तीन नगरका दोस्रो नगरसभा सम्पन्न

काठमाडौँ — जिल्लाका तीनवटा नगरपालिकाले दोस्रो नगरसभा सम्पन्न गरेका छन् । तारकेश्वर, नागार्जुन र शंखरापुर नगरपालिकाले हिउँदे नगरसभा गरी विभिन्न निर्णय तथा कानुन निर्माण गरेको जनाएका छन् ।

नागार्जुनकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाण्डे गौतमले पुसको पहिलो सातामै दोस्रो नगरसभा सम्पन्न गरी विषयगत शाखा गठन गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘नगरपालिकामा समायोजन भएका कार्यालयहरूको शाखा गठन गरियो । पहिले निर्देशन नआइसकेकाले शाखाहरूका लागि बजेट छुट्याइएको थिएन, त्यो पनि छुट्याइयो ।’ कर तथा राजस्वको दायरासमेत घटबढ भएको उनले बताइन् ।


तारकेश्वर नगरपालिकाले पनि यो नगरसभाबाट समिति गठन र दुईवटा ऐन संशोधन गरेको जनाएको छ । नगर कार्यपालिका प्रवक्ता विदुर सापकोटाले कार्यान्वयनका क्रममा देखिएका अप्ठ्याराले गर्दा विनियोजन र आर्थिक ऐन संशोधन गरिएको जानकारी दिए । माघ १२ गते सार्वजनिकीकरण कार्यक्रममा बोल्दै सापकोटाले भने, ‘विषयगत कार्यालयबाट आएका कर्मचारी र जनप्रतिनिधि सम्मिलित १० समिति गठन गर्‍यौं ।’


शंखरापुर नगरपालिकामा दोस्रो नगरसभाबाट न्यायिक समिति गठन हुनुका साथै आवश्यक कानुन पारित भएपछि योजना सम्झौता भई विकास निर्माणका कार्य अघि बढिरहेको उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले बताइन् । ‘माघ ३ गते नै हिउँदे नगरसभा सम्पन्न गरिसक्यौं,’ श्रेष्ठले भनिन्, ‘केही विषयमा बजेट विभाजन गर्‍यौं । जसले फोहोरमैला व्यवस्थापनदेखि महिलालक्षित कार्यक्रममा पनि बजेट खर्च गर्न सहज भएको छ ।’ केही नगरले भने दोस्रो नगरसभाको विषयमा निर्णय लिएका छैनन् । बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईले नगरसभा कहिले गर्नेबारे निर्णय भइनसकेको बताइन् । चन्द्रागिरीमा पनि नगरसभा कहिले गर्ने टुंगो लाग्न सकेको छैन । ‘कहिले गर्ने ठेगान छैन,’ उपमेयर लिसा नकर्मीले भनिन् ।


कीर्तिपुरमा २९ गते गर्नेबारे छलफल भइरहेको उपमेयर सरस्वती खड्काले जानकारी दिएकी छन् । दक्षिणकालीमा फागुन सुरुआततिर गर्ने तयारी भइरहेको छ । कार्यपालिकाको बैठक शुक्रबार बस्ने र यस विषयमा निर्णय लिइने उपप्रमुख वसन्ती डंगोल तामाङले बताइन् । फागुन मध्यमै गर्ने गरी गोकर्णेश्वरले तयारी थालेको यद्यपि औपचारिक निर्णय नभएको नगरपालिकाले जनाएको छ । कानुन नभएकाले योजना सम्झौता नभएकाले यथाशीघ्र नगरसभा गरिने उपमेयर शान्ति नेपालले बताइन् । टोखा नगरपालिकामा भने दोस्रो नगरसभाबारे अन्योल छ । ‘हामीले पहिलो असारमा गर्‍यौं । विशेष नगरसभा भदौमा गरिसकेका छौं । त्यसैले दोस्रो गर्नैपर्छ कि नगर्ने भन्ने विषयमा छलफल हुन बाँकी नै छ,’ उपमेयर ज्ञानमाया डंगोलले भनिन् । कागेश्वरी मनोहरामा अहिले दोस्रो नगरसभाबारे कुनै छलफल नभएको नगरपालिकाले जनाएको छ । उपमेयर बिन्दु पुडासैनी सिंखडाले भनिन्, ‘कार्यपालिका बैठकबाटै आवश्यक कार्य भइरहेका छन् । नगर्दा पनि हुन्छ भन्ने बुझेकाले खासै आवश्यकता महसुस गरेका छैनौं ।’


स्थानीय सरकार सञ्चालन ऐनमा वर्षमा दुईपल्ट नगरसभा गर्नुपर्ने उल्लेख छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले पहिलो वर्षे नगरसभाबाट बजेट पास गर्ने र हिउँदेबाट आवश्यक विधेयक पास गरिने बताए । ‘जतिपल्ट सभा गर्‍यो उति नगरपालिकालाई नै सजिलो हुने हो,’ प्रवक्ता तामाङले भने, ‘एकातिर नगरपालिकालाई चाहिएको कानुन छैन भन्ने र अर्कोतिर कानुन पास गराउन आवश्यक पर्ने सभा पनि नगर्ने भन्नुभएन ।’ संघ र प्रतिनिधिसभा झैं कम्तिमा पनि दुईपल्ट सभा डाक्नुपर्ने तामाङले बताए ।


प्रकाशित : माघ २६, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?