कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पुराना दमकलले समस्या

सुनसरी — सुनसरीको बराहक्षेत्र नगर ११ मधुवनस्थित बाँतर बस्तीमा शनिबार राति विद्युत् सर्ट भएर आगलागी भयो । खबर आउनासाथ धरानका तीनमध्ये दुई दमकल त्यसतर्फ पठाइयो ।

पुराना दमकलले समस्या

८ हजार लिटर पानी बोकेर कुदेको दमकलले आगलागी भएको बस्ती पुगेर आगो ननिभ्दै एउटा दमकलको पानी सकियो । पानी सकिएपछि भर्नका लागि फर्कंदा बक्लौरीदेखि अगाडि बढ्न सकेन ।

इन्धन सकिएर दमकल नकुदेको नभई इन्जिन नै बिग्रेकाले फेरि अर्को खेप जान नसकेपछि अर्को सवारीसाधनले तानेर आइतबार बिहान ३ बजे ल्याए । यो समस्या नभएको भए क्षति कम हुन सक्ने थियो ।

बर्सेनि सुक्खायाममा मुलुकभर नै बढी आगलागी हुन्छन् । तर अग्नि नियन्त्रण गर्ने दमकल सुनसरीमा नयाँ र पुराना गरी आठवटा मात्र छन् । तीमध्ये ५ वटा मात्र चालु अवस्थामा छन् । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले भने, ‘जिल्लाकै सबैभन्दा ठूलो क्षेत्र ओगटेको नगरपालिका हो र जनसंख्या र घरधुरीका हिसाबले पनि ठूलो हो । तर एउटा पनि दमकल छैन । आगलागी पनि बराहक्षेत्रमा बढी हुने गरेको छ । दमकल किन्ने क्षमता पनि छैन । अरूतिरको दमकलको भरमा बस्नुपरेको छ ।’ धरान उपमहानगरपालिकासँग बाहिरबाट हेर्दा रंगरोगन गरिएका चिटिक्क परेका तीनवटा दमकल देखिन्छन् । तर तीनवटै दमकलको ‘आयु’ २० वर्ष बढीका छन् । तीमध्ये पनि चालु अवस्थामा एउटा मात्र छ । बाँकी दुइटा मर्मतसम्भार गर्दै मुस्किलले प्रयोगमा ल्याइने गरिएको छ । जापान सरकारले एक दशक चलाएर कन्डिसनमा २० वर्षअघि दिएको चार हजार लिटरको सानो दमकल पनि थोत्रो भएको छ ।

नगरप्रमुख तारा सुब्बाले भने, ‘बढ्दो सहरीकरणका कारण कुनै पनि कारणले हुन सक्ने आगलागी नियन्त्रण गर्न नयाँ दमकल अति आवश्यक छ । भएका तीनवटा थोत्रा भएका छन् । अर्को आर्थिक वर्षमा जसरी भए पनि आवश्यक दमकल थप्ने योजना छ ।’

सुनसरीमा १ लाख ६२ हजार ४ सय ७ घरघुरी छन् । चालु अवस्थामा भएका दमकल सुनसरीमा भएका घरधुरीमा भाग लगाउने हो भने ३२ हजार ४ सय ८१ घरधुरी बराबर एउटा दमकलले आगो निभाउनुपर्ने देखिएको छ ।

सुनसरीमा धरान र इटहरी दुई उपमहानगरपालिका, इनरुवा, बराहक्षेत्र, दुहबी र रामधुनी चार नगरपालिका र बर्जु, हरिनगरा, गढी, भोक्राहा, कोसी र देवानगन्ज गरी ६ गाउँपालिका छन् । तीमध्ये दुई उपनगरपालिका र इनरुवा र दुहबीसँग मात्र छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले भनिन्, ‘नयाँ दमकल थप्ने योजना त बनाएका छौं तर यसका कानुनी झमेला पनि रहेछन् । भएका दमकललाई मर्मतसम्भार गर्न सामान खोजी गर्दा भारतको कोलकाता पुग्नुपर्ने रहेछ, प्राविधिक ज्ञान भएको र लागत इस्टिमेट गर्ने जनशक्ति पनि नभएकाले अलमलिएका छौं ।’ दमकल भए पनि कुनैको ट्यांकी चुहिने, कुनैको जेनेरेटर मोटर कामै नलाग्ने, कुनैको इन्जिन नै काम नलाग्ने अवस्थामा छन् । धरानमा वारुणयन्त्र उपमहशाखामा १५ जनशक्ति छ । इटहरीमा १० जना छन् । इनरुवा र दुहबीमा पाँचपाँच जना छन् ।

दमकल अभावबीच जिल्लाभरिमा कतै आगलागी भएमा यी ३५ जनशक्ति वास्तवमा केही पनि होइन । धरानमा लामो समयदेखि वारुणयन्त्र विभागमा कार्यरत इन्चार्ज रामबहादुर कार्कीले भने, ‘यो अति आकस्मिक सेवाका लागि जति साधनस्रोत र जनशक्ति चाहिने हो, त्यति छैन । दमकल भएका कतिपय नगरपालिकामा नगरप्रहरी र सरसफाइ कर्मचारीलाई पनि त्यसैमा जोडिएको छ । नगरप्रहरी, सरसफाइ कर्मचारी र दमकलको जनशक्ति फरक हुन् ।’

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले सुनसरीको सदरमुकाम भनिएको ठाउँमै एउटा मात्र दमकलले भ्याउनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार इनरुवाजस्तो परालको बढी प्रयोग हुने संवेदनशील क्षेत्र आगोप्रति सचेत छैन । सरकारी कार्यालय केन्द्रित भएको, विद्युत् तार जहिले पनि सर्ट हुने क्षेत्रमा एउटा दमकल छ भन्नु पनि लाजमर्दो छ । उनले भने, ‘हुनुपर्ने कम्तीमा पाँच वटा तर नगरपालिकासँग बजेट छैन । वार्षिक बजेट नै दुई करोड पनि नाघ्दैन । साधनस्रोत पनि छैन । कसरी अर्को दमकल थप्ने भन्ने चिन्ता छ ।’

प्रकाशित : चैत्र ५, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?