कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्रिपर चालकलाई दमकल जिम्मा

आगलागी नियन्त्रणमा जनशक्ति अभाव

कञ्चनपुर — गर्मी र हावाहुरीको मौसमसँगै जिल्लामा आगलागीका घटना बढे पनि सरोकारवाला निकायले नियन्त्रणको पर्याप्त तयारी गरेका छैनन् । विभिन्न नगरपालिकासँग दमकल रहे पनि जनशक्ति र आवश्यक उपकरण अभावमा चलाउन सकिएको छैन ।

ट्रिपर चालकलाई दमकल जिम्मा

कतिपय नगरले अग्नि नियन्त्रक अभावमा अन्य सवारीसाधनका चालकलाई दमकल जिम्मा लगाइरहेका छन् । ‘गत वर्षै दमकल खरिद गरिएको हो,’ महाकाली नगरपालिका कर्मचारी सुर्जकला रोकायाले भनिन्, ‘ट्रिपर र ट्याक्टर चालकले नै दमकलमा पनि काम गर्छन् ।’ उनका अनुसार अग्निनियन्त्रक अझै भर्ना गरिएको छैन ।

महाकाली नगरमा गत आवमा आगलागीका ८/१० घटना भएका थिए । यस वर्ष पनि ५/६ घटना भइसकेका छन् । फागुनयता नै तीन ठाउँ आगो लागिसकेको छ । गत वर्षै नयाँ दमकल खरिद गरेको शुक्लाफाँटा नगरपालिकाले पनि जेनतेन काम चलाइरहेको छ । दमकल खरिद गरे पनि तालिमप्राप्त जनशक्ति अभावमा अन्य सवारीसाधनका चालकलाई खटाइने गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी बताउँछन् । ‘ट्रिपरकै चालकले दमकलको पनि काम गरिरहेका छन्,’ उनले भने, ‘यस वर्ष कार्यपालिकाले नयाँ जनशक्ति भर्ना गर्ने निर्णय गरेको छ, त्यसपछि उनीहरूलाई तालिम तथा अन्य उपकरण खरिद गरिनेछ ।’ उनका अनुसार शुक्लाफाँटा नगरपालिकाको झलारी बजार क्षेत्रसँगै ग्रामीण भेगमा पनि आगलागीका घटना भइरहन्छन् । गत वर्ष उक्त क्षेत्रमा २ ठूला आगलागी भएका थिए । जिल्लाको पुरानो नगरपालिका भीमदत्तसँग ३ दमकल छन् । छुट्टै वारुण यन्त्र शाखा पनि छ । तर, कर्मचारीले अझै प्राविधिक ज्ञान र सीप पाएका छैनन् । न त आगलागी नियन्त्रणको तालिम नै दिइएको छ ।

‘हामी नगरपालिकामा दमकल आएदेखि नै काम गरिरहेका छौं,’ भीमदत्तको वारुण यन्त्र शाखा इन्चार्जसमेत रहेका चालक भोजराज पनेरूले भने, ‘तर, अहिलेसम्म आफ्नै सीप र अनुभवले काम गरिरहेका छौं, न कहिल्यै तालिम पायौं न त नयाँ प्रविधि आउँदा त्यसबारे जानकारी ।’ उनले सिलिन्डर ग्यास र इन्धनका कारण हुने आगलागी नियन्त्रणमा प्रयोग हुने सिलिन्डर र त्यसमा कार्बनडाइअक्साइड भर्न सक्ने सीप आफूहरू कसैमा नभएको बताए ।

भीमदत्तको वारुण यन्त्र शाखामा २ चालकसहित ८ जनाको टोली छ । तर, उनीहरूमध्ये कसैले पनि कार्बनडाइअक्साइड भर्न सक्दैनन् । ‘त्यही भएर भरेका सिलिन्डर मगाउने गर्छाैं,’ पनेरूले भने, ‘यसबारे तालिम नपाउँदा समस्या भएको हो ।’ भीमदत्त नगरपालिकामा २०५१ देखि दमकल सेवा सुरु भएको हो ।

कतिपय नगरपालिकासँग अझै पनि एउटै दमकल छैन । भएकामा पनि समयमा नपुग्ने, आगलागी नियन्त्रणमा प्रभावकारी नहुने सर्वसाधारणको गुनासो छ । ५ वर्षअघि महेन्द्रनगर बजारको एक फर्निचर उद्योगमा लागेको आगो दोस्रो दिन मात्र नियन्त्रणमा आएको थियो । गत वर्ष महेन्द्रनगर तथा आसपास क्षेत्र आगलागीका ५५ घटना भए ।

सवारीसाधनको बढ्दो चाप, साँघुरा सडक र दक्ष जनशक्ति अभावले सेवा दिन समस्या भइरहेको पनेरू बताउँछन् । २ दिनअघि भीमदत्त नगरपालिकाको भुजेलाको एक घरमा भएको आगलागी नियन्त्रणमा जाँदा दमकल नै जाममा पर्ने अवस्था आएको उनले सुनाए ।

प्रकाशित : चैत्र २, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?