कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

भारतीयलाई नागरिकता दिलाएको आरोपमा वडासचिव सहित ५ पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — भारतीयलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा जलेश्वर नगरपालिका–१० का वडा सचिव रामलाल महतोसहित ५ जना पक्राउ परेका छन् । 

सोमबार महतोलाई प्रशासन कार्यालयको आदेशमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतीय नागरिक राकेशकुमार मण्डलको जन्मदर्ता प्रमाणपत्र बनाउन मुचुल्का लगायतका काम गरेको आरोपमा महतोलाई हिरासतमा लिएको हो । सोही जन्मदर्ता प्रमाणको आधारमा मण्डलले झुट्ठा विवरण पेस गरेर गत पुस ३ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता लिएका थिए । उनको नागरिकता नं १८–०१–७४–०६९७५ हो ।


भारत विहारको सीतामढी जिल्ला सुरसण्ड थाना हनुमाननगरका २० वर्षीय मण्डलले आफुलाई जलेश्वर नगरपालिका–१० का रामसिंहासन मण्डलको छोरा देखाएर नागरिकता लिएका थिए । मण्डल रामसिंहासनका सालीका छोरा हुन् ।


यसअघि नै मण्डलसहित उनकी ठूलीआमा (रामसिंहासनकी श्रीमती) वच्चीदेवीलाई पक्राउ गरि हिरासतमा राखिएको छ । बच्चीदेवीले नै उनलाई नागरिकता लिनका लागि योजना बनाएको आरोप छ । नागरिकता फाँटका भरत यादवका अनुसार आफुलाई मण्डलकी आमा हुँ भन्दै बच्चीदेवीले नागरिकतामा सनाखतसमेत गरेकी थिइन् ।


नागरिकता लिएको महिना दिनपछि राहदानीको सिफारिस लिन वडा कार्यालय आएका मण्डल भारतीय भएको पोल खुलेको थियो । कारवाहीको डरले ठूलीआमा वच्चीदेवीसहित मण्डल केही दिन भूमिगतसमेत भएका थिए ।


प्रशासनले नागरिकता लिनका लागि सिफारिस दिने वडाध्यक्ष विकाउ दाससहित मुचुल्कामा बस्ने ४ जनालाई निगरानी र खोजतलासमा राखेको जनाएको छ । वडा कार्यालयले गएको मंसिर २९ गते सिफारिस गरेको थियो ।


वडाध्यक्ष दासले बच्चीदेवी र उनका श्रीमान्ले छोरा हो भन्दै जन्मदर्तासहित आएपछि सिफारिस गरेको स्विकारेका छन् । राहदानीको सिफारिस लिन दोस्रोपटक वडा कार्यालय आउँदा मण्डलको रहस्य खुलेपछि वडाध्यक्ष दासले उनको सक्कल नागरिकता र जन्मदर्ता प्रमाणपत्रसहित उजुरी दिएकाले प्रशासनले दासप्रति नरम ब्यवहार देखाएको छ ।


यस्तै, झुठो विवरण पेश गरि नागरिकता लिन खोज्ने एक भारतीयसहित २ जनालाई महोत्तरी आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार सीतामढी जिल्ला कन्हमा गाँउका शेख अरमान र उनका जेठान समसी गाउपालिका–६ का शेख हैदर छन् ।


प्रशासन कार्यालय नागरिकता फाँट प्रमुख भरत यादवका अनुसार अरमानले ससुरा शेख मञ्जुरलाई बाबु बनाई नागरिकता लिन खोजेका थिए । सनाखतका बेला सोधपुछ गर्दा अरमानले शेख मंजुर बाबु नभई ससुरा भएको र आफू भारत विहारको परवाहा टोलको स्थायी वासिन्दा भएको स्विकारेपछि दुवैलाई हिरासतमा लिएको हो । ससुरा शेख मंजुर फरार छन् ।


प्रहरी उपरीक्षक कुबेर कडायतले नागरिकता प्रकरणमा मुछिएका ५ जनालाई न्यायीक हिरासतमा राखेर अनुसन्धान भईरहेको बताए ।

प्रकाशित : चैत्र २, २०७४ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?