कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘मधेसवादी नेताहरुले जनताको भावनासंग खेलवाड गरे’  

श्यामसुन्दर शशि

जनकपुर — संयुक्त मधेस संघर्ष समिति सम्बद्ध युवाहरुले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टीका नेताहरुले मधेसी जनताको भावनासंग खेलवाड गरेको आरोप लगाएका छन् । 

मधेस आन्दोलनमा सक्रिय रहेको उक्त समितिको शनिबार जनकपुरमा बसेकाे बैठकले चार सुत्रीय निर्णय गर्दै मधेसवादी दलका नेताहरुले आफ्नो कार्यशैलीमा परिवर्तन नगरे उनीहरुलाई प्रदेश २ मा प्रवेश निषेध गरिने चेतावनी समेत दिएको छ ।


सभामुख निर्वाचनमा वामगठबन्धनको उम्मेद्वारलाई सघाउनु, केपी ओली सरकारलाई विश्वासको मत दिने राजपाको निर्णय तथा वाम गठबन्धनको सरकारमा दुवै मधेसवादी दल सहभागी हुने विषयले मधेसीलाई आक्रोशित बनाएको उनीहरुकाे दाबी छ ।


चारसुत्रीय निर्णयमा मधेसवादीदलका नेतालाई सरकारमा सहभागी हुन पूर्व समयसिमा सहितको लिखित सम्झौता गर्ने र संविधान संशोधन नभएसम्म सरकारलाई बाहिरबाट सहयोग गर्न आग्रह गरिएको छ ।


राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णयप्रति उक्त बैठकले कडा आपत्ति जनाएको छ । ‘राष्ट्रपति चुनावमा मधेस बिरोधी पार्टी नेकपा एमालेको तर्फबाट उमेद्वार विद्यादेवी भण्डारीलाई राजपाले जनाएको समर्थनप्रति हाम्रो घोर आपत्ति छ ।’ निर्णयमा भनिएको छ । निर्णयको चौथो वुदाँमा तोकिएको अवधिभित्र संविधान संशोधन नभए मधेसवादी नेतालाई प्रदेश प्रवेशमा निषेध गरिने चेतावनी समेत दिएको छ ।


समितिका अध्यक्ष धर्वेन्द्र साहले मधेसवादी दलका नेताहरुले आन्दोलनलाई सत्ताको सिढी बनाएको आरोप समेत लगाएका छन् । ‘मधेसी युवालाई सहिद बनाउने, चुनाव जिते पछि, सत्ता र भत्ताको पछाडि दगुर्ने प्रवृतिको भण्डाफोर गर्नेछौं ।’

प्रकाशित : फाल्गुन २६, २०७४ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?