पहिरो पन्छाउँदै पुनर्निर्माण

तातोपानी (सिन्धुपाल्चोक) — भोटेकोसी गाउँपालिका फुल्पिङकट्टी झिर्पु हिन्दीका वाङी तामाङ पहिरो पन्छाएर घर बनाउने चटारोमा छन् ।

पहिरो पन्छाउँदै पुनर्निर्माण

पहिलो किस्ता पाइसकेका उनले आर्थिक अभावमा घर बनाउन सकेका थिएनन् । छिमेकीबाट लिएको ऋणमा किस्ता थपेर उनले पुनर्निर्माणको थालनी गरेका हुन् ।

‘पहिरो पन्छाएर वाक्क भइसकें, माथिबाट भास्सिएको भूभागले दु:ख दिइरहन्छ,’ तामाङले भासिएको जमिन देखाएर भने, ‘छेउको भागको पहिरो सफा गरेर घर बनाउन सुरु गर्दैछु ।’ भोटेकोसी बाढी आएलगत्तै त्रासमा भागेका उनको परिवार हालै थातथलोमा फर्केका छन् ।

‘पहिलो किस्ताको काम बल्ल थालिएको छ, अब चाँडै घर बनाइन्छ,’ उनले भने । खासामा भारी बोकेर परिवार पालेका उनी नाका बन्द भएलगत्तै बेरोजगार भएपछि राजधानी पसेका थिए । राजधानीमा मजदुरी गरेर कमाएको पैसामा ऋण र किस्ता थपेर आवास निर्माणमा जुटेको
उनले सुनाए ।

मापदण्डअनुरूप झ्यालसम्म बनाइसकेकी भोटेकोसी गाउँपालिका लिस्तीकोट पाउँगुम्बाकी लीलाकुमारी शेर्पा दोस्रो किस्ताका लागि गाउँपालिका कार्यालय धाइरहेकी छन् । ‘पहिरोमुनि भएकाले पहाडबाट झरेको धूलोले तनाव दिइरहन्छ,’ उनले समस्या सुनाइन्, ‘माथिल्लो भाग सद्दे नभएकाले पन्छाएर घर बनाउने हतारोमा छु ।’ दोस्रो किस्ता लिने प्रक्रियाबारे बुझ्न आएकी उनी बाह्रबिसे बजारस्थित बैंक जाने तयारीमा छन् ।

‘घर बनाउन साह्रै कठिन भयो, पहिरोको ढिस्कोले मारमा पार्‍यो,’ उनले भनिन् । नोकसाङ डाँडाको तल्लो भाग खसेर आएको चट्टानले घर बनाउन अवरोध बनाइरहेको उनले प्रस्ट्याइन् ।

भोटेकोसीकै लिस्तीकोटको पाउँगुम्बा, मार्मिङको गोल्ची, तातोपानीदेखि फुल्पिङकट्टी झिर्पु हिन्दी बजार, चाकुसम्म पहिरोको समस्या रहेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेल बताउँछन् । ‘भूकम्पपछि तीव्र भइरहको पुनर्निर्माणमा पहिरोले गहिरो असर पारेको छ,’ उनी भन्छन्, ‘तटीय क्षेत्रका अधिकांश भूकम्पपीडित पहिरोको पन्छाएर पुनर्निर्माण गर्न बाध्य छन् ।’

अन्यत्र सुरक्षित जग्गा नभएकाले स्थानीयले पहिरोमुनि नै आवास बनाइरहेको उनको भनाइ छ । ‘पहिरोबाट जोगिएर आवास बनाउने कमै देखिएका छन्,’ उनले भने ।

सीमावर्ती क्षेत्र तातोपानीका दिलमान घतानीले जताततै पहिरोको जोखिम भएकाले सुरक्षित स्थान नहुनाले पहिरो डरमा घर बनाउन लागेका छन् । ‘असुरक्षित भनेर जाने कहाँ त, जहाँतही पहिरो छ,’ उनले भने, ‘सुख्खा पहिरो झरिरहन्छ, बस्ने घर त बनाउनुपर्‍यो नि ।’

जिल्लाभरका पहिरोको जोखिममा परेका स्थानमा अझै पुनर्निर्माणले गति लिन सकेको छैन । ‘बाढी र पहिरो बानीजस्तै बनिसकेको छ, पहिरो हटाउँदै घर बनाइरहँदा डरचाहिँ रहिरन्छ,’ घतानीले भने ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयका सूचना अधिकारी टंक गौतम सबैतिर पुनर्निर्माणले गति लिइरहेको सुनाउँछन् । ‘पहिरोले समस्या बनाएको पक्कै हो,’ उनले भने । सीमाक्षेत्रभर पहिरोको कारण समय लागे पनि पुनर्निर्माणले गति लिने उनले जनाए । भवन डिभिजनको तथ्यांकअनुसार ८३ हजार ६ सय ६३ लाभग्राहीमा ७८ हजार ५ सय ६५ सँग अनुदान सम्झौता भइसकेको छ । ‘५७ हजार ३३ ले घर बनाउन सुरु गरेका छन्, ११ हजार ६३ ले निर्माण सकिसकेका छन्,’ उनले भने ।

प्रकाशित : चैत्र ३, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?