ठगी गर्ने समूहका चारजना पक्राउ

रासस

काठमाडौँ — बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारी रु २० लाख लिएर सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरु पक्राउ परेका हुन्। उक्त क्रममा पक्राउ परेका दाङ, घोराही घर भई काठमाडौँ, बूढानीलकण्ठ बस्ने नरेन्द्र महराको साथमा रहेको मोबाइलको फोटो ग्यालरीमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको फोटो देखिएपछि अनुसन्धान गर्दै जाँदा रेडपाण्डाको एक थान छाला बोकी हिँडेको अवस्थामा चितवन, कालिका नपा वडा नं १ घर भई काठमाडौँ, टेुकमा बस्ने भरत विलाश पराजुलीलाई कपनको शिव मन्दिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Yamaha

पक्राउ पर्ने अन्य व्यक्तिमा दार्चुला, भगवती–४ घर भई ललितपुर बुङमतीमा बस्दै आएका इन्द्रसिंह धामी र भूपेन्द्रसिंह धामी छन्। मुलुकी ऐन ठगीको महलबमोजिम ठगी गर्नेबाट बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ।

प्रकाशित : माघ २८, २०७४ १६:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिचानको आधारमा प्रदेशहरुको नामकरण : नेता तामाङ

कृष्ण थापा

नुवाकोट — माओवादी केन्द्रका नेता एवं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले पहिचानको आधारमा प्रदेशहरुको नामकरण हुनुपर्ने बताएका छन् ।

सोनाम ल्हासोरको अवसरमा नेपाल तामाङ घेदुङले कोलनीमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले पहिचानको आधारमा प्रदेशको नामकरण गर्न वाम गठबन्धनबाट निर्वाचित प्रदेश सदस्यहरुलाई आग्रह गरे । ‘विद्रोह नआउने गरी प्रदेशको नामकरण होस्’उनले भने, ‘प्रदेश नम्बर ३ तामाङ, नेवार र गैरतामाङको साझा प्रदेश हो ।’ नामकरण गर्ने जिम्मा संविधानले सम्बन्धित प्रदेशलाई नै दिएको उनले बताए ।
उनले देश अझै बहुभाषी मुलुक हुन नसकेको उल्लेख गर्दै प्रदेश नम्बर ३ मा कामकाजी भाषाको रुपमा तामाङ भाषा प्रयोगमा ल्याउनु पर्ने बताए । ‘भाषाबिना हामीले पहिचान खोज्यौं भने टाउकोबिनाको मान्छेजस्तो हुन्छ’, पूर्वमन्त्रीसमेत रहेका नेता तामाङले भने,‘नेपाली भाषाझैं कामकाजी भाषाको रुपमा पनि तामाङ भाषा ल्याउनु पर्छ ।’

त्यसैगरी कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले प्रदेश ३ को राजधानी नुवाकोटलाई बनाउनु पर्ने भन्दै दबाब दिन सबैलाई आग्रह गरे । ‘सबैको सहमति भए नुवाकोटलाई राजधानी बनाउन सकिन्छ’उनले भने ।

प्रकाशित : माघ २८, २०७४ १६:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT