अनुमतिबिनै रूख कटान
रौतहट — अनुमतिबिनै राष्ट्रिय वन क्षेत्रका हरिया रूख कटान गरेर धमाधम सडक निर्माण गरिँदै छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसर पुलदेखि जंगलशय्यासम्मका रूख कटान गरेर सडक निर्माण थालिएको हो ।
वनक्षेत्र अतिक्रमण गरी बसेका सिमरी, पशुपतिटोल र जंगलशय्या बस्तीका बासिन्दालाई सहज रूपले राजमार्ग पुग्न सुविधा पुर्याउने उद्देश्यले जंगल नासेर नयाँ सडक निर्माण थालिए पनि स्थानीय प्रशासन मौन छ । राजनीतिक दलका नेताको दबाबमा यसरी रूख कटान भइरहेको स्रोतले जनाएको छ ।
सडक क्षेत्रमा जामुन, कर्मा, बाझी, भुर्कुटलगायत प्रजातिका ४ सय १३ वटा कुकाठ र ५८ सालका रूख रहेको इलाका वन कार्यालय जंगलशय्याले जनाएको छ । धनसरदेखि जंगलशय्याको पशुपति टोलसम्म ११ किलोमिटर दूरी छ । जंगलको बीचबाट खन्न थालिएको सडकले बचेका रूख पनि जोगाउन मुस्किल पर्ने भन्दै वन कर्मचारीले असहमति जनाउँदै आएका छन् ।
यो क्षेत्रमा तस्करले दिनदहाडै रूख ढाल्ने र काठ चोरी गर्ने गरेका छन् । सडक निर्माण भए चोरी तस्करीमा झनै सहज हुने स्थानीयले बताए । यस क्षेत्रका मतदातामा प्रभाव जमाउन निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य तथा बिनाविभागीय मन्त्री प्रभु साह, प्रदेशसभा (ख) सदस्य कुन्दनप्रसाद कुशवाहा लगायतको दबाबमा सडक निर्माण थालिएको सरोकारवालाले बताएका छन् ।
रूख मनलाग्दी काट्दै धमाधम सडक निर्माण सुरु गरिएपछि सरोकारवाला आश्चर्यमा परेका छन् । ‘विकासको नाममा यहाँ विधिको शासनको खिल्ली उडाउन थालिएको छ,’ एक स्थानीय शिक्षकले भने, ‘पावरको बलमा यस्तो अवैध काम भइरहेको छ ।’ निर्माण थाल्नुअघि बजेटका बारेमा सर्वसाधारणलाई जानकारी दिन सूचना बोर्ड राख्नुपर्छ । तर, यहाँ यस्तो कुनै बोर्ड राखिएको छैन । वन कर्मचारीको अनुपस्थितिमा धमाधम हरियो सालका रूखसमेत ढाल्न थालिएको छ । स्थानीय नेता तथा तस्करीमा संलग्नहरूको फाइदाका लागि सडक निर्माणका नाममा रूख काट्न थालिएको ती शिक्षकले बताए । जंगलशय्या–धनसर जोड्ने सडकअन्तर्गत पर्ने रूख कटान गर्न वन विभागले स्वीकृति नदिएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घनारायण कोइरालाले बताए । ‘लगत संकलन गरेर वन विभागमा सिफारिस पत्र पठाएका छौं,’ उनले भने, ‘अहिलेसम्म कुनै आदेश आएको छैन ।’ आदेश नआउन्जेलसम्म रूख काट्न नमिल्ने उनले बताए । रूख कटान गरेको खबर पाउने बित्तिकै त्यसलाई तत्काल रोक्न आफूले स्थलगत अनुगमन गरी आदेश दिएको उनको भनाइ छ । वन विभागको सहमतिबिनै डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले जंगलभित्र सडक बनाउने काम सुरु गरेको हो । निमित्त प्रमुख तथा धनसर–जंगलशय्या सडक खण्डका साइड इन्जिनियर श्यामनारायण मिश्रले अहिले ट्रयाक खोल्ने काम मात्र भइरहेको बताए । ‘ट्रयाक खोल्ने काम मात्र सुरु गरेका छौं,’ उनले भने, ‘बजेट कहीँबाट आएको छैन, आफ्नै लगानीमा काम थालेका छौं ।’
निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (ख) का सदस्य कुशवाहाले यो रूटमा चाँडो बस गुडाउन काम सुरु गरिएको बताए । २०५३ मा ट्रयाक खोलिएको थियो । अहिले त्यसलाई पूर्णता दिन थालिएको उनको भनाइ छ । सडक डिभिजन, वन कार्यालय, डिभिजन सिँचाइ कार्यालय प्रमुख तथा प्रतिनिधिसभा सदस्य साहसहितको टोलीले अनुगमन निरीक्षण गरेपश्चात् भएको मौखिक सहमतिअनुसार बाटो निर्माणको काम सुरु गरिएको उनले बताए ।
‘रूख कटान गर्ने फाइल काठमाडौं पठाइएको छ,’ उनले भने, ‘त्यसलाई पास गराउन नेता प्रभु साह काठमाडौंमै हुनुहुन्छ ।’ एक/दुई दिनमै फाइल स्वीकृत भई रूख कटानको आदेश आउने उनको जिकिर छ । वन विभागको आदेश आउनुअघि नै काम सुरु गर्नु नियमसंगत नभए पनि बस गुडाउन हतार भएकाले अहिलेदेखि नै काम सुरु गरिएको उनले बताए । ‘फाइल त पास भइहाल्छ नि,’ उनले भने, ‘यसमा कुनै दुईमत छैन । आदेश आउँदै गर्छ । काम हुँदै गर्छ । जनताको मागअनुसार सडक निर्माण गरिन्छ ।’ प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले वनमा अवैध ढंगले रूख कटान गरी बन्दै गरेको सडक आफ्नो सरोकारको विषय नरहेको बताए । ‘यसबारे वन कार्यालय र सडक कार्यालयलाई सोध्नुस्,’ उनले भने, ‘मैले बोल्न आवश्यक नै छैन ।’ आफ्नो कार्यालयसँग सम्बन्धित विषय नै नभएको उनले बताए । बिनाविभागीय मन्त्रीसमेत रहेका साहले भने पटक–पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् ।
वन कर्मचारीलाई धम्की
आदेश आउनुअघि नै सडक क्षेत्रमा परेका रूख कटान हुन थालेपछि रोक्न गएका इलाका वन कार्यालय जंगलशय्याका सहायक वन अधिकृत सोनफी पासवानसहितको टोलीलाई स्थानीय सागर थापालगायतका व्यक्तिले अपशब्द प्रयोग गर्दै धम्क्याएका छन् । ‘वन कर्मचारी सधैं विकास विरोधी काम गर्छन् । विकासको काममा अवरोध पुर्याउन आए खाल्डोमा पुरिदिने’ भन्दै धम्की दिएको एक कर्मचारीले बताए । ‘वनको रक्षा गर्ने हामी आफैं असुरक्षित बनेका छौं,’ उनले भने, ‘आँखैसामु रूख ढालिए पनि चुप लागेर बस्नुपरेको छ ।’
सडकमा परेको भन्दै रातारात ढालिएका रूखका जरासमेत उखेलेर प्रमाण नष्ट गर्न खोजेको ती कर्मचारीले बताए । घटनाबारे विभाग र सुरक्षा निकायलाई जानकारी गराउँदासमेत सबै मौन रहेको उनीहरूले गुनासो गरे ।
गायब पारिए रूख
अनुमतिबिना काटिएका २ दर्जन बढी रूखका गोलिया गायब पारिएका छन् । वनमै छाडिएका केही गोलिया भने स्थानीयले चोरेर लग्न थालेका छन् । बिहीबार गोलिया बनाउन बन्चरो लिएर सयौं स्थानीय जंगल पसेका थिए । उनीहरू साइकलमा गोलिया लगिरहेका थिए । पशुपति टोलका एक युवकले भने, ‘तपाईं फोटो खिचेर के गर्नुहुन्छ ? हामीलाई कसैले रोक्न सक्दैन । सबैले लग्न थाले । हामीले किन नलानु ?’ वाग्मती नहरदेखि दक्षिण क्षेत्रको जंगलको रूख अवैध रूपले कटान गरिएको र अकिांश रूखको मूल काठ गायब पारिएको स्थानीयले बताए ।
प्रकाशित : माघ १४, २०७४ ०७:५०