परिवार नियोजन गर्ने बढे

स्थायी परिवार नियोजन गराउनेमा ५६ पुरुष र ४५ महिला
बिना थापा

कास्की — जिल्लामा परिवार नियोजन गर्ने महिला र पुरुषको संख्या बढेको छ । सजिलो विधि र सुलभ सेवासँगै जनचेतनाको स्तर वृद्धिका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जनस्वास्थ्यले गत पुस २० देखि स्वास्थ्य चौकीहरूमा परिवार नियोजन शिविर सञ्चालन गरिरहेको छ । गत बिहीबारसम्मको तथ्यांकअनुसार शिविरमा परिवार नियोजन गराउने १ सय २७ जना पुगेका छन्, जसमा भ्यासेक्टोमी ८२ जना पुरुष र मिनिल्याप सेवा ३१ जना महिलाले लिएका छन् ।

अन्यले अस्थायी बन्ध्याकरणको सेवा लिएको परिवार नियोजन अधिकृत सन्तोष पौडेलले बताए । उनका अनुसार माघ १९ सम्म दिइने शिविरमा सेवाग्राही दुई सय जना नाघ्ने अनुमान छ ।

गत वर्ष सञ्चालित शिविरमा स्थायी र अस्थायी गरी १ सय ८३ जनाले परिवार नियोजनको सेवा लिएका थिए । स्थायी परिवार नियोजन गराउनेमा ५६ पुरुष र ४५ महिला थिए । ८२ जनाले अस्थायी बन्ध्याकरणको सेवा लिएका थिए ।

‘जनचेतना बढेकाले स्थायी बन्ध्याकरण गर्नेको संख्या पनि बढदै छ,’ उनले भने । जनस्वास्थ्य कार्यलयका अनुसार आर्थिक वर्ष २०७४/७५ को साउनदेखि मंसिरसम्ममा परिवार नियोजनका विभिन्न अस्थायी साधन प्रयोगकर्ताहरू १७ हजार ५ सय २९ छन् । यिनमा पिल्स प्रयोगकर्ता १ हजार ४ सय ७३, डिपो २ हजार ३ सय ७१, आईयूसीडी ७ हजार ७ सय ५४ र इम्प्लान्ट सेवा लिने ५ हजार ९ सय ३१ छन् । जनस्वास्थ्य प्रमुख दिनेश चापागाईँका अनुसार स्थायी बन्ध्याकरण पुरुषले गर्दा राम्रो हुने कुरा बुझ्ने बढेका छन् । ‘बन्ध्याकरणले सुखी परिवार हुनुका साथै विभिन्न समस्याहरू किनारा लाग्छ,’ उनले भने ।

८ र ४ वर्षका छोरापछि चार महिनाकी छोरी रहेकी हेटौंडा घर भई भरतपोखरी बस्दै आएकी २४ वर्षीया विनिता लामाले मंगलबार स्थायी बन्ध्याकरण गराइन् । ‘गाह्रो हुन्छ, कमजोरी हुन्छजस्तो लागेको थियो तर सजिलै रहेछ,’ उनले भनिन्, ‘श्रीमानसँग सल्लाह गरेर परिवार नियोजन गरेकी हुँ । सन्तान

जन्माएर मात्रै भएन, जन्मेकालाई राम्ररी हुर्काउन ठिक्क भएकै राम्रो ।’ स्थायी परिवार नियोजन गरेको पोखराको अर्मलाका ३६ वर्षीय कमल कार्कीले परिवार नियोजनको सेवा सजिलो लागेको बताए । ‘एउटा छोरा भयो, पुग्यो भनेका थियौं,’ उनले भने, ‘१० वर्षपछि झुक्किएर छोरी भई, अनि अब स्थायी बन्ध्याकरण गराएको ।’

आफ्नो चाहनाअनुसार छोरी भएपछि अर्को सन्तान नहोस् भनेर परिवार नियोजन गरेको अर्मलाका दीपक परियारले बताए । ‘परिवार नियोजन गर्दा केही समस्या आउने रैनछ,’ उनले भने, ‘जीवन सुखी बनाउन सन्तान ठिक्क र आफूले सजिलोसँग हुर्काउन सकिने संख्यामै हुनुपर्छ ।’ ४३ वर्षीय परियारका १९ र १८ वर्षका छोरा र ७ वर्षीया छोरी छन् ।

प्रकाशित : माघ १४, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?