाले के कति खर्च लाग्छ त्यसकालागि धेरै भन्दा धेरै सहयोग गर्ने’ बचन दिए पछि वनमन्त्रालय हुदै मन्त्रीपरिषद मार्फत जग्गा प्राप्तीकालागि प्रक्रृया र अनुमति प्राप्त भएको हो ।


‘थाउजेण्ड वीग बुद्ध’को १ सय ७५ फुट अग्लो प्रतिमा निर्माण गर्न गतबर्ष पुर्वसभामुख ओनसरी घर्ती मगर र थाइल्याण्डबाट आएका राजगुरु नासोभनले संयुक्त रुपमा शिलान्यास समेत गरिसकेका छन् । विग बुद्धको इन्जिनियरिङ आर्किटेक्ट डिजाइन राजकुमार शाक्य र मुर्तीकार अनील शाक्यले गरेका छन् । उनीहरुले हङकङको लान्ताउ टापुमा निर्मित वीग बुद्ध र हङकङकै शातिङमा भएको टेन थाउजेण्ड विगबुद्धको प्रतिमा जस्तै धरानको छोटीमोरङमा डिजाइन तयार गरेका छन् । थापाका अनुसार हङकङको वीगवुद्ध अवलोकन गर्न दैनिक २० हजार बढी पर्यटक पुग्ने गर्छन् र त्यहाको सरकारले पर्यटकबाटै बार्षिक करोडौं हङकङ डलर आम्दानी गर्ने गरेको छ ।


प्रदीप थापाले भने, ‘निर्माणस्थलको माटो परीक्षण भइसकेको छ । अव डिपिआर र वातावरण प्रभाव मुल्याङ्कनको रिपोर्ट आउन बाँकी छ । त्यसपछि भौतिक निर्माणको काम सूरु हुन्छ ।’ उनले हङकङ, थाइल्याण्ड, बर्माका बौद्ध गुरुहरुले विग बुद्ध प्रतिमा निर्माण गर्न आर्थिक सहयोग गर्ने बताएकाले परियोजनालाई अगाडि बढाएको बताए । हङकङको विग बुद्धको उचाई १ सय ११ फुटको मात्र रहेको छ । छोटीमोरङ डाडाको विग बुद्धको प्रतिमा निर्माण सम्पन्न भएमा ६६ फुट बढी अग्लो हुने छ ।


थापाले भने, ‘थाउजेण्ड वीग बुद्ध परियोजना पाच बर्ष भित्र पुरा गर्न सके पुर्वको पर्यटनमा व्यापक परिवर्तन आउन सक्छ । पर्यटक आकर्षित गर्नकालागि हामीसंग प्रसस्त सम्भावना हुदा हुदै पनि भएका श्रोतसाधनलाई सदुपयोग गर्ने इच्छाशक्ति अभावले खेर गएका छन् ।’ उनका अनुसार हालसम्म परियोजनाको कागजपत्र दर्ता, पहाडी डाडाको ठाउ सम्याउन डोजर स्काभेटर प्रयोग, डिजाइन, डमी, आर्किटेक्ट तयारी गर्नका लागि ६० लाख रुपैया खर्च भइसकेको छ । ती खर्चहरु सवै थापा र भिक्षु मेधांकरको व्यक्तिगतरुपमा खर्च भइरहेको उनले बताए ।


सम्झौता पछि उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले भने, ‘आन्तरिक आय श्रोत बढाउन पर्यटनलाई प्राथमिकता दिएका छौं । परियोजना सम्पन्न भएपछि सूर्योदय बुद्ध विहारको विग बुद्ध अवलोकन गर्न आउने पर्यटकबाट प्राप्त आम्दानी विहार व्यबस्थापन समितिले गर्ने र बांकी रहेको रकम धरान उपमहानगरपालिकाको समन्वयमा शिक्षा, स्वास्थ्य र जलाधार क्षेत्र र वातावरण संरक्षणमा खर्च गर्नै सम्झौता गरिएको छ ।’ उनले धरानलाई पुर्वको पर्यटकीय हव सेन्टर बनाउनकालागि पनि थाउजेण्ड वीग बुद्धको प्रतिमाले मदत गर्ने बताए ।

प्रकाशित : माघ १०, २०७४ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?