निजी स्रोतकै भरमा विद्यालय
बागलुङ — दैनिक ज्याला मजदुरी गरी परिवार पालेकी सीता हरिजनले आम्दानीको भाग ्कटाएर गाउँको सामुदायिक विद्यालयलाई सहयोग गरेकी छन् ।
समयअनुसार मेलापात र ढुंगागिटीको काम गर्ने हरिजनलाई काम नपाएका दिन सजिलोसँग दुई छाक खान पनि मुस्किल पर्छ । तर, उनले आफ्ना सन्तान पढेको गणेश माविलाई सहयोग गर्न छाडेकी छैनन् । ‘एक/दुई छाक खान नपाए पनि स्कुल राम्रो बनाउनुपर्छ भनेर सकेको सहयोग गर्छु,’ उनले भनिन्, ‘राम्रा शिक्षक राख्न पैसा नपुगेपछि हाम्रै सहयोगले विद्यालय चलेको छ ।’ दशकदेखि यो विद्यालयले मजदुरी गर्ने अभिाभवककै सहयोगमा २७ शिक्षकको तलब भराएर पठनपाठन सञ्चालन गरेको छ ।
नारायणस्थानस्थित यो विद्यालयले मासिक ४ लाख रुपैयाँ संकलन गरेपछि मात्र शिक्षकलाई तलब खुवाउन पुग्ने व्यवस्थापन समिति अध्यक्ष नारायण श्रेष्ठ बताउँछन् । ‘मजदुरीको कमाइ सहयोग गर्ने अभिभावकबाटै विद्यालय चलाएका छौं,’ उनले भने, ‘अभिभावकको सहयोग सदुपयोग गर्दै गुणस्तरीय शिक्षा दिएका छौं ।’ जिल्लाका राम्रो पढाइ हुने सामुदायिकमध्येको यो विद्यालयले पश्चिमाञ्चलको उत्कृष्ट विद्यालयको पुरस्कार पनि पाइसकेको छ ।
गुणस्तरीय पठनपाठन गराउन नेतृत्वदायी भूमिका खेलेका प्रधानाध्यापक चूडामणि शर्माले पनि उत्कृष्टको पुरस्कार पाए । ‘सामुदायिक विद्यालय राम्रो भएनन् भन्ने आरोपलाई हामीले चिर्ने प्रयास गरेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘गुणस्तरीय शिक्षा दिन खोज्दा अभिभावकलाई आर्थिक भार भने परेको छ ।’
गुणस्तरीय विद्यालय बनाउन कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यमको पढाइ, अतिरिक्त कक्षा, कम्प्युटर कक्षा र खेलकुद गतिविधिका लागि थप शिक्षक राख्नुपरेको उनले बताए । दरबन्दीका शिक्षक थोरै र भएका पनि नयाँ प्रविधिप्रति मैत्री नभएपछि विद्यालयलाई थप आर्थिक भार परेको हो । विद्यालयले कम्प्युटर र ई–पाटीलगायत प्रविधिमार्फत पढाइ सञ्चालन गर्छ । त्यस्तै अतिरिक्त कक्षामार्फत बालबालिकालाई प्राविधिक र व्यावहारिक ज्ञान पनि सिकाएको प्रधानाध्यापक सुवेदीले बताए । ‘हाम्रो विद्यालयमा दरबन्दीका १० जना र निजी स्रोतका २७ शिक्षक छन्,’ उनले भने, ‘अंग्रेजीसहित विज्ञान, गणित र सामाजिक लगायतका महत्त्वपूर्ण विषयका शिक्षक निजीको भरमा चलाएका छौं ।’ ७ सय ५० विद्यार्थी पढ्ने भएकाले हरेक कक्षालाई २ देखि ४ समूहमा राखेर पढाउने गरिएको छ ।
जिल्ला शिक्षाले दिएको एक विज्ञान शिक्षक पनि विद्यालयमा पुगेर पढाउन नसकी छाडेर गएको सुवेदीले बताए । ‘शिक्षकहरू बढी सुविधामुखी भएकाले काम गराउन खोज्दा छाडेर हिँड्न लागे,’ उनले भने, ‘शिक्षक परिश्रमी नभएसम्म विद्यार्थीको पढाइमा पनि सुधार ल्याउन सकिँदैन ।’ उचित शिक्षकको खोजी भए पनि त्यहाँ जान इच्छुक भेट्न नसकेको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए । ताराखोलास्थित मालारानी आधारभूत विद्यालय, अमरभूमिको जनप्रेम मावि, खरवाङको त्रिभुवन मावि, दगातुम्डाँडाको खड्गदेवी मावि, बुर्तिवाङको नवज्योति प्रावि, कुश्मीसेराको पल्लोपाखा मावि र धौलागिरि बहिरा आवासीय माविलगायतमा दरबन्दीका शिक्षक नपाएपछि अभिभावकको चन्दाबाट अतिरिक्त शिक्षक नियुक्ति गर्नुपरेको छ ।
प्रकाशित : माघ १७, २०७४ ०७:१५