२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कर असुलीमा गडबडीले ७१ लाख राजस्व गायब

रेकर्डमै नभेटिएपछि सेवाग्राहीलाई दोहोरो कर  
अघिल्लो वर्ष कर तिरेको रसिद देखाउँदा पनि कर्मचारीले मानेनन्
सिस्टम गडबड भएको बेला तिर्नै आएनन्
वेदराज पौडेल

इटहरी — उपमहानगरपालिकाको राजस्व शाखाले ‘सिस्टम परिवर्तन’ को बहानामा एक महिना ९ दिनको राजस्व र कर असुली अभिलेख नै गायब गरेर ७१ लाख ८१ हजार ६ सय १९ रुपैयाँ अनियमितता गरेको फेला परेको छ । तथ्यांक परीक्षणका लागि राजस्व शाखाका प्रमुख नासु अर्जुन सुवेदीलाई तीन दिनसम्म धाउँदा पनि उनले विभिन्न बहाना बनाई पत्रकारलाई सूचना दिन आलटाल गरेका छन् ।

वार्षिक ८ करोडदेखि ८ करोड ४० लाखसम्म राजस्व उठाउँदै आएको उपमहानगरको राजस्व शाखाको कम्प्युटरको तथ्यांक ०७३ साउन २६ देखि असोज ३ गतेसम्म सर्वसाधारणले कति तिरे भन्ने रेकर्ड कतै भेटिँदैन । प्रत्येक महिना कति राजस्व उठ्यो भन्ने विवरण लेखामा जानकारी गराउनुपर्ने भए पनि आर्थिक वर्ष २०७४/०७५ को माघ बित्न लाग्दा पनि राजस्वले लेखालाई अभिलेख बुझाएको छैन ।

सफ्टवयर परिवर्तनका नाममा भएको अनियमितताको तथ्यांकगत जानकारी माग्दा आफूले कुनै तथ्यांक दिन नसक्ने राजस्व शाखा प्रमुख सुवेदीले बताए । तीन वर्षको रेकर्ड हेर्दा साउनदेखि असोजसम्म संकलन भएको राजस्व उस्तै देखिन्छ । तर सिस्टम गडबड भएको ०७३ साउन २६ देखि असोजभित्रको राजस्व ७१ लाख ८१ हजार ६ सय १९ रुपैयाँ कम देखिन्छ ।

नगरपालिकाको लेखा शाखा प्रमुख लखनलाल चौधरीले आफ्नो शाखामा राजस्वले दिएको विवरणबाट आव ०७१/७२ को साउनदेखि असोजमा १ करोड ४६ लाख ४७ हजार ४४ रुपैयाँ संकलन भएको छ । उक्त आवमा ८ करोड १८ लाख ४३ हजार ५५ राजस्व जम्मा भएको छ ।

त्यसैगरी आव ०७२/७३ को साउनदेखि असोजसम्म १ करोड ६८ लाख १४ हजार ३ सय ४० रुपैयाँ १३ पैसा उठेको छ । त्यस्तै यो वर्ष ८ करोड ४० लाख ७३ हजार ४९ रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी आव ०७३/७४ साउनदेखि असोजसम्मको राजस्व २ करोड ३९ लाख ९५ हजार ९ सय ५९ रुपैयाँ ३१ पैसा जम्मा भएको देखिन्छ । यस वर्ष १० करोड ३४ लाख १३ हजार ७ सय ४९ रुपैयाँ राजस्व उठेको देखिन्छ ।

सिस्टम गडबड भएका बेला राजस्व तिर्न आएका धेरै फर्किएकाले कम भएको सुवेदी बताउँछन् । तर लेखाले सोही बेलाको राजस्व विगत वर्षको भन्दा २ करोड बढी संकलन भएको देखाएको छ ।

स्रोतका अनुसार सञ्चारकर्मीले डाटा माग्न थालेपछि तिलमिलाएका कर्मचारीले इटहरी, विराटनगर, धरानलगायत स्थानबाट सिस्टम मिलाउन सक्ने प्राविधिक खोजी गरी मेचीबाट प्राविधिक ल्याएर हतारमा डाटा दुरुस्त बनाउने काम रातारात गरेका छन् । स्रोत भन्छ, ‘प्रत्येक महिना राजस्व बैंकमा दाखिला गरी त्यसको रिपोर्ट लेखामा बुझाउनुको साटो राजस्वमा उठेको रकम मिटरब्याजमा लगाउने, कर्मचारीका व्यापारिक प्रतिष्ठानमा लगाउने, जमिन खरिद गर्ने र वर्ष दिन हुन लागेपछि असार अन्तिममा मात्र दाखिला गर्ने गरेका छन् ।’

यसो गर्दा करोडौं रुपैयाँ बिनाब्याज आफूले चलाउन पाइने र त्यसैबाट व्यापारिक खेलोफडो कर्मचारीले मिलेर गरेको स्रोतले दाबी गर्‍यो । एकातिर सिस्टम गडबड भएको बहानामा

राजस्व कम संकलन भएको देखाइएको छ भने अर्काेतर्फ उक्त समयमा कर तिर्नेहरूबाट नगरपालिकाले अहिले फाइनसहित दोहोरो शुल्क लिइरहेको छ ।

इटहरी ८ की सविना भट्टराईले आव ०७३/७४ को एकीकृत सम्पत्ति कर ०७३ भदौ १२ गते तिरिन् । उनले सबै गरेर ५ सय ३१ रुपैयाँ २० पैसा तिरेकी हुन् । त्यसपछि यो वर्ष कर तिर्न जाँदा ०७० बाटै तिरेको छैन भन्दै ८० रुपैयाँ जरिवानासहित ७ सय २९ रुपैयाँ ६० पैसा असुल नगरपालिकाबाट भयो । जब एक वर्षको एक सय ५० रुपैयाँ ४० पैसामात्र उनले कर तिरे पुग्नेमा शाखाको लापरबाहीले ५ सय ७९ रुपैयाँ २० पैसा बढी असुली गरिएको छ ।

अघिल्लो वर्ष तिरेको रसिद देखाउँदा हामीसँग त्यो वर्षको रेकर्ड नै छैन त्यसैले यस्तो भएको हो भनेर गैरजिम्मेवार जवाफ दिएको सविनाका दाजु श्याम भट्टराईले जनाए । उनले रकम फिर्ता पाउँ भनेर निवेदन दिएको महिना दिन नाघिसक्यो तर नगरपालिकाले फिर्ता गरेको छैन । त्यो एक महिनामा झन्डै एक हजारको कर त्यसरी बढी लिइएको हुन सक्ने उनको अनुमान छ ।

श्यामले भने, ‘हामी कम राजस्व तिर्नेबाट त नगरपालिकाले बिनाकारण दस्तुरसहित असुल गरिरहेको छ भने अन्य हजारौं तिर्नुपर्नेबाट कति असुल भइरहेको होला?’ तत्कालै अपारदर्शी ढंगले असुली रहेको कर उठाउन बन्द गरी बढी रकम सहजै फिर्ता गर्न उनले माग गरेका छन् ।

सहरी विकास मन्त्रालयले ०७३ भदौ १२ गते करलगायत रेकर्ड राख्ने इन्फोटेक नामक सफ्टवेयर सञ्चालनका लागि इटहरी उपमहानगरलाई दिएको थियो । नगरपालिकाले सञ्चालन गर्दै आएको सांग्रिला सफ्टवेयर हटाइयो । मन्त्रालयले दिएको सफ्टवेयरले ०७३ साउन २६ देखि असोज ३ गतेसम्म काम गरेन । त्यति बेला जम्मा भएको राजस्वको रेकर्डसमेत उड्यो । पछि नगरपालिकाले पुरानै सांग्रिला सिस्टम अपडेट गरेर चलायो । यही कारण सांग्रिलाले इन्सटल गरेको सुरुको मितिबाटै कर काट्न सुरु गर्‍यो । त्यही भएर तिरेको राजस्व पनि जरिवानासहित स्थानीयले पुन: तिर्न बाध्य भएको अवस्था हो ।

दोहोरो कर तिरेकाको कर फिर्ता गरिने प्रमुख प्रशासकीय अधिकृत पिताम्बर अधिकारीले बताए । तर सिस्टम गडबड भएको बेलाको राजस्व कति हिनामिना भयो भन्ने रेकर्ड हेरेरमात्र केही भन्न सकिने उनको भनाइ छ । राजस्व शाखाबाट संकलित रकम प्रत्येक महिना लेखामा रेकर्ड बुझाउनु पर्ने नियम छ । तर राजस्वले प्रत्येक महिना राजस्व नबुझाई वर्षको अन्तिममा मात्र बुझाउने गरेको छ । प्रत्येक दिन कति राजस्व उठ्यो । कुनकुन शीर्षकमा उठ्यो भन्ने दोहोरो जाँच गर्ने प्रणाली नगरपालिकामा छैन ।

प्रकाशित : माघ १६, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?