कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपाली सेनाबारे जानकारी दिलाउन प्रदर्शनी

काठमाडौँ — महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले तीन दिने बृहत् प्रदर्शनी बिहीबार आरम्भ गरेको छ ।
सेना–नागरिक सम्बन्ध मजबुद बनाउने र सेनाबारे विगतदेखि वर्तमानसम्मको जानकारी दिने उद्देश्यसहित प्रदर्शनी सुरु गरेको सेनाले जनाएको छ । यस प्रकारको प्रदर्शनी सेनाले पहिलो पटक गरेको हो । 

नेपाली सेनाबारे जानकारी दिलाउन प्रदर्शनी

सेनाले प्रयोग गर्ने पुराना/आधुनिक हतियार, युनिफर्मको सुधार प्रक्रिया, सेनाको अभ्यास, काम, विकास परियोजनामा सेना, दुखमा सेना, पूराना इतिहास, बदलिँदै आएको पछिल्लो सेनाको अवस्थालगायतलाई अवस्था उजागर गर्ने गरी प्रदर्शनी सुरु गरिएको छ । ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेर सर्वसाधारणको लागि समेत खुला गरिएको हो । आर्मी अफिसर्स क्लबमा र प्रांगणमा गरिएको प्रदर्शनीमा सर्वसाधारणदेखि विद्यार्थीहरुको चर्को भीड लागेको थियो ।


‘ऐतिहासिक विषयले सधैं वर्तमानलाई घचघच्याउने हुनाले पनि सेनाले प्रदर्शनी गरेको हो,’ विद्यार्थीहरुलाई समेत बुझाउन ब्यस्त सैनिक जनसम्पर्क निर्देशनालयअन्तर्गत श्रव्य दृश्य महाशाखाका महासेनानी (कर्णेल) इश्वरकुमार श्रेष्ठ भने, ‘उपलब्ध भएसम्म सेनाको स्थापनादेखि अहिलेसम्मका सबै पक्ष झल्काउने खालका सामग्रीहरु प्रदर्शनीमा राखिएका छौं ।’


विभिन्न खण्डमा आयोजना गरिएको प्रदर्शनीमा सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरव गाथा समेटिएका तस्बिरहरु पनि थिए । तत्कालीन हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य सामग्रीदेखि नेपालमा नै बनेको बम डिस्पोजल उपकरण समेत प्रदर्शनीमा थियो ।


यस अलावा सेनाले प्रकाशन गरेको पुस्तकहरुको अध्ययन गर्ने व्यवस्था समेत मिलाइएको थियो । प्रदर्शनी हेरेर केही ऐतिहासिक जानकारीको लागि पुस्तकहरु समेत अध्ययनका लागि राखिएका सेनाका सहप्रवक्ता तथा महासेनानी विजय थापाले बताए ।


नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेना मार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार तथा खोजलगायत विषय ‘शब्दचित्र र तस्बिर’मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ ।


प्रदर्शनीमा पहिलो र दोस्रो विश्व युद्धकालीन फोटाहरु पनि थिए । राष्ट्रसंघीय शान्ति मिसनमा, नेचर कन्जरभेसन, विकास कार्यक्रम, हिमाल आरोहण, प्यारा जम्पलगायत विविध पक्ष समेटिएको थियो ।

प्रकाशित : माघ २६, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?