कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नमुना बन्यो सरकारी अस्पतालको प्रयोगशाला 

जनदबाबपछि फेरिएको प्रयोगशालामा चौबीसै घन्टा सेवा 
जितेन्द्र साह

विराटनगर — अधिकांशले सरकारी अस्पतालमा दिसापिसाब र रगत जाँचलगायत साधारण काम मात्रै हुने गरेको गुनासो गर्छन् । विराटनगर महानगरपालिका स्थित कोसी अञ्चल अस्पताल पुग्दा भने त्यस्तो सोच गलत ठहरिन्छ ।

दक्ष जनशक्ति र विश्वकै उत्कृष्ट यन्त्र उपलब्ध यहाँको प्रयोगशालामा क्यान्सर रोगको परीक्षणदेखि अति जटिल प्रकृतिको थाइराइडको जाँचसमेत हुने गरेको छ । सामान्य एक्सरेदेखि मुटु र मस्तिष्कसम्मको परीक्षण गरिन्छ ।

अस्पतालमा झन्डै साढे ६ करोड रुपैयाँ बराबरका अत्याधुनिक यन्त्र ल्याइएका छन् । त्यसको परिचालनमा सक्षम जनशक्ति संलग्न छ । यहाँको प्रयोगशाला र एक्सरे विभागलाई क्षेत्रीयस्तरको मान्न सकिने उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रोशन पोखरेलले बताए ।


‘मधुमेह, थाइराइड, मुटु, मिर्गौला, कलेजो र क्यान्सरसम्बन्धी जाँचमै प्रयोग हुने आधुनिक प्रविधि यहाँ छ,’ उक्त प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले भने, ‘पूर्वाञ्चलको कुनै पनि निजी अस्पताल वा नर्सिङ होममा यहाँको जस्तो यन्त्र र कुशल जनशक्ति छैन ।’


यहाँ दैनिक औसत ७ जनाले मधुमेह रोग पत्ता लगाउन गरिने एक विशेष प्रकारको परीक्षण एचबीए१सी र सातामा ६० जनाले थाइराइड समस्या फेला पार्न गरिने एफटीएफटी गराउँछन् । उच्च प्रविधियुक्त सिलिया मेसिनबाट थाइराइड, महिलालाई सन्तान नहुने कारण र रगतबाट परीक्षण हुने क्यान्सरसम्बन्धी जाँच हुने गरेको यादवले बताए ।


निजी क्षेत्रका प्रयोगशालामा १ हजार ५ सय रुपैयाँसम्म पर्ने थाइराइड परीक्षण यहाँ ८ सय ५० रुपैयाँ, बाहिर ८ सय रुपैयाँ तिर्नुपर्ने मधुमेहको विशेष परीक्षण मात्र ६ सय रुपैयाँमा हुने गरेको छ । ८ सय ५० रुपैयाँमा क्यान्सर परीक्षण हुन्छ । अन्य नियमित जाँच निजीभन्दा यहाँ ६० प्रतिशतभन्दा कम शुल्कमा उपलब्ध छ । ‘विपन्नले अर्धशुल्क, न्यूनतम शुल्क र नि:शुल्कमा यी सेवा पाइरहेका छन्,’ मेसु डा. पोखरेलले भने ।


प्रयोगशालादेखि एक्सरेसम्मका हरेक परीक्षण निजी अस्पतालभन्दा यहाँ आधा कममा हुने गरेको मोरङ बेलबारीकी लक्ष्मी घिमिरेले बताइन् । ‘छुट भएको रकमले औषधि किन्न र आउजाउ तथा भाडालाई पुग्छ,’ उनले भनिन्।


विराटनगर–४, दूधफार्मकी निशा तिमिल्सेनाले भीडभाडका कारण जँचाउन समय लागे पनि आर्थिक भार कम पर्ने गरेको बताइन् । ‘तोकिएको समयमै रिपोर्ट दिन्छन्, यति भएपछि गुनासो गर्ने ठाउँ रहन्न,’ उनले भनिन् ।


अस्पतालको बहिरंग कक्षको माथिल्लो तल्लामा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म र बाँकी समयमा आकस्मिक कक्षमाथिको कोठामा प्रयोगशाला सेवा उपलब्ध छ । ‘लगातारको जनगुनासो र दबाबपछि अस्पतालले गरेको पहल एवं सरकारको सहयोगबाट दुई वर्षभित्र यो प्रयोगशालाको रूप फेरिएको हो,’ प्रयोगशाला प्रमुख यादवले भने, ‘चौबीस घण्टा उच्चस्तरीय सेवा दिइरहेका छौं ।’


प्रयोगशालाका अनुसार अहिले दैनिक औसत ३ सय ५० सेवाग्राही आउँछन् । जसबाट अस्पताललाई मासिक झन्डै ३० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । लथालिंग प्रयोगशाला र चुस्त सेवाको अभावमा तीन वर्षअघिसम्म यसको आधा पनि सेवाग्राही नआउने गरेको यादवले बताए । ‘त्यतिबेला प्रयोगशालाबाट शुल्कबापत मुस्किलले मासिक ८ लाख रुपैयाँ आय हुने गरेको थियो,’ उनले भने ।


प्रयोगशालामा अहिले एकजना विज्ञ, १६ प्राविधिक र ९ प्रशासनिक कर्मचारी कार्यरत छन् । ‘सेवाग्राहीको विश्वास जित्नलाई घडीको सुईको गतिमा काम गरिरहेका छौं,’ प्रयोगशालाका प्राविधिक शेखर मिश्रले भने, ‘तोकिएको समय र दिनमा रिपोर्ट दिन्छौं ।’


उक्त अस्पतालको प्रयोगशाला कक्षमा जडान गरिएको ९ आधुनिक मेसिनमध्ये २ वटामा नियमित जाँच, २ वटामा कलेजो र मिर्गौला जाँच, एउटामा एचआईभी/एड्स संक्रमितको नियमित अनुगमन परीक्षण र एउटामा मधुमेह तथा हेमोग्लोबिनसम्बन्धी विभिन्न खाले जाँच हुन्छ । त्यसैगरी थप दुईवटामा मिर्गौला, मुटु र एउटामा थाइराइडसम्बन्धी परीक्षण हुन्छ । ‘एचआईभी–एड्स संक्रमितमा औषधिको प्रभावसम्बन्धी जाँच यहीं गर्छौं,’ मिश्रले भने ।


अस्पतालले चार साना यन्त्र आफंैले किनेको हो । बाँकी पाँच महँगा एवं ठूला संयन्त्र सरकारले उपलब्ध गराएको छ । अमेरिका र युरोपबाट मगाइएका ती सबै सामग्रीको मूल्य डेढ करोड रुपैयाँ रहेको मेसु पोखरेलले बताए । प्रयोगशालामा दैनिक जाँचका लागि आउने सेवाग्राहीमा ६० प्रतिशत महिला हुने गरेको प्राविधिक निरीक्षक ललितकुमार चौधरीले बताए । ‘पूर्वाञ्चल र सीमावर्ती विहारका गाउँघरका बिरामी बढी आउँछन्,’ उनले भने ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?