२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

महायज्ञबाट करिब २ करोड संकलन

स्याङ्जा — बिरुवा गाउँपालिका–८ स्थित भुरुङ चौकी माध्यमिक विद्यालयमा भएको आठ दिने महायज्ञबाट एक करोड ८८ लाख रुपैयाँ संकलन भएको छ । 

२००८ सालमा स्थापित भुरुङ चौकी मावि आर्थिक अभावका कारण व्यावसायिक र प्राविधिक कक्षाहरु सञ्चालन गर्ने लक्ष्य पूरा नभएकाले महायज्ञ गर्नुपरेको आयोजकले बताएको छ । विद्यालयले महायज्ञबाट दुई करोड रकम संकलित गर्ने लक्ष्य लिएको थियो । ३० लाख रुपैयाँ खर्च र एक करोड ७० लाख रुपैयाँ बचत गर्ने लक्ष्यसहित आयोजित महायज्ञमा सोचेभन्दा राम्रो भएको महायज्ञका निर्देशक सुर्य कुँबरले बताए ।


विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्यले सञ्चालन गरिएको महायज्ञ सोमबार सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित महायज्ञमा ५१ हजार रुपैयाँ भन्दा बढी दान गर्ने व्यक्तिलाई बाजागाजासहित घरबाटै स्वागत गरिएको थियो । भुरुङचौकी माध्यमिक विद्यालयको कक्षा ११ मा प्राविधिक शिक्षा सञ्चालनको लागि आयोजित महायज्ञमा प्रमुख वाचक प्रविण दिनबन्धु पोखरेल थिए । महायज्ञ मूल समारोह समिति सचिव शिव वाग्लेले महायज्ञलाई सफल पार्न स्थानीयहरु एकवद्ध भएर लाग्नाले नै लक्ष्यमा पुग्न सफल भएको बताएका छन् ।

विद्यालयको प्रशस्त जग्गा भएकाले पनि सोही जग्गालाई सदुपयोग गर्दै भवन निर्माण गरी प्राविधिक शिक्षा सञ्चालन गर्ने र आफ्नै गाउँमा दक्ष विद्यार्थी उत्पादन गर्ने बताइएको छ ।

प्रकाशित : माघ १६, २०७४ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?