कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

खानेपानीको सधैं अभाव

मेनुका ढुंगाना

अछाम — बान्निगढी जयगढ गाउँपालिका सुगालीको वीरखम गाउँमा एकमात्र नाउलो छ । बर्खा होस् या हिउँद यहाँ जहिज्यै खानेपानी लिन आउनेको घुइँचो हुन्छ । बिहान उठ्नेबित्तिकै महिला खानेपानीको जोहोमा लाग्छन् ।

खानेपानीको सधैं अभाव

‘पालो कुर्दाकुर्दै घरका काम गर्न समय नै हुँदैन,’ स्थानीय पशुपति रावलले भनिन्, ‘धारो छैन कुवाको पानी सबैले भरेर लिँदा धमिलो भइसक्छ ।’ सुगालीमा जहिल्यै पानी समस्या हुने उनले बताइन् । जलवायु परिवर्तनले सुक्खा खडेरीका कारण मुहान सुकेपछि पानी अभाव भएको हो । सदियौंदेखिका खोल्साखोल्सी र जरुवा सुक्दै जाँदा ५० घरको टोलमा खानेपानीको हाहाकार छ । गाउँमा पानी अभाव हुँदा खुला दिसामुक्त भएको जिल्लालाई नै चुनौती थपिएको स्थानीयले बताए । पानी अभावले शौचालय बन्द भएका छन् ।

खानेपानीकै कारण स्थानीयको दैनिकी पानीको जोहोमै बित्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानी खोज्दैमा गर्न दिनरात कट्छ । विद्यार्थी पनि पानीकै लागि पढ्न जान पाउँदैनन् । एक गाग्रो पानी थाप्न बिहान ४ देखि दिउँसो १ बजेसम्म मुहानमा लाइन बस्नुपर्ने समस्या स्थानीय बिन्द्रा रावलले सुनाइन् ।

‘जताबाट पनि महिलालाई मात्र दु:ख छ, घरायसी काम, केटाकेटीको हेरविचार, गाईबस्तुको झन्झट त छँदैछ ।’ बिन्द्राले गुनासो गरिन्, ‘मुहानमा पानी सकियो कि भन्ने चिन्ता अर्कोतर्फ हुन्छ ।’ नुहाउनलाई २ घण्टा हिँडेर खोला धाउनुपर्ने, महिनावारी हुँदा धेरै दिन स्कुल जाने समय पनि नुहाउन धारामा जाँदा बित्ने गरेको अन्नपूर्ण माविकी सुनिता रावलले सुनाइन् । ‘महिनावारी भएका बेला ७ दिनसम्म नुहाउने, लुगा धुने गर्नुपर्छ,’ उनले सुनाइन्, ‘त्यति टाढा जाँदा पनि पालो पाइँदैन । पढाइ छुट्छ ।’

जिल्लाका धेरैजसो ठाउँमा खानेपानी अभाव झन्झन् बढेको छ । मंगलसैन, जयगढ, ठूलासैन, बिनायक, कमलबजारलगायत बजार क्षेत्रमा पानीको चरम अभाव रहेको स्थानीयले बताए । कर्मचारी, विद्यार्थी यसको प्रत्यक्ष मर्कामा छन् । स्थानीय तहमा कर्मचारी समायोजन भइरहेकै बेला खानेपानी, बिजुलीलगायत सुविधा नभएको ठाउँमा जान उनीहरू आनाकानी गरिरहेका छन् । पानीकै कारण हुनेखाने परिवार अन्य ठाउँ बसाइ सर्न थालेका छन् ।

जलवायु परिवर्तनअनुसारका रोगको महामारी फैलने जोखिम बढदै गएको छ । अछामका दुर्गमका गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्यसाथ चलाइएका अभियान ओझेलमा पर्न थालेको स्थानीयले बताए ।

प्रकाशित : माघ १६, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?