कुन प्रदेशमा कस्तो छ वन ?

बढी वन क्षेत्र ६ नम्बर र कम २ नम्बर प्रदेशमा
भक्तपुरमा सबभन्दा कम वन

काठमाडौँ — मुलुकको सबैभन्दा बढी वन क्षेत्र प्रदेश ६ मा देखिएको छ । १० जिल्ला रहेको प्रदेश ६ मा ११ लाख ८३ हजार ४ सय हेक्टर वन छ । 

सबैभन्दा कम प्रदेश २ मा २ लाख ६३ हजार ६ सय ३० हेक्टर मात्र वन क्षेत्र छ । ८ जिल्ला समेटिएको प्रदेश २ मा २७ दशमलव ४९ प्रतिशत मात्र वन क्षेत्र छ । प्रदेश २ का जिल्लामा उत्तरतिरबाहेक दक्षिणतिर खासै वन क्षेत्र छैनन् । कम्तीमा आधा हेक्टर वन भएको र त्यसभित्र रुखको छत्रले १० प्रतिशत ढाकेको क्षेत्रलाई विशेषज्ञहरूले वन क्षेत्र भनेका छन् । सन् २०१० देखि २०१४ सम्म सञ्चालित वन स्रोत सर्वेक्षण आयोजनाको प्रतिवेदनलाई आधार मानेर ७ वटै प्रदेशमा वन क्षेत्रको विश्लेषण गरिएको हो ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक दीपक खरालले प्रदेश ६ को भौगोलिक हिसाबले समेत ठूलो भएकाले वन क्षेत्र पनि बढी देखिएको बताए । विभागले सातै प्रदेशको वन क्षेत्रको अवस्था समेटिएको नक्सा हालै तयार गरेको हो । ती नक्सा सबै प्रदेशमा पठाइने पनि खराललले बताए ।

नक्सा तयार गर्न खटिएका विभागका जीआईएसविज्ञ शिव खनालका अनुसार प्रतिशतका हिसाबले सबैभन्दा बढी वन क्षेत्र प्रदेश ७ मा छ । ११ लाख ४६ हजार १ सय १० हेक्टर वन रहेको प्रदेश ७ मा झन्डै ५८ प्रतिशत वन क्षेत्र छ । यो प्रदेशमा कैलाली, डडेलधुरा र बझाङ बढी वन क्षेत्र भएका जिल्ला हुन् । सबभन्दा कम कञ्चनपुरमा ७८ हजार ८ सय हेक्टर वन छ ।

१४ जिल्ला समेटिएको प्रदेश १ मा ११ लाख ३४ हजार २ सय ५० हेक्टर वन क्षेत्र छ । प्रतिशतका हिसाबले यो प्रदेशमा ४३ दशमलव ४४ वन क्षेत्र छ । प्रदेश २ मा २ लाख ६३ हजार ६ सय ३० हेक्टर वन क्षेत्र रहे पनि प्रतिशतका हिसाबले २७ दशमलव ४९ मात्र छ । यहाँका ८ जिल्लामा वन क्षेत्र भए पनि भौगोलिक हिसाबले साना भएकाले कम कभरेज देखिएको हो ।

१३ जिल्ला समेटिएको प्रदेश ३ मा १० लाख ९० हजार ८ सय ८० हेक्टर वन क्षेत्र (५३ दशमलव ७३ प्रतिशत) छ । प्रदेश राजधानी रहेको मकवानपुर र सिन्धुलीमा झन्डै बराबर वन क्षेत्र रहेको खनाल बताउँछन् । मकवानपुरमा १ लाख ६६ हजार ७ सय र सिन्धुलीमा १ लाख ६६ हजार ५ सय ३० हेक्टर वन क्षेत्र छ । त्योपछि चितवन र सिन्धुपाल्चोकमा बढी वन क्षेत्र छ । सबैभन्दा कम भक्तपुरमा २ हजार ४ सय ७० हेक्टर मात्र वन क्षेत्र छ ।

प्रदेश ४ मा ८ लाख १७ हजार २ सय ९० हेक्टर वन क्षेत्र छ । ११ जिल्ला समेटिएको यो क्षेत्रमा ३७ दशमलव २२ प्रतिशत वन क्षेत्र छ । सबैभन्दा बढी गोरखामा १ लाख ३२ हजार १ सय १० हेक्टर वन क्षेत्र छ भने सबभन्दा कम पर्वतमा २७ हजार ६ सय ५० हेक्टर मात्र वन क्षेत्र छ । मनाङमा २७ हजार ८ सय ९० हेक्टर मात्र वन क्षेत्र छ ।

१२ जिल्ला समेटिएको प्रदेश ५ मा ९ लाख ७४ हजार ३ सय ८० हेक्टर वन क्षेत्र छ । प्रतिशतका हिसाबले ५० दशमलव ४३ छ । सबभन्दा बढी दाङमा २ लाख ७ सय २० हेक्टर र कम २२ हजार हेक्टर नवलपरासीमा छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?