३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अवैध फिरफिरे बन्द

नुवाकोट — प्रशासनले मापदण्डविपरीत सञ्चालनमा रहेका बालुवा धुने उद्योग (फिरफिरे) बन्द गराएको छ । प्रजिअसहितको टोलीले बुधबार बेलकोटगढी नगरपालिका र बिहीबार विदुर नगरपालिका क्षेत्रमा अनुगमन गरी अवैध फिरफिरे सञ्चालनमा रोक लगाएको हो ।

फिरफिरेले मापदण्डबाहिर गएर काम गर्दा त्रिशूली नदी धमिलिएको गुनासो बढेपछि अनुगमन गरिएको हो । बुधबार बेलकोटगढीका ५, ७ र ८ वडा कोल्पुटारदेखि देवीघाटसम्म अनुगमन गरिएको थियो । त्यसक्रममा भेटिएका ४७ वटा बालुवा प्रशोधन उद्योगमध्ये ३१ वटा दर्ता पाइए । बाँकी १६ वटालाई तत्काल बन्द गर्न पत्र काटिएको छ ।

अधिकांश उद्योगले मापदण्डविपरीत कार्य गरेको अनुगमनमा भेटिएको छ । बालुवा प्रशोधन गर्दा धमिलो पानी छुट्टै खाल्डोमा थिग्य्राउनुपर्ने र सफा पानी मात्र नदीमा पठाउनुपर्ने प्रावधान कमैले पालना गरेका छन् ।

विदुर नगरभित्रका ८ वटा फिरफिरेमध्ये पाँचवटा बिनादर्ता सञ्चालित भेटिए । ‘ती उद्योगले धमिलो पानी प्रशोधित नगरी सिधै खोलामा फालेका छन् । ती सबैलाई बन्द गर्न पत्राचार गरेका छौं,’ प्रजिअ वीरेन्द्रकुमार यादवले भने, ‘उद्योगहरू कानुनसम्मत ढंगले चलेनन् । त्रिशूली स्वच्छ भएन ।’ अनुगमन क्रममा धमिलो पानी व्यवस्थापन भर्खर खाल्डो खनिएको भेटिएको थियो ।

बन्द गर्न पत्र काटिएका फिरफिरे फेरि सञ्चालन गरिएको पाइए सामग्री जफत गर्ने प्रहरीले जनाएको छ । ‘पहिला विधिभित्र जाऔं,’ जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले भने, ‘मापदण्ड पुर्‍याऔं, त्यसपछि सञ्चालन गर्नुस् ।’ घरेलु तथा साना उद्योग शाखाका प्रमुख विजय भट्टराई पनि उद्योगले मापदण्डअनुसार काम नगरेको बताउँछन् । ‘दर्ता उद्योगले थिग्य्राउने पोखरी बनाएर काम गर्नुपथ्र्यो, त्यो पाइएन,’ उनले भने, ‘स्थानीय निकायसँग समन्वय गरेर आउन पत्र दिएका छौं । मापदण्ड पूरा गरे काम गर्न पाउँछन् ।’

बेलकोटगढीका मेयर राजेन्द्ररमण खनालले नियमविपरीत सञ्चालित उद्योग बन्दै गरिने बताए । ‘उद्योगबाट निस्केको पानीले त्रिशूली नदी प्रदूषित बनाएको छ,’ उनले भने । भूकम्पपीडितका लागि स्थानीय सरकारले कानुन बनाएर नदीजन्य पदार्थ उपलब्ध गराउने तयारी गरिरहेको खनालले जानकारी दिए । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पनि प्राकृतिक स्रोत दोहन नगरी नियमसंगत ढंगले भूकम्पीडितका माग सम्बोधन गरिने बताए ।

प्रकाशित : चैत्र २, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?